गोरखा- गोरखामा जीपको ठक्करबाट आज एक युवतीको मृत्यु भएको छ। अजिरकोट गाउँपालिका–३ भच्चेक सडखण्डमा ग१ज ४६८६ नंको जीपको ठक्करबाट मोटरसाइकलमा सवार अजिरकोट गाउँपालिका–२ की २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार भच्चेकबाट चित्रेपोखरीतर्फ गइरहेको प्र३–०३ पा ४८१५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको जीपले ठक्कर दिएको हो। मोटरसाइकलको पछाडी सवार मेलिना गम्भीर घाइते भएकी थिइन्। उनको मोडर्न अस्पताल भच्चेकमा उपचारका क्रममा मृत्यु भएको लामिछानेले बताए।
दुर्घटनामा मोटरसाइकल चालक मेलिनाका दाजु ३५ वर्षीय मनराज गुरुङ घाइते भएका छन्। जीपका चालक सिरानचोक गाउँपालिका–५, छोप्राकका २४ वर्षीय रवि नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।