धनगढी- कैलालीमा एउटा युवकले छोडेर गएकी श्रीमती पाउनका लागि छोराको अपहरण गरेका छन्।
आफूसँग दुई महिना बसेर पुरानो पोईली घरमा फर्किएकी श्रीमतीलाई पाउनका लागि युवकले पुरानो घरमा रहेको छोरा अपहरण गरेका हुन्। प्रहरीका अनुसार गोदावरी नगरपालिका, लालपुर बस्ने ३० बर्षीय वृजु चौधरीले कैलारी गाउँपालिका-६ बेलौनी गाउँ बस्ने पाँच बर्षीय बालक छेमाङ चौधरीको अपहरण गरेका थिए।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेका अनुसार सोमबार बिहान ९ बजे अपरम्पार आधारभुत विद्यालयमा एक कक्षामा अध्ययनरत बालकलाई स्कूलमै गएर अपरहण गरिएको हो।
छेमाङकी आमा बिना चौधरी बृजेशकी पूर्वपत्नी हुन्। उनी दुई महिना बृजेशसँग बसेर पुरानै पोइली घरमा फर्किएकी थिईन्। विवाहित बृजेशले उनलाई मन पराउने भएकाले फोन गरेर आफ्नो घरमा आउन भन्ने गरेको बुझिएको छ।
‘बिनालाई घर फर्काउन कुनै सीप नचलेपछि उनले छोरा अपहरणको प्रपञ्च रहेको जस्तो देखिन्छ’ प्रहरी उपरीक्षक बिनोद घिमिरेले भने,‘स्कुल बाहिर बोलाएर स्कुल पोषाक र झोलासहित अपहरण गरिएको छ।’
बिनालाई फोन गर्दै भोली बिहान काठमाडौं बसपार्कमा भेट्न आउन, नभए छेमाङलाई मार्छु भन्ने धम्की दिएपछि उनी काठमाण्डौंतर्फ गएको आशंका गर्दै प्रहरीले राजमार्गका सबै चेकपोष्टहरुमा खबर गरेको थियो। स्कुलबाट कालो रंगको मोटरसाईकलमा लगेका बृजेश काठमाण्डौं भने बसमा जाँदै गरेका थिए।
प्रहरीले उनले बोकेको मोबाईलको लोकेशनका आधारमा पिछा गरेको थियो। उनी बालकसहित झण्डै नौ घण्टापछि दाङको भालुवाङबाट पक्राउ परेका हुन्। उनलाई लिन प्रहरीको टोली कैलालीबाट त्यसतर्फ पठाईएको घिमिरेले जानकारी दिए।
विद्यालयले छेमाङ अपहरणमा परेको कुरा लिखत रुपमा हसुलीया इलाका प्रहरी कार्यालयलाई जानकारी दिएपछि घट्ना बाहिर आएको हो। बिना बालकृष्ण चौधरीको श्रीमती हुन्। छेमाङ उनीहरुबाट जन्मेको दोस्रो सन्तान हो। उनीहरुको जेठो अर्को छोरा पनि रहेको बुझिएको छ। बालकृष्णलाई छोडेर बिना बृजेशसँग गएको र उनको पनि घरमा श्रीमती भएकाले दूई महिना बसेर फर्किएकी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४