शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले

गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पुर्याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो। उनीहरु व्यवसायबाट विस्थापित जस्तै भएका थिए।
 |  सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बुमा सञ्चालित ट्राउट फार्मबाट वार्षिक ६० टनभन्दा बढी माछा उत्पादन हुने गरेको थियो। सोचे अनुसारको आम्दानी हुने भएकाले पछिल्लो समय युवाले सो व्यवसायमा  लगानी बढाउँदै गएका थिए।

उनीहरुले एउटा ‘ट्राउट फार्म’का लागि मात्रै कम्तीमा चार करोड लगानी गरेका थिए। मेलम्ची करिडोर माछा पालन व्यवसायका लागि राम्रो मानिँदै थियो। 

गत वर्षको अकल्पनीय बाढीले यहाँका सबै माछा फार्ममा क्षति पुर्याएपछि व्यवसायीको अर्बौं लगानी डुबेको थियो। उनीहरु व्यवसायबाट विस्थापित जस्तै भएका थिए। सरकारले बेवास्ता गरेपनि युवाहरु ऋण लिएरै भए पनि पुनः व्यवसायमा फर्किन थालेका छन्।  

मेलम्ची बाढीका कारण पूर्णरूपमा विस्थापित भएका हेलम्बुका ट्राउट व्यवसायी जीविकोपार्जनकै लागि अहिले यही पेसामा फर्किन थालेका छन्। भौतिक संरचनासहित ट्राउट माछाको लागि प्रख्यात मेलम्ची करिडोरमा आठ फार्मका रु दुई अर्बभन्दा बढीको लगानी डुबेपछि व्यवसायी अहिले पनि ऋणमा छन् तर जीविकोपार्जनको लागि आफ्नो पुरानो सीप र ज्ञानको प्रयोग गर्दै ऋण गरेरै व्यवसायमा फर्किन थालेको व्यवसायी कुलबहादुर खड्काले जानकारी दिए। 

अहिले हेलम्बुको तिम्बुसहितका चार  स्थानमा ट्राउट माछा फार्म बनिरहेका छन्। अनुकूलताअनुसार जग्गा व्यवस्थापनसहित भौतिक संरचना निर्माण  चलिरहेको छ। केही फार्ममा भर्खर भुरा माछा हालिएको छ।

ऋण गरेर सञ्चालन गरेको व्यवसाय क्षण भरमै बगर बन्दा पुनः ठूलो हिम्मत जुटाएर जीविकोपार्जनकै लागि व्यवसायमा फर्किएकाले आफूहरुलाई सरकारले उचित सहयोग गर्नुपर्ने हेलम्बुका व्यवसायी युवराज खड्काले माग गरे।    -रासस

प्रकाशित: Jul 18, 2022| 07:30 सोमबार, साउन २, २०७९
प्रतिक्रिया दिनुहोस्