शुक्रबार, असार ५, २०८३

धान उत्पादन कम भएपछि चामल खरिद गर्दै खाद्य संस्थान

सुदूरपश्चिमका पहाडी जिल्लाका साथै खाद्य समस्या हुने हुम्ला, मुगु, सुर्खेतलगायत अन्तर प्रदेशका जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सुदूरपश्चिमले यहाँ ३२ हजार क्विन्टल मोटा चामल र पाँच हजार क्विन्टल जिरा चामल खरिद गरिरहेको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

महेन्द्रनगर- गत वर्ष कात्तिकमा आएको बेमौसमी बाढीका कारण सुदूरपश्चिम प्रदेशमा धान खेतीमा क्षति पुगेपछि खाद्य संस्थानले यस वर्ष चामल खरिद गरेर ढुवानी गर्नुपरेको छ। सुदूरपश्चिमका पहाडी जिल्लाका साथै खाद्य समस्या हुने हुम्ला, मुगु, सुर्खेतलगायत अन्तर प्रदेशका जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सुदूरपश्चिमले यहाँ ३२ हजार क्विन्टल मोटा चामल र पाँच हजार क्विन्टल जिरा चामल खरिद गरिरहेको छ।

National life

विगतमा धान खरिद गर्ने र चामल कुटाइ गरेर यहाँका पहाडी जिल्लामा ठेक्का प्रक्रियामार्फत चामल ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले धान उत्पादनमा ह्रास र गणस्तरीय नभएपछि पहिलो पटक चामल खरिद गरिरहेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट सुदूरपश्चिम प्रदेशका प्रमुख एञ्जिला बस्नेतले चामल खरिद भइरहेको जानकारी दिइन्। '२० हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल जिरा चामल आइसकेको छ,' उनले भनिन्, 'बाँकी १२ हजार क्विन्टल चालम आएपछि ठेकेदारमार्फत नै पहाडी जिल्लामा ढुवानी हुन्छ।'

अहिले खाद्यान्न ढुवानीका लागि ठेक्का प्रक्रिया चलिरहेको उनको भनाइ छ। सुदूरपश्चिममा बाजुराका साथै बझाङ र दार्चुलाको हिमाली भेगमा खाद्य समस्या बढी हुने गरेको छ। गत वर्षको बाढीमा सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानखेतीमा क्षति पुगेको थियो। अन्न भण्डारका रूपमा रहेको कैलाली र कञ्चनपुरमा लगाएको धानमध्ये ३० प्रतिशत पूर्णरूपमा नोक्सान भएको थियो। 

कञ्चनपुरमा एक लाख ८९ हजार मेट्रिकटन र कैलालीमा तीन लाख ४० हजार मेट्रिकटन उत्पादन हुँदै आएको थियो। बाढीले क्षति पुर्‍याएपछि खाद्य संस्थानले धानको सट्टा चामल खरिद गर्नुपरेको हो। त्यसैगरी गत आव २०७८/०७९ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले सुदूरपश्चिमका पहाडी जिल्लामा २६ हजार ६३१ क्विन्टल मुगु, हुम्ला, सुर्खेत र काठमाडौँ गरी अन्तर प्रदेशमा सात हजार क्विन्टल चामल ढुवानी गरेको जनाएको छ।

Shivam cement

'प्रदेशमा १३ हजार ८८२ क्विन्टल मोटा र चार हजार ६२२ क्विन्टल जिरा चामल मौज्दात छ,' बस्‍नेतले भने, 'जिल्लामा पनि थोरै थोरै गरेर मौज्दात नै छ।' गत वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यहाँको विकट पहाडी जिल्ला बाजुरामा सबैभन्दा बढी १० हजार क्विन्टल चामल पठाएको थियो। त्यसैगरी अछाममा तीन हजार ६५० क्विन्टल, बझाङमा तीन हजार ७११, बैतडीमा एक हजार ८२६, डडेल्धुरामा ७५४, दार्चुलामा छ हजार ६९४ क्विन्टल चामल पठाएको जनाएको छ।

हुम्लामा ६७० क्विन्टल, मुगुमा दुई हजार, सुर्खेत चार हजार र काठमाडौँ एक हजार क्विन्टल चामल पठाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले जनाएको छ। खाद्य संस्थान कञ्चनपुरले यस वर्ष १५ हजार क्विन्टल धान खरिदका लागि माग गरेको जनाएको छ।

प्रकाशित: Jul 17, 2022| 22:50 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्