शुक्रबार, असार ५, २०८३

आवको अन्त्यमा यस्तो देखियो सरकारी वासलात

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले शनिबार (आर्थिक वर्षको अन्तिम दिन) राति १० बजेसम्म १० खर्ब ६० अर्ब राजस्व संकलन गरेको छ।
 |  आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९

काठमाडौं- आर्थिक वर्ष ०७८/०७९ का लागि सरकारले ११ खर्ब ८० अर्ब आयको लक्ष्य राखेकोमा १० खर्ब ६० अर्ब राजस्व संकलन गरेको छ। त्यसैगरी १६ खर्ब ३२ अर्बको बजेटमा १३ खर्ब १ अर्बमात्रै खर्च गर्न सकेको छ।

National life

यसको अर्थ विगतका वर्षहरूजस्तै ०७८/०७९ मा पनि सरकार बजेटका लक्ष्य भेट्टाउन असफल देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले शनिबार (आर्थिक वर्षको अन्तिम दिन) राति १० बजेसम्म १० खर्ब ६० अर्ब राजस्व संकलन गरेको छ। यो लक्ष्यको ८९.८३ प्रतिशत हो। यो वर्ष सरकारले ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। 

अर्थ मन्त्रालयका अनुसार अन्तिम दिन शनिबारमात्रै १२ हजारभन्दा बढी भौचर काटिएको थियो । सरकारले संकलन गरेको राजस्वअन्तर्गत कर ९ खर्ब ८३ अर्ब र गैरकर ७७ अर्ब छ।

उठेको कुल राजस्वमध्ये १ खर्ब २८ अर्ब भने प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।

आर्थिक क्रियाकलाप न्यून हुँदा आयात कमजोर भएका कारण त्यसको असर राजस्वमा देखिएको अर्थका अधिकारीहरु बताउँछन्। कोभिड–१९ महामारीपछि आर्थिक क्रियाकलाप सामान्य हुँदै गर्दा रुस र युक्रेनबीच युद्ध सुरु भएपछि त्यसको असर नेपालमा पनि परेको हो। विश्वभर नै बढ्दै गइरहेको महँगीका कारण नेपालले आयातमा ठूलो रकम खर्च गर्नुपर्‍यो, जसले गर्दा विदेशी मुद्राको सञ्चिति र तरलतामा चाप बढ्यो। यसलाई सन्तुलनमा राख्न सरकारले आयातमा कडाइ गर्ने नीति लियो । त्यसको असर राजस्व संकलनमा देखिएको हो।

Shivam cement

बजेट खर्च गर्ने मामलामा पनि सरकार कमजोर नै देखिएको छ। आर्थिक वर्ष ०७८/०७९ मा सरकारले ५० प्रतिशतभन्दा केही बढीमात्रै विकास खर्च गर्न सकेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा पनि कम हो। गत आर्थिक वर्षमा सरकारले ६४.६९ प्रतिशत पुँजीगत खर्च गरेको थियो। तर, यो आर्थिक वर्षमा ५७.१८ प्रतिशत मात्रै खर्च भएको छ। विकासे मन्त्रालयहरूले खर्च गर्न नसकेका कारण अर्थ मन्त्रालयले जथाभावी रकमान्तर गरेको थियो।

आम्दानीको तुलनामा भुक्तानी बढ्दै गएपछि गत शुक्रबार सञ्चित कोष पाँच अर्बले घाटामा गएको थियो। लक्ष्यअनुसार राजस्वसमेत नउठेको समयमा अर्थ मन्त्रालयका कर्मचारीहरूलाई घाटा पूर्ति गर्न ठूलो सकस परेको थियो। असार मसान्त बिदाको दिन पनि राति १२ बजेसम्म राजस्व दाखिला गर्न बैंकहरू खुला राखिएको थियो। तैपनि राजस्व सोचेअनुरूप संकलन हुन सकेन। शनिबार एकै दिन ठूला करदाता कार्यालयबाट करिब १ अर्ब ७५ करोड राजस्व उठेको बताइएको छ। ठूला करदाता कार्यालयबाट वर्षभरिमा १ खर्ब ८३ अर्ब राजस्व संकलन भएको छ। 

सेयर बजारमा ठूलो उतारचढाव

आर्थिक वर्ष २०७८/०७९ को अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ अंकमा बन्द भयो। अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिन २८८३.३८ विन्दुमा अन्तिम कारोबार भएको नेप्से आव २०७८/०७९ मा ३०.३१ प्रतिशतले घटेको छ।

२०७८ भदौमा ऐतिहासिक उच्च बिन्दुमा पुगेको सेयर बजार परिसूचक बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य तरलताको दबाब परेसँगै घट्न थालेको हो। लगानीकर्ताहरु भने मौद्रिक नीतिले ४/१२ करोडको नीति लिनु, सीसीडी रेसियोलाई सीडी रेसियोमा परिवर्तन गर्नु तथा रिस्क वेटेज एभरेज पनि १०० बाट १५० बनाउनुका कारण सेयर बजार घटेको दाबी गर्छन्।

२०७८ भदौ २ गते ३१९८.६० विन्दुमा पुगेर उच्चतम ऐतिहासिक कीर्तिमान राखेको नेप्से परिसूचक २०७९ असार ९ गते १८४८.२८ मा झरेको थियो।

एक वर्षमा थप १ खर्ब हाराहारीको सेयर सूचीकरणका बावजुद पुँजीकरण ४०.११ खर्ब रूपैयाँबाट २८.४७ प्रतिशतले घटेर २८.६९ खर्बमा झरेको छ। नेप्सेका अनुसार आर्थिक वर्ष २०७८/०७९ भरिमा कुल ११ खर्ब ७९ अर्ब २६ करोड ८८ लाख ५९ हजार ९९ रुपैयाँको सेयर कारोबार भएको थियो।


प्रकाशित: Jul 17, 2022| 08:55 आइतबार, साउन १, २०७९
प्रतिक्रिया दिनुहोस्