मंगलबार, वैशाख २५, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • ओली, प्रचण्ड र नेपालका कुरादेखि देउवाको नाकमा तरबार, घण्टी र डन्डीसम्म

ओली, प्रचण्ड र नेपालका कुरादेखि देउवाको नाकमा तरबार, घण्टी र डन्डीसम्म

देउवाले एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एस अध्यक्ष माधवकुमार नेपालको चरित्रचित्रण गर्दै गठबन्धन गरेरै चुनावमा जानुपर्ने जोड दिए। उनले आफू इतर पक्षका नेताहरूलाई पनि फकाउने कोसिस गरे।
 |  शनिबार, असार ३२, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शनिबार, असार ३२, २०७९

काठमाडौं- सोमबारदेखि ललितपुरको सानेपामा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अझै सकिएको छैन। शनिबारको बैठकमा अधिकांश पदाधिकारी र केही केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।

triton college

दिउँसो १ बजे सुरु भएको बैठकमा साँझमा मात्र सभापति देउवाको बोल्ने पालो आएको थियो। त्यसअघि उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय 'डिना',  भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महत, बालकृष्ण खाँण, दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, सीता गुरुङ र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आ–आफ्नो धारणा राखेका थिए।

बैठक साउन २ गते पुनः बस्ने भएको छ। शनिबार नै बैठक सक्ने तयारी गरिएको भएपनि निर्णय गर्न बाँकी रहेपछि साउन २ का  लागि बैठक सारिएको हो। 

केन्द्रीय समिति बैठकमा आज बोल्ने अधिकांश पदाधिकारीले सभापति देउवा र सरकारका कामको आलोचना गरेका थिए। सभापति निकटका नेताहरूको पनि आलोचना भएको बैठकमा देउवाले र देउवासँग गुनासो गर्नेको कमी थिए। 

देउवाले एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एस अध्यक्ष माधवकुमार नेपालको चरित्रचित्रण गर्दै गठबन्धन गरेरै चुनावमा जानुपर्ने जोड दिए। उनले आफू इतर पक्षका नेताहरूलाई पनि फकाउने कोसिस गरे। पदाधिकारीहरुले भने देउवाको आलोचना गर्नमा समय खर्च गरेका थिए। 

corrent noodles
Metro Mart

महामन्त्रीले फोन नउठाएपछि देउवा हैरान

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्रीले फोन नउठाएको भन्दै हैरानी व्यक्त गरेका छन्। पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोलिरहेका महामन्त्री गगन थापालाई रोक्दै उनले यस्तो बताएका हुन्। 

गगन थापाले सरकारले केही राम्रा काम गरेपनि थुप्रै नराम्रा काममा पनि हात हालेको भन्दै सरकार र प्रधानमन्त्री देउवाको आलोचना गर्न थालेपछि देउवाले उनलाई रोक्दै फोन उठाउन आग्रह गरेका हुन्। 

'महामन्त्रीज्यू कहिलेकाहीँ फोन उठाउने गर्नुस् न है,' गगनले बोलिरहँदा सभापति शेरबहादुर देउवाले भनेका थिए। 


बैठकमा महामन्त्री थापालाई रोक्दै फोनकुरा निकालेका सभापति देउवाले पछि आफ्नो पालोमा पनि त्यही कुरा दोहोर्‍याए। पार्टीका भातृसंस्थामा नेतृत्व चयन गर्ने विषयमा आफूले छलफलका लागि महामन्त्री खोज्दा फोन नै नउठाएको पुन: गुनासो गरेका थिए। तर आफूलाई बैठकमा खेदिएको उनको गुनासो थियो।

'तरूण दल र नेविसंघ गठन गर्दा सोधेको हुँ। फोन चाहिँ उठाउनुस्। फोन उठ्दैन। फोन गरेर खोज्दा एउटा महामन्त्री कहाँ छु भन्छ, अर्को कहाँ? महामन्त्री खोजे भेटिँदैन। यहाँ रूघ्ने म मात्र भएँ। मलाई अहिले नदेखेद्नुस्।'

'प्रचण्ड-नेपाल छाड्न हुँदैन, ओलीलाई मैलेजति कसैले चिनेको छैन'

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन कामय राखेर चुनावमा जानुपर्ने बताए। 'प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो छोड्ने बेला भएको छैन,' बैठकमा सम्बोधन गर्दै उनले भने, 'माधव नेपाल पार्टी छोडेर आएका हुन्, उनलाई छोड्ने कुरा छैन।'

एमाले अध्यक्ष ओलीसँग आफू सँगै जेलमा बसेकाले आफूले जति नजिकबाट उनलाई चिन्न कोही नभएको समेत उनले बताएका थिए। 'ओली र मसँगै जेल बसेको हो। ओलीलाई मैले जिति कसैले चिनेको छैन,' गठबन्धनको आवश्यकता औँल्याउँदै उनले ओलीको चरित्रचित्रण गरे। 

कांग्रेस एक्लै चुनावमा गए पनि जित्न गाह्रो भएको उनको भनाइ थियो। 'हामी एक्लै जित्दैनौँ, त्यसैले गठबन्धन गरौँ,' आफू पार्टीमा जस्तोसुकै छलफल गर्न पनि तयार भएको समेत बताउँदै भने, 'मैले कसैलाई नभेट्ने भनेको छैन, शेखर आउनुस् म भेट्छु, छलफल गर्छु।'

सभापति-उपसभापति झिँगे ठट्यौली

पार्टी बैठकमा उपसभापति गुरुङले सभापतिको नाकको झिँगा धपाउन केही नेताहरू तरबार लिएर बसेको भन्दै सपापति निकट नेताहरूप्रति व्यंग्यवाण प्रहार गरेका थिए। तर देउवाले आफ्ना निकटकाहरुको बचाउ गर्दै आफ्नो नाकमा झिँगा नै नबसेको बताएपछि उपसभापति गुरुङले सभापति निदाएको बेला झिँगा आउन सक्ने भन्दै तरबार लिएर बसेको भन्दै पुन: व्यंग्य कसेका थिए। निदाएको बेला तरबार लिएर बस्नेबारे सभापतिलाई जानकारी नहुने भन्दै त्यसबाट बच्न गुरुङको आग्रह थियो। 

उनले गगनको आलोचना भएको विषयमा पनि टिप्पणी गरेका थिए। बैठकमा आउँदा वादीप्रतिवादीजस्तो भएर प्रस्तुत भएको भन्दै गुरुङले यस्तो प्रवृत्तिले पार्टी नबन्ने बताएका थिए। 

dhanraj-gurung

'वादी–प्रतिवादीझैं भएर आउनु भएको छ। यसले पार्टी बन्छ? सभापतिको हात बलियो बनाउने भनेर तेलको कचौरा लिएर सभापतिको पाखुरामा लाउन सकिन्न। बलियो बनाउने भनेको वैचारिक रूपमा बनाउने हो। हामीले त्यही गरेको हो,' उनले भने, 'वैचारिक रूपमा बलियो बनाउन हिँडेका गगनलाई बहिस्कार गर्छु भन्ने? गगनले लिड नगरेको भए एमसीसी पास गर्ने हिम्मत थियो? अहिले साथीहरू सभापतिको नाकमा झिँगा बसेको छ भनेर तरबार बोकेर हिँडिरहेका छन्। सभापतिजी तरबारले हान्दा झिँगा मर्छ कि को मर्छ?'

यसपति देउवाले ठट्यौली गरे- 'मेरो नाकमा झिँगा बासेको छैन'। धनराजले थपे- 'सभापतिजी निदाएको बेला थाहा हुँदैन।'

७७ सिट जित्ने गृहमन्त्रीको दाबी

गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँडले कांग्रेस एक्लै चुनावमा जाने हो भने पनि प्रतिनिधिसभा प्रत्यक्षमा ७७ सिट ल्याउने दाबी गरेका छन्। पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा निर्वाचन आयोगको तथ्यांकलाई हवाला दिँदै उनले यस्तो दाबी गरेका हुन्। 


यद्यपि यो आकलन दलहरू एक्लाएक्लै लड्दा मात्र वास्तविक बन्ने उनको भनाइ छ। यदि एक्लाएक्लै लड्ने हो भने एमालेले ६२ सिट ल्याउने उनको भनाइ छ। 

यस्तै, माओवादी ८ र नेकपा एस १ एक ठाउँमा अघि हुने आकलन उनको छ। सबै दल एक हुँदा र कांग्रेस एक्लै लड्दा २१ ठाउँमा जित्ने उनको भनाइ छ।

गगन गर्जनको छर्रा सभापतिदेखि कार्यकर्तासम्म

गगनले स्थानीय निर्वाचनमा ३ सयभन्दा बढी सिट जित्दा कांग्रेसमा दम्भ प्रकट भएको भन्दै कुरा सुरु गरेका थिए। ठूला सहरमा कांग्रेसलाई धक्का लागेको दृष्टान्त दिँदै उनले दम्भ नपाल्न आग्रह गरेका थिए। 

‘अहिले ३ सयभन्दा धेरै जित्यौं भनेर दम्भ प्रकट भएको छ। त्यो नराखेको राम्रो। ठूला सहरमा धक्का लागेको छ। लघुताभाषका साथ हामी एक्लै लड्न सकिन्छरु बाँच्न सकिन्छ भन्ने लघुताभाष कतिपय साथीहरूले कुरा राख्नु भएको छ,' एक केन्द्रीय सदस्यले गगनलाई उद्धृत गर्दै भने, 'पार्टी सभापतिलाई खुसी बनाउन भनिएका कुराले पार्टीलाई हित हुँदैन। एक वर्ष सरकार चलाइसक्यौं। अब फेरि पनि सरकार चलाउँदा के डेलिभर गर्छौं भन्ने प्रस्ट नभई मत आउँदैन।’

ती केन्द्रीय सदस्यका अनुसार गगनले कांग्रेसमाथि उठेका प्रश्नलाई नजरअन्दाज गर्न नमिल्ने बताएका थिए। ‘हिजो केपी ओली प्रधानमन्त्री हुँदा सरकार कसरी चलाउँछौं हेर्नु भनेका थियौं। आजज सकार कसरी चलेको छ देखिएको छ। डिफेन्स गर्ने अवस्था छैन। हामीमाथिका  प्रश्नले हामीलाई लखेट्छ। सरकारले केही राम्रा काम गरेको छ। त्यसको क्रेडिट सरकारलाई दिनुपर्छ,’ गगनको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने। 

पार्टीका गतिविधि समाचारबाट थाहा पाउनु परेपछि त्यसको प्रतिक्रिया समचारबाटै हुने टिप्पणी गर्दै महामन्त्री थापाले सोधे– महामन्त्रीको हैसियतले कहाँबाट थाहा पाउनुपर्ने हो? यसरी नै सरकार र पार्टी चलाउने हो? यसमा सभापतिको ध्यान जाओस्। के हामीले निर्णय बोकेर मात्र हिँड्ने हो? सभापति, उपसभापतिले गरेको निर्णय बोकेर हिँड्ने होरु ताली पिट्ने मात्रै काम हो हाम्रो?’ 


अर्थ मन्त्रालय नलिनु कांग्रेसको गल्ती भएको पनि गगनले बैठकमा बताएका थिए। ‘विकृति छ भनेका थियौं। सांसदहरूलाई सरकार छ भन्ने अनुभूति भएन। विकृतिको प्रतीरक्षा गर्न सक्दैनौं हामी,' उनले भने, 'ओलीकै कार्यशैली पछ्याएपछि कसरी प्रतीरक्षा गर्ने हो? फेरि पनि भित्तामा पुर्‍याउने, घेराबन्दी गर्ने हो भने तपाईंहरूले बुझ्नु होला- हामी निर्वाचित महामन्त्री हो। यत्तिकै यहाँ आइपुगेको होइन।'

सभापति देउवा विधानअनुसार नचलेको उनको भनाइ थियो। गुटभेला भन्दै हिँड्नेहरू सभापतिका अघि बोल्न नसकेको समेत उनले ठहर थियो। '६ महिनाभित्र गर्नुपर्ने काम सभापतिले कलम चोपेर हुने काम हो कि हामीले? युवाहरूले केही गरेनन् भनेर कतिपय साथीहरूले भन्नुभएको छ,' थापालाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, 'सभापतिका अघि उहाँहरूको स्वर ननिस्किने। गुट भेला गर्ने भन्नेहरूलाई हिजोको तस्बिर हेरून्। ठूलो घर हुनेले ठूलै घरमा गुट भेला गरे, घर नहुनेले पार्टी प्यालेसमा राखे। गुट भेलामाथि प्रश्न उठाउनेलाई लाज छैनरु हिजो शेरबहादुरले गुट भेला गरे भन्नेले आज शेखरले गरे भन्ने?'

०६८ सालमा सुशील कोइरालालाई राजीनामा बुझाएर शेरबहादुर दाइ हिँड्दा फकाउने काम आफूहरूले गरेको तर त्यसबेला पनि खेद्नेहरू आज पनि खेद्न थालेको भन्दै उनले आश्चर्य प्रकट गरेका थिए। 'अहिले गुट भेलाका नाममा आ गरेका हौं। मिलाउन हिँडेका हौं। आज एजेन्डामा छलफल गर्दा खेद्नेरु सबैलाई न्याय भयो भने न गुट हुन्छ, न गुट भेला हुन्छ,' थापाले थपेका थिए, 'हिजो ओलीले संवैधानिक परिषदमा अहंकार देखाउँदा पार्टी फुट्यो, आज सरकारले त्यही अहंकार देखाउने?

गगनले बोल्दै गर्दा देउवाले रोकेर भने– महामन्त्रीज्यू! कहिलेकाहीँ फोन उठाउने गर्नुस् न है।

सभापति देउवाले गगनलाई रोकेपछि उपसभापति धनराज गुरुङ बोल्न थालेका थिए। 

आरती, घण्टी र डन्डीका कुरा  

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्वको अतिप्रशंशा र अति आलोचना पनि गर्न नहुने बताए। प्रशंशा गर्ने नाममा आरती र पुष्पाञ्जली गर्न जरुरी नभएको उनको तर्क छ। 

आलोचकहरुमाथि डन्डी नचलाउन पनि नेतृत्वको ध्यानाकर्षण गराएका थिए। 'नेतृत्वको प्रशंसा गर्ने नाममा- ॐ जय जगदीश हरे गरेर घण्टी नबजाऔं। अनि आलोचना गर्ने नाममा, डन्डी पनि नचलाऔं,' शर्माले भने। 

डा शेखरले होटलमा भेला गर्नु हुन्थ्यो/ हुन्न्थ्यो भन्ने एउटा पक्ष भएपनि पार्टीभित्रको फरक विचार समूहले के मुद्दा उठाइरहेको छ त्यो मुख्य कुरा हुने उनको भनाइ छ। एउटा नेताको पक्षधरता राख्न अर्कोलाई होच्याउने गरी बोल्नु उपयुक्त नहुने बताए। 


 


अर्थतन्त्रका विषयमा सरकारले श्वेतपत्र जारी गर्नुपर्ने बताएका छन्। 'सरकारले आजको समग्र अर्थतन्त्रकाबारे श्वेतपत्र जारी गरेर, जनता समक्ष सत्यतथ्य राख्नुपर्छ र जनतामा विश्वास जागृत गर्नुपर्दछ,' शर्माले भने, 'एकातर्फ हामीले घरेलु जीवनलाई व्यवस्थित र सुदृढ गर्दै आगामी निर्वाचनको तयारी गर्नुछ। अर्कोतर्फ के नेपाल श्रीलंका बन्दैछ? भन्ने मनोवैज्ञानिक त्रासलाई पनि चिर्नु छ। प्रमुख दलका रूपमा  नेपाली काँग्रेसको कर्तव्य हो- जनतालाई ढाडस दिने, आशा जीवित राख्ने, विश्वासमा लिने।'

उनले प्रमुख प्रतिपक्षीलगायत संसदमा रहेका सबै दल एवं विज्ञ अर्थशास्त्रीहरुसहितको सर्वपक्षीय छलफल आयोजना जरुरी रहेको समेत उल्लेख गरेका थिए। 

केपी ओलीले प्रधानमन्त्रीको कार्यालयमा शक्तिकेन्द्रित गरेको तर कांग्रेस नेतृत्वको सरकार गठन भएको एक बर्ष पुग्दा पनि त्यसलाई सुधार नगरिएको भन्दै उनले सरकारको आलोचना गरेका थिए। 

कांग्रेस बैठकमा अधिकांश देउवा पक्षका नेताहरूले नेतृत्वको प्रशंशा गरेका थिए। कांग्रेसमा ८० प्रतिशतभन्दा बढी देउवा पक्षका केन्द्रीय सदस्य छन्। 

तपाईं त पदाधिकारी हो नि यार! 

स्थानीय तहको निर्वाचनको विषयलाई लिएर नेताहरुबीच घोचपेच भएपछि सभापति देउवाले रोकेका छन्। केन्द्रीय सदस्य गोपाल दहितले अघिल्लो बैठकमा सहमहान्त्री किशोर सिंह राठौरलाई वडा जिताउन नसकेको भन्दै आलोचना गरेका थिए। आफूले वडामा कांग्रेस जिताउन सफल भएपनि राठौरले जिताउन नसकेको भन्दै उनले व्यंग्य गरेका थिए।

राठौरले दहितलाई जवाफ फर्काए, '१० वटा पार्टी चाहार्दै आएको मान्छेले मेरो डिग्‍निटीमाथि प्रश्न उठाउने? मेरो वडाको चुनावी समीकरण र वस्तुगत स्थिति फरक थियो, जुन तपाईंलाई थाहा छैन। पार्टी फेर्दै हिड्नेले मेरो बारेमा प्रश्न उठाउने?'

प्रतिपक्षले समेत औंला उठाउने नसकेको मान्छेलाई १० वटा पार्टी चाहार्नेले प्रश्न उठाएको भन्दै राठौर आक्रोशित बनेपछि सभापति देउवाले रोकेका थिए। देउवाले राठौंरलाई सम्झाउँदै भने- 'तपाईं त पदाधिकारी हो नि यार! केन्द्रीय सदस्यलाई थर्काउन भएन नि!'

शेखरको खोजी

सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियाले भ्रातृ संस्थाका समिति गठनमा शेखर समूहसँग छलफल नगरिएको भन्दै आपत्ति जनाउँदै संस्थापन पक्षमाथि औंला ठड्याएका थिए। सहमहामन्त्रीद्वय पाण्डे र परियारले नेविसंघ र तरुण दल गठन गर्दा नेता शेखरसँग सामान्य छलफलसमेत नगरिएको गुनासो गरे।

पार्टी सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनीत गरिसकेका छन्। देउवाको रोजाइमा परेका शेर्पा र गुरुङलाई मनोनीत गर्दा नेता शेखरसँग छलफलै नगरिएको र एकलौटी गरिएको पाण्डेको आरोप छ। 

पार्टीको केन्द्रीय कमिटी बैठक सुरु हुनअघि शेखर समूहले गौशालामा छुट्टै भेला बोलाएर सभापति देउवामाथि आक्रोश पोखेका थिए। उक्त भेलामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले कांग्रेसलाई एकलौटी बनाउन खोजेको, आफू हारिने डरले भ्रातृ संस्थाहरुको अधिवेशन नगराएको, गठबन्धनलाई प्राथमिकता दिएको आरोप लगाएका थिए। 

कांग्रेस बैठक सुरु हुने दिन नै शेखर समूहले प्रधानमन्त्री देउवालाई पार्टी विधानअनुसार चल्न आग्रह गर्दै पार्टी मुख्यालयमै विरोध प्रदर्शनसमेत गर्‍यो। कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहका आ–आफ्नै बैठक अहिले पनि चलिरहेका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टीलाई एकढिक्का बनाउन सभापति देउवाले शेखरसँग दूरी बढाउन नहुने सुझावसमेत दिएका छन्।

शनिबारको केन्द्रीय समिति बैठकमा गयल भई चितवन हानिएका शेखरले प्रधानमन्त्रीलाई पार्टी संरचनाविरुद्ध नजान आफूहरुले दबाब दिइरहेको बताए। उनले प्रधानमन्त्रीले पार्टीका नेता-कार्यकर्तासँग समदूरी राख्न सके मात्र कांग्रेसले ऊर्जा प्राप्त गर्न बताए।

शनिबारको बैठकमा पनि पार्टी सभापति देउवा र अर्का नेता शेखरबीचको तिक्तताको विषय उठान भयो। सहमहामन्त्री जीवन परियारले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत हालेका कोइरालासँग सभापतिले छलफलसमेत नगर्नु विडम्बना भएको सुनाए। ‘भ्रातृ संस्थाका तदर्थ समिति गठनलगायतका विषयमा छलफलैै नगरी सभापति देउवा एकलौटी ढंगले अघि बढ्न खोज्नुभयो। शेखर कोइरालासम्म एक पटक छलफलसमेत भएन,' उनले भने।

गत आइतबारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ। शनिबार मन्त्रीहरूले बोल्ने क्रम सकिएपछि पदाधिकारीले बोल्ने क्रम सुरु भएको हो। पार्टीलाई जीवन्त बनाएर एकढिक्कामा लैजानुपर्नेमा सभापति देउवाले गठबन्धनलाई प्राथमिकता दिएको नेता शेखरको गुनासो रहँदै आएको छ।


शनिबारको बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीलाई एकढिक्का बनाउन नेता शेखरसँग प्रधानमन्त्रीले पहल गर्नुपर्ने, गठबन्धनलाई निरन्तरता दिए पनि पहिलो प्राथमिकता पार्टी मिलन हुनुपर्ने उनीहरुको धारणा छ। बैठकमा गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्माले प्रदेश सभापतिको प्रस्तावित मर्यादाक्रम नमिलेको भन्दै असन्तुष्टि जनाए। सबै ठाउँको सभापति माथिल्लो कमिटीको सदस्य हुने व्यवस्था भए पनि प्रदेश सभापति किन केन्द्रीय सदस्य नहुने भनेर उनले पार्टी नेतृत्वसँग प्रश्नसमेत गरे। 

केन्द्रले प्रदेशलाई सहयोग नगरे ठूलो समस्या हुनेतर्फ उनले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराए। थोरै मतले पराजित भएकाहरूलाई पनि जितेकाहरूले सँगै लिएर जाने वातावरण निर्माण गर्न उनले सुझाए। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पनि नेताहरूबीच बेमेल हुन-नहुनेमा जोड दिए। आगामी निर्वाचन सन्निकट रहेकाले पार्टीभित्र असन्तुष्टि हुँदा त्यसको लाभ अरुहरुले लिन सक्नेतर्फ उनले सचेत गराए। कांग्रेस गठबन्धनमा सहभागी भए पनि आगामी दिनमा विशेष ध्यान दिनुपर्ने सुझाव उनको रह्यो। भ्रातृ संस्थाहरूको निर्वाचन चाँडै गराउन र भिन्दै विचार राख्ने सबै नेता-कार्यकर्तालाई पार्टी सभापतिले बराबरको व्यवहार गर्नुपर्ने उनले सुनाए। 

केन्द्रीय सदस्य सीता गुरुङले स्थानीय तह निर्वाचनमा गठबन्धनका कारण कांग्रेसलाई लाभ मिलेकाले त्यसलाई निरन्तरता दिइनुपर्ने बताइन्। उनले पार्टीलाई एकढिक्का बनाएर लैजान नेतृत्वले विशेष पहल गर्नुपर्ने धारणा राखिन्।

मर्यादाक्रममा असन्तुष्टि

गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले मर्यादाक्रम नमिलेको भन्दै सच्याउन आग्रह गरेका हुन्। 

'प्रदेश सभापतिहरूको एक मत विषय भनेको प्रस्तावित मर्यादाक्रम मिलेको छैन भन्ने हो,’ शर्माले बैठकमा भने, ‘सबै ठाउँको सभापति माथिल्लो कमिटीको सदस्य हुने व्यवस्था भएपनि प्रदेश सभापति किन केन्द्रीय सदस्य न हुने?’


 


केन्द्रले प्रदेशलाई सहयोग नगर्दा समस्या हुने उनले बताए। भने, ‘केन्द्रमा आउने लेबी केन्द्रले थोरै मात्र लिएर बाँकी तल पठाउनुपर्छ। थोरै मतले पराजित साथीहरुलाई पनि जितेकाहरूले सँगै लिएर जानुपर्छ।’

हिजो असहयोग गरेकालाई पनि कन्भिन्स गराएर सहयोग गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। ‘हिजो हामीलाई असहयोग गर्नेलाई कन्भिन्स गरेर सहयोग गर्ने वातावरण मिलाउनुपर्छ,’ उनले बैठकमा भने, ‘तल्लो निकायबाट थोरै मात्रको सिफारिस केन्द्रमा आउने वातावरण मिलाउनुपर्छ।’

प्रकाशित: Jul 16, 2022| 21:56 शनिबार, असार ३२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...