काठमाडौं- पूर्वराजदूत केशवराज झा ८३ वर्षका थिए। आठ दशक पार गरेका झाको हत्या हुन्छ भनेर कसैले कल्पना पनि गरेका थिएनन्। आइतबार राति १० बजे सुतेका उनी बिहान रहस्यमय रूपमा मृत अवस्थामा फेला परे।
त्यस उमेरका मानिसको क्रुर हत्या गर्ने को थियो भन्नेमा सत्यतथ्य बाहिर आइसकेको छैन। हरेक मानिसले दया गर्ने उमेर पुगेका झाको घाँटीमा धारिलो हतियारले रेट्ने क्रुर मानिस को होला? सबैमा जिज्ञासा छ।
एक स्थानीय बासिन्दाका अनुसार झाको घरमा माथिल्लो तलाको झ्यालको जाली काटिएको छ । र, उनले भर्खरै छोरा नेपाल आएको बेला बुढानीलकण्ठमा रहेको आफ्नो जग्गा बिक्री गरेको खुलेको छ। जग्गा बिक्रीवापतको पैसा उनीसँगै रहेको बुझेर आर्थिक प्रलोभनमा परेर त्यही रकम लुट्ने क्रममा हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
अनुसन्धानका क्रममा प्रहरीले झाको घरमा रहेका सानु कान्छा तामाङ र दुई मालीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। पैसाका लागि मात्रै थियो भने झाको हत्या गरिरहनुपर्ने थिएन। किनभने, उनी ८३ वर्षका वृद्ध थिए। र, अँध्यारोमा राम्ररी देख्नसमेत सक्दैनथे। जसले पनि सजिलै बल गरेर उनीसँग भएको पैसा लैजान सक्थ्यो। घटनास्थलको प्रकृति हेर्दा पैसा लुटेको पोल खुल्ने डरले उनको हत्या भएको हुनसक्ने शंका प्रहरीको छ।
उनी फ्रान्सका लागि पहिलो नेपाली राजदूत थिए। र, ३४ वर्ष परराष्ट्र सेवामा बिताएका थिए। काठमाडौं बबरमहलस्थित ओलम्पिया कलेजसँगै जोडिएको घरमा उनी अवकाशको जीवन बिताइरहेका थिए। उनका एक छोरा र एक छोरी दुवै चिकित्सक छन्। घटना भएका बेला उनकी पत्नी अर्को कोठामा सुतेकी थिइन्। उनले पनि पतिको हत्या भएको बिहान मात्र थाहा पाइन्।
प्रहरीले घटनास्थलबाट एउटा छुरी बरामद गरेको छ। कालो बिँड भएको र थाइल्यान्डमा बनेको 'किवी' नामक चक्कु झाले लामो समयदेखि सिरानीमुनि राख्ने गरेका थिए। सोही चक्कुले फलफूल काटेर खाने गर्थे।
महानगरीय प्रहरी अपराध महाशाखा एसपी नरेन्द्र उप्रेतीका अनुसार प्रारम्भिक अनुसन्धानमा पूर्वराजदूत झाको हत्या भएको देखिएको छ। 'अनुसन्धान जारी छ,' एसपी उप्रेतीले नेपाल समयसँग भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४