काठमाडौं– सिँचाइ अभावका कारण बागमती प्रदेशमा यस वर्षको असार अन्तिमसम्म ४३ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। प्रदेशअन्तर्गतका १३ जिल्लामा ५१ हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा रोपाइँ भएको प्रादेशिक कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बताएको हो।
प्रदेशका अधिकांश पहाडी जिल्लामा अकासे पानीको भरमा धान खेती गर्नुपर्ने हुँदा धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ। रोपाइँ भएका धानका लागि रासायनिक मल अभाव भएको किसानको गुनासो छ। एकातिर पानी नपर्नु र अर्कातिर मल अभावले किसान समस्यामा परेका छन्।
मन्त्रालयका प्रवक्ता भलकनाथ कँडेलका अनुसार प्रदेशको १३ जिल्लामध्ये सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम धादिङमा धान रोपाइँ भएको छ।
विवरणअनुसार काठमाडौंमा ८०, धादिङमा ११, रामेछापमा ३५, दोलखामा ५०, ललितपुरमा ७५ र भक्तपुरमा ७० प्रतिशत तथा चितवनमा ४० प्रतिशत धान रोपाइँ भएको छ। त्यस्तै, सिन्धुलीमा ४५, काभ्रेमा ६१, सिन्धुपाल्चोकमा ४०, नुवाकोटमा ४५, रसुवामा ५५ र मकवानपुरमा २० प्रतिशत जमिनमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ। बागमती प्रदेशमा खेतीयोग्य जमिन १ लाख २० हजार ५०० हेक्टर रहेकामा ९० प्रतिशत जमिनमा धान खेती हुने गरेको छ।
प्रदेशमा विगत केही वर्षदेखि धान उत्पादन अर्थात् धान खेती घट्दै गएको मन्त्रालयको विवरणमा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ मा ५ लाख ९ हजार ५९० मेट्रिक टन धान उत्पादन भएकामा २०७६÷७७ मा ५ लाख १० हजार २०० मेट्रिक टन तथा २०७५/७६ मा ५ लाख २१ हजार ४४६ मेट्रिक टन धान उत्पादन भएको थियो।