काठमाडौं– नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न सेवाको महसुलमा आगामी २०७९ साउन १ देखि नयाँ दर लागू हुने भएको छ। सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागू हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो।
कम्पनीले उपलब्ध गराइरहेको प्याकेजबाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएचलगायत सेवाको महसुलमा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्नेछ। साउन १ देखि समर अफरअन्तर्गत विभिन्न प्याकेज उपलब्ध गराइने टेलिकमले बताएको छ।
पहिले उपलब्ध सबै अफरलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइनेछ। टेलिकमका अनुसार केही अफरमा उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम थप भएका छन्। यसबाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजमा समेत सोहीअनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको टेलिकमले जनाएको छ।
सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकामा अब ४० जीबी प्रदान गरिनेछ। त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिनेछ।