काठमाडौं- पूर्वराजदूत केशव झा मृत फेला परेका छन् । उनी आफ्नै घर बबरमहलमा मृत अवस्थामा फेला परेका हुन्।
नेपालका लागि फ्रान्सको राजदूत बनेका झा श्रीमतीसहित बबरमहलमा बस्दै आएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी बसन्त लामाले दिएको जानकारी अनुसार मृत भेटिएका झाको विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।
झालार्इ घरेलु हतियार खुकुरी प्रहार गरी हत्या गरेको पाइएको छ । उनको घरमा श्रीमती र एक सुरक्षाकर्मी मात्र भएको अवस्थामा झाको हत्या भएको पाइएकाले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
लामा अनुसार झाको राति नै हत्या भएको छ । उनी घरको भुइ तलामा सुत्ने गरेको र श्रीमती माथिल्लो तलामा सुतेको अवस्थामा राति नै हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।
छोरा छोरी विदेश
झाका एक छोरा र एक छोरी छन् । दुवै जना डाक्टर हुन्। छोरा किरण झा श्रीमती र छोराछोरीसहित आयरल्यान्डमा बस्छन् । केही समयअघि घर आएका उनलाई शनिबार मात्रै स्वर्गीय झाले बिदाइ गरेका थिए ।
त्यस्तै उनकी छोरी राजश्री झा परिवारका साथ इष्ट टिमोरमा बस्छिन् । झाका साथ उनकी ७५ वर्षीया श्रीमती ज्ञानु झा र सात वर्षदेखि काम गरिरहेका काभ्रेका ४८ वर्षका सानु कान्छा तामाङसँगै बस्दै आएका थिए ।
यसरी मृत भेटिए झा
झा घरको भुईँतलामा सुत्ने गर्दथे । उनी श्रीमती ज्ञानु भने पहिलो तलामा सुत्ने गर्दथिन् । सदाझै सोमबार बिहान पनि श्रीमती पहिले उठेर नियमित रुपमा धारामा आउने पानी थापिन् । आफ्नो नियमित काम सकेर श्रीमान निक नउठेको भनेर हेर्दा रगतमा मुछिएको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेको सुनाएकी छन् ।
झाको टाउकोमा गहिरो चोट लागेको थियो भने उनी रगतसहित बेडमै लतपतिएको अवस्थामा भेटिएका थिए। मृतक झाको छात्तिमा रगतले लतपतिको चक्कु फेला परेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४