काठमाडौं- नागरिक लगानी कोषले साउन १ गतेदेखि ब्याजदर परिवर्तन गर्ने भएको छ। कोषले विज्ञप्ति जारी गर्दै २०७९ साउन १ गते देखि लागू हुने गरी नयाँ ब्याजदरको व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको हो।
कोषले कर्मचारी बचतवृद्धि स्वीकृत अवकाश कोषमा दिँदै आएको ६.५ प्रतिशतको ब्याजदरलाई परिवर्तन गरी ८ प्रतिशत पुर्याएको छ। कोषले ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर ९.५ प्रतिशत निर्धारण गरेको छ।
यस्तै, आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १०.५ र सरल कर्जामा १०.५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाब योजनामा ७.५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत ब्याज रकम प्रदान गर्ने निर्णय गरेको छ।
कोषले बीमा तर्फका सबै कार्यक्रममा वार्षिक ७.५ प्रतिशत ब्याज प्रदान गर्नेछ। बिमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम सञ्चालनका लागि बिमा शुल्क संकलनको कार्यसमेत गर्दै आएको छ।