काठमाडौं– अटो क्षेत्रको व्यवसाय पछिल्लो समय निकै खुम्चिएको गुनासो गर्छिन्, प्रमिला खत्री। केजी इन्टरकन्टिनेन्टलकी महाप्रबन्धक प्रमिला १८ वर्षदेखि गाडी, मोटरसाइकल, स्कुटरलगायतका सोरुम र डिलरमा रमाइरहेकी छन्। यो वर्ष भने सुरुदेखि नै अटो व्यापार सुस्ताउँदै गएपछि त्यति उत्साह रहने स्थिति भएन।
‘मेरो जीवनकालमै पहिलो अनुभव हो, व्यापार सुस्ताएको,’ उनी भन्छिन्, ‘कहिलेकाहीँ यही कुरा अध्यक्षलगायतको टिमसँग राख्छु। उहाँहरू पनि आफ्नो अटो क्षेत्रको अहिलेको हविगत ४०–४२ वर्षको यात्रामा पहिलो अनुभव भएको सुनाउनुहुन्छ।’
प्रमिला ८ वर्षकी हुँदा काभ्रेबाट काठमाडौं आइन्। बुबा काठमाडौंमै रेस्टुराँ चलाउँदै आएका थिए। उनी बुबासँगै घरको सामान्य काम गरेर स्कुल जाने गर्थिन्। कमलपोखरीमा रहेको कमलपोखरी स्कुलमा ।
प्रमिलाको बालापन विस्तारै बित्दै गयो। स्कुल तहको पढाइ सकियो। उच्च शिक्षाको यात्रा बागबजारस्थित पद्मकन्या क्याम्पसबाट सुरु भयो।
बुबाको रेस्टुराँ व्यवसायको कमाइले परिवारको खर्च ठिक्क हुन्थ्यो। घरकी माइली छोरीको हुनु र बुबाको जिम्मेवारीको भारी राम्रोसँग बुझेकी थिइन्, उनले। बुबाको बढ्दो बुढ्यौली र थपिँदो जिम्मेवारीले उनलाई जागिर खानुपर्ने अवस्था आइलाग्यो।
प्रमिलाले २०६० तिर जागिर सुरु गरिन्, गणेश इन्टरप्राइजेजको सुजुकीमा। टोलकै एक साथीमार्फत त्यहाँ जागिर खान पुगेको उनी स्मरण गर्छिन्। काठमाडौंमै हुर्किए पनि सुजुकीमा जाँदा अटो क्षेत्रमा जागिर सुरु गर्दा उनका लागि नौलो थियो।
नेपाली समाजमा अझै पनि छोराछोरी जन्मिएपछि छोरी भए गुडिया र छोरालाई गाडीका खेलौना दिने चलन छ। यस्तो किसिमको सोचाइ भएको समुदायमा हुर्के–बढेका जोकोही महिलालाई अटो क्षेत्र नौलो लाग्नु स्वाभाविकै हो।
त्यसो त, अझै पनि सवारी साधन गुडाएर हिँड्ने पुरुष तथा महिलालाई आफूले चलाउँदै आएको साधनको सबै फिचरबारे कम जानकारी हुन्छ। बजारमा कुन बढी सवारी साधन चलेका छन्, अरूले कुन खरिद गर्न सुझाउँछन्, त्यहीअनुसार सवारी खरिद गर्ने चलन छ।
सुरुमा जागिर खाँदा प्रमिलालाई पनि सवारीसाधनबारे खासै जानकारी थिएन। सोरुममा आफू एक्ली हुँदा ग्राहकले बाइकको लट सोधेका बेला संख्या मात्र बताएको उनी सम्झिन्छन्। ‘ग्राहकले बाइकको ‘लट’ सोध्नुभएको रहेछ। मैले नबुझेर त्यहाँ भएका बाइकको संख्या गनेर सुनाएकी थिएँ। त्यसपछि ग्राहकले तिमीलाई केही थाहा रै’नछ। पछि आउँछौं भनेर निस्किए।’
सुरुमा जागिर खाँदा माथिल्लो दर्जाका कर्मचारी दुइटी दिदी भए पनि सिकाउन खासै नचाहने हुँदा केही असहज भएको उनी सुनाउँछिन्। ‘दिदीहरूलाई मलाई पनि सिकाउनू न भन्थे तर तिमी बस, ग्राहकलाई हामी देखाउँछौँ भन्नुहुन्थ्यो’, उनले भनिन्। पहिलो जागिर। काम सिक्ने मनैदेखिको उत्साह कसले रोक्न सक्थ्यो ! अरूले ग्राहकलाई बताउने समयमै गाडी, बाइकबारे सिक्थिन्, उनी।
काम गराइमा इच्छाशक्ति भए समयसँगै विस्तारै सबै कुरा सहज हुने उनको ठम्याइ छ। ‘सुरुमै असहयोगको दृष्टि अलिक अपाच्य हुने रहेछ। सुरुमा मलाई सिकाउन कर गर्दा पनि अल्छी मान्ने उनै दिदीहरू पछि मेरा असाध्यै मिल्ने साथी हुनुभयो’, उनी भन्छिन्।
सुरुमा काम गर्दाको क्षण सम्झिँदा महिलाको दुस्मन महिला नै हुने अनुभव रहे पनि विस्तारै सबै ठीक भएको उनी बताउँछिन्।
अटो धन्धा सिक्दै रहेका बेला एकपल्ट कम्पनीका जीएमले ‘यसले सेल्स गर्न सक्दैन’ भनेपछि कामै छाड्ने निर्णयमा समेत पुगेको उनी सुनाउँछिन्। त्यसपछि दुई दिनसम्म अफिस नगएको उनी बताउँछिन्। पछि कम्पनी सञ्चालकको टिमले काम नछाड्न आग्रह गरेसँगै पुनः जागिरलाई निरन्तरता दिएको उनले बताइन्। ‘अन्त काम कहाँ पाएर गर्नु? आऊ भन्नुभयो। खुसी हुँदै गए। मलाई काम गर्नैपर्ने थियो’, उनी विगत कोट्याउँछिन्।
जागिर खाएको समय बित्दै गयो। अटोसम्बन्धी विषयगत कुरा पनि बुझ्दै गइन्। तर भर्खर अटो क्षेत्रको जागिर रोजेकी उनलाई स्कुटी तथा बाइक चलाउन आउँदैन थियो। लाइसेन्स पनि थिएन। सोरुमा गाडी, बाइक खरिद गर्न आउने ग्राहकलाई कहिलेकाहीँ टेस्ट ड्राइभ गराउँदा बाहिर निकाल्दा पनि ‘उसलाई आउँदैन’ भन्ने शब्दले मनमनै खिन्नता उब्जिने गरेको उनी बताउँछिन्। ‘काममा जुन क्षेत्रमा जागिर खाइएको हो, काममा आउनुअघि त्यसमा साधारण ज्ञान र क्षमता हुनुपथ्र्याे भन्ने कुराले उनको मनलाई सधैं पिरोल्थ्यो। हेपिएजस्तो महसुस हुन्थ्यो। सबै बाधा–अड्चनलाई छिचोल्दै काममा दक्ष हुनुको विकल्प उनीसँग थिएन।
त्यसपछि उनले स्कुटीबाट सुरु गरेर बाइक, कार सिकिन र लाइसेन्स पनि निकालिछाडिन्। यति गर्दा जागिर खाएको समय करिब २ वर्ष पुगिसकेको थियो।
संघर्ष गर्दागर्दै अनुभव भएपछि उनी अटो क्षेत्रमा पोख्त भइन्। २ वर्षमा उनी ग्राहकलाई कसरी ह्यान्डिल गर्ने, कस्ता ग्राहकको कुन मनस्थिति हुन्छ, कस्तो प्रतिक्रिया जनाउँछन् आदि विषयमा स्पष्ट हुन थालिन्। त्यसपछि भने काम गर्न कहिल्यै असहज नभएको उनी सुनाउँछिन्।
जुन क्षेत्रमा जागिर खाइएको हो, काममा आउनुअघि त्यसमा साधारण ज्ञान र क्षमता हुनुपर्थ्र्या भन्ने कुराले उनको मन सधैं पिरोलिन्थ्यो। हेपिएजस्तो महसुस हुन्थ्यो। सबै बाधा–अड्चनलाई छिचोल्दै अहिले महाप्रबन्धकको जिम्मेवारीमा पुग्न सफल भएकी छन्, प्रमिला।
जागिरका क्रममा दक्ष बनिसकेर बिक्री कक्षमा सँगै काम गरिरहेका २ जना कम्पनीबाट बाहिरिए। उनी भन्छिन्, ‘एक जना अस्ट्रेलिया जानुभयो भने अर्कोले घरजम गर्ने भनेर काम छाडिदिनुभयो।’
दुवै जना महिना दिनको अन्तरमा बाहिरिए प्रमिलालाई थप जिम्मेवारी र अवसर दुवै हात लाग्यो। ‘बिक्री कक्षमा एक्ली भएँ। आफैंले आफैंलाई मालिक सम्झन्थें। जिम्मेवारीमा पनि थिएँ,’ उनी भन्छिन्, ‘केही दिनमै एक्लै बाइक बेच्न थालें।’
त्यसपछि जीएमले कामको प्रशंसा गर्न थाले। जसले पहिला यसले काम गर्न सक्दैन भनेका थिए, पछि सबैले भाउ दिन थालेपछि उनमा खुसीको सीमै रहेन। उत्साह र आत्मविश्वास झनै बढेर गयो।
केही समयपछि जीएमले काम छाडे। प्रमिलाले जीएमकै पद नपाए पनि जिम्मेवारी भने सम्हाल्नुपर्ने भयो। यसले उनलाई व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम सिक्ने अवसर जुट्यो। जीएमले जागिर छाडेको समय कम्पनीका ४६ डिलर स्थापित गरिसकेको उनी बताउँछिन्। जीएम नहुँदा डिलरसँग सधैं सम्पर्कमा रहिरहनुपर्ने दायित्व उनीमाथि थपियो। प्रमिलाले डिलरसँग पार्टपुर्जादेखि कर्जा प्रवाह तथा संकलनको काम पनि सुरु गरिन्।
कम्पनीमा व्यवस्थापकीय जिम्मा पाएपछि उनका लागि जागिरे जीवन ठूलो अवसर भयो। कम्पनीले काम र क्षमता हेरेर उनलाई सेल्स म्यानेजर बनाइदियो। सँगै काम गर्ने मार्केटिङ म्यानेजरले प्रमिला म्यानेजर भएकामा असन्तुष्टि जनाउँदै जागिरै छाडेको सुनाउँछिन्। ‘उनी मार्केटिङ म्यानेजर। मचाहिँ सेल्स म्यानेजर। महिला भएकै कारण उनलाई चित्त बुझेनजस्तो लाग्यो’, उनी भन्छिन्, ‘उनलाई बस भनेर मलाई म्यानेजरबाट हटाइएनन्। कामलाई निरन्तरता दिएँ।’
म्यानेजर भएर काम गरिरहँदा एकै दिनमा १५ वटासम्म बाइक बिक्री गरेको सम्झिन्छन्, उनी। त्यो दिन बेलुकीको ९ बजेसम्म अफिसमै रहेर ग्राहकलाई लाइन लगाएरै डेलिभरी गरेको उनले बताइन्।
कम्पनीमा व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहेकी थिइन्। व्यवसाय उक्लिँदै थियो। त्यतिबेलै बाइक सट्टापट्टा गर्ने ग्राहक उनको सोरुममा आए। ग्राहकलाई पुरानो बाइक राखेर नयाँ बाइक दिइन्। पुरानो बाइक साटफेर गरेबापत उनले २० हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भइन्।
व्यापारबाट लोभिएकी प्रमिलाले कम्पनीकै सहमतिमा जागिर नछाड्ने गरी आप्mनै लगानीमा रिकन्डिसन हाउस खोलिन्। पुँजी जुटाउन दिदी र कम्पनीबाटै कर्जा सहयोग पाइन्। ‘पछिल्लो २ वर्ष कसरी बित्योे पत्तै भएन। रिकन्डिसन हाउस जागिर सुरु गरेको ४ वर्षपछि खोलेकी हुँ’, उनले भनिन्।
रिकन्डिसन हाउसमा आफू चढ्दै आएको स्कुटीसमेत राख्न भ्याइन्। त्यसो त रिकन्डिसन खोल्ने सोच बनाएपछि कम्पनीमा बाइट साटफेर गर्न आउने ग्राहक रोकेरै राखेको उनी बताउँछिन्। कारोबार हुँदै जाँदा एउटै बाइक ४ पटकसम्म बेचेको अनुभव छ, उनीसँग। त्यो बाइकको अन्तिमपल्टको कारोबारमा भने घाटा बेहोरेको उनी सुनाउँछिन्।
रिकन्डिसन हाउस खोलेपछि पुराना बाइकबाट आउने कमाइ चोखो नाफा भयो। अर्काेतर्फ कम्पनीबाट नयाँ बाइक बिक्री हुँदै गए। उनका दुवै हातमा लड्डु। आम्दानी बढ्दै गएपछि काठमाडौंमा जग्गासमेत खरिद गरिन्।
२०७२ मा भने भूकम्पका कारण रिकन्डिसन हाउस बन्द गर्नुपर्ने अवस्था आएको उनी बताउँछिन्। मर्मत गरेर रिकन्डिसनमै राखिएका ६ वटा स्कुटी र बाइक भूकम्पले काम नलाग्ने गरी थिचिए। त्यतिबेला करिब १५ लाख हाराहारी नोक्सानी भएको उनले सुनाइन्।
त्यसपछि एकातर्फ घाटा, अर्काेतर्फ व्यवसाय सुस्ताउने अवस्था आयो। यसबाट पार लाग्न नसकिने विचार गरेर रिकन्डिसन बन्द गरिन्। यद्यपि उनले कम्पनीबाट साटेर लगेका बाइक भएका कारण केही सहयोग पाइन्। रिकन्डिसन हाउस बन्द भएपछि जागिरमा मात्रै सीमित भइन्। २०७४ बाट प्रमिलाले सुजुकीको जागिर छाडिन्।
२ वर्षपछि पुनः हाउजेमा काम सुरु गरिन्। त्यहाँ पनि २ वर्ष काम गरिसकेपछि उनी १ वर्षदेखि केजीको महाप्रबन्धक बनेर सोही ग्रुपद्वारा सञ्चालित एसवाईएम बाइक सोरुमको व्यवस्थापन सम्हालिरहेकी छन् ।
मुलुकको आर्थिक गतिविधि चलयामान भइसकेपछि भविष्यमा एवाइएमकै डिलर लिएर बस्ने सोच उनको छ। अटो क्षेत्रमा कर्मचारीका रूपमा धेरै महिलाले काम गर्दै आए पनि व्यावसायिक सफलता पाउने भने न्यून भएको उनी बताउँछिन्। अटो क्षेत्रलाई दीर्घकालीन कर्मथलो बनाउने महिला कम भएकाले संख्या बढाउनुपर्ने उनको बुझाइ छ।
महिलालाई कार्यस्थल असुरक्षित रहेको भनिए पनि उनले कहिल्यै पनि त्यो अवस्था भोग्नुपरेन। ‘म कहिल्यै काम गर्ने बेला यौन हिंसामा परिनँ। पहिलो कुरा, मभन्दा अग्रज महिला साथीहरू पनि संस्थामा हुनुहुन्थ्यो। कम्पनीमा महिलाको बाहुल्य बढी थियो। यसले गर्दा पनि महिला हिंसाजस्ता कुरा बाहिर आउने सम्भावनै भएन । अर्काे कुरा, आफ्नो व्यवहारअनुसार पनि यस्ता घटना घट्छन्। त्यसमा भने सचेत हुनुपर्छ।’
अफिसमा काम गरिरहेका बेला कहिलेकाहीँ भने गलत सोचाइका मान्छेसँग भेट हुने गरेको उनको अनुभव छ। त्यस्ता मान्छेलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय आफ्नो व्यवस्थापकीय क्षमतामा भर पर्ने उनको बुझाइ छ। ‘कहिलेकाहीँ कति राम्री तपाईं भन्दै जिस्कन खोज्नेहरू पनि अफिसमा आउँछन्। त्यस्ता व्यक्तिलाई कसरी तह लगाउने हो, त्यो आफूमा क्षमता हुनुपर्छ’, प्रमिला भन्छिन्। समस्या हरेक क्षेत्रमा हुने र त्यसलाई छिचोल्न सक्नुपर्ने उनी बताउँछिन् ।