काठमाडौंबाट सोमबार प्रकाशित दैनिक पत्रिकाले बिमस्टेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा राजधानीका सडक चिटिक्क पारिँदै गरेको, विशिष्टको आवासमै वार्षिक २२ करोड बढी खर्च भएको, ठूला करदाताले राजश्व घटाएको, प्रदेशसभाका गुनासै गुनासा, भान्सासम्मै सिन्डिकेट, कोशीले दिएको दुःखलगायतका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
नागरिक दैनिकले बिमस्टेक शिखर सम्मेलनका लागि राजधानीलाई व्यवस्थित बनाउँदै सडकका खाल्डाखुल्डी पुरेर चिटिक्क पारिएको खबरलाई मुख्य समाचार बनाएको छ । भारत र चीनका उच्च अधिकारी आउनेभएपछि रातारात व्यवस्थित हुने काठमाडौं अरुबेला किन लथालिंग होला, विदेशी पाहुना आउँदा रातारात काम हुने तर अरुबेला घण्टौ सरकारी कार्यालय धाउँदा पनि काम नहुने अवस्था आएपछि सर्वसाधारण आक्रोश भएको खबरलाई यस समाचारमा समावेश गरिएको छ ।
त्यस्तै संसदमा धमाधम विधेयक दर्ता हुँदै गरेको, निजामती कर्मचारीको उमेरहद ५८ वर्षबाट ६० पुर्याउने तयारी गरिएको, खोलाले आफ्नो बाजो खोजेकाले उपत्यकाका धेरै घरबस्ती डुबानमा परेकोलगायतका खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिका दैनिकले विशिष्टको आवासमै वार्षिक २२ करोड खर्चको समाचारलाई आज मुख्य समाचार बनाएकोछ । प्रधानमन्त्री निवास बालुवाटारमा मासिक १२ लाखको ट्यांकरको पानी भगाएर गाडी र मोटरसाइकल धुने गरिएको, मन्त्रीकै घरभाडामा ८१ लाख, पानी र बिजुलीमा साढे तीन करोड, टेलिफोन र इन्टरनेटको बिल ८८ लाख, मसलन्द र पर्दा–कार्पेटमा दुई करोड, फर्निचरमा एक करोड ९० लाख र मर्मतमा एक करोड १० लाख खर्च हुने गरेको, कार्यविधि बिनानै जथाभावी सुविधा दिइएको, प्रधानमन्त्रीको धारोमा नै पानी नआएर जारको पानीले खाना पकाउने गरेको, प्रधानमन्त्री कार्यालयमा चरम आर्थिक अनियमिततता भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
कान्तिपुर दैनिकले भान्सासम्मे सिन्डिकेटको खबरलाई मुख्य बनाएको छ । तरकारीमा लगाएको सिन्डिकेटका कारण धादिङ र मकवानपुरबाट प्रतिकिलो १८ रुपैयाँमा काठमाडौं आउने काउलीलाई उपभोक्ताले १३० रुपैयाँ तिर्नुपरेको, १० रुपैयाँको फर्सी ८० रुपैयाँ भएको, १५ को बोडी किन्दा ११० परेको, विचौलिया कस्ने कानुन बनेपनि प्रभावकारी नभएको, विचौलियाले पाँच पटकसम्म मूल्य थप्ने गरेको खबरलाई समावेश गरिएको छ ।
त्यस्तै संसदीय सुनुवाइ विशेष समितिबाट प्रधानन्यायाधी अस्वीकृत सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले थप ६ दिन बिदा लिएको, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफू सभापतिसँग आजित भएको बताएको, प्रदेश सभामुखले गुनासै गुनासा सुनाएको, माछामार्ने मेला सञ्चालन भएकोलगायतका खबरलाई मुख्य पृष्ठमा छापेको छ ।
अन्नपूर्ण पोस्टले बस्नै दिएन कोशीले शीर्षकको समाचारलाई मुख्य बनाएको छ । तीन हजाबढी घरपरिवारलाई कोशीले जुनसुकै बेला बगाउन सक्ने भएपनि उनीहरुलाई व्यवस्थित ठाउँमा सार्न नसकिएको, बर्सेनी कटान बढेकोलगायतका विषय समाचारमा समावेश गरिएको छ । कर बढाएको बारे संघले स्थानीय तहलाई सोधेको, कांग्रेसको क्यान्टिनमा नेकपाका नेतालगायतका खबरलाई प्राथमिकतामा छापेकोछ ।
कारोबार दैनिकले प्राधिकरणको बजेट ४५ अर्ब १७ करोड, राष्ट्रियय गौरबका आयोजनाका लागि झण्डै ५० प्रतिशत, इआईए नै नगरी मुआब्जाको बजेट, ठूला करदाताले नै घटाए राजश्व, रोजगारीको हकसम्बन्धी विधेयक मन्त्रिपरिषदबाट पारित, अरुण तेस्रोमा बस्ने स्थानीय लाभ बाँडफाँड योजना, आठ सय स्थानीयलाई निःशुल्क सीप र शिक्षालगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४