शुक्रबार, असोज १८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

दोखः द्वन्द्वकालमा माआवोदीले गरेको 'फउल प्ले'

निर्देशक बरालले यो सिनेमालाई ‘फउल प्ले’ भनेका छन्। फुटबलमा खेलको नियमविपरीत खेलेपछि त्यो ‘फउल’ हुन्छ। यहाँ निर्देशकले द्वन्द्वकालमा माओवादीले क्रान्तिको नाममा जनतासँग गरेको ‘फउल’ देखाउन खोजेका छन्। तर, बिर्सेका छन्- राज्य पक्षले गरेको ‘फउल’, जुन कम दर्दनाक थिएन।
 |  बुधबार, असार २९, २०७९
nespernesper

अनिल यादव

अनिल यादव

बुधबार, असार २९, २०७९

काठमाडौं- पछिल्लो समय नेपाली सिनेमालाई लिएर स्थापित गर्न खोजिएको मानक के हो भने कथित मुलधारभन्दा अलि फरक शैलीमा कुनै सामाजिक विषयवस्तु बोकेर सिनेमा बन्यो भने त्यसलाई ‘राम्रो’ भन्दिनुपर्छ। यसअघि कोरोनाकालको विषय बोकेर आएको ‘चिसो मान्छे’ होस्, या अहिले हलमा प्रदर्शन भइरहेको माओवादी सशस्त्र द्धन्दको प्रभावमा बनेको ‘दोख’, फिल्मवृत्तमा यस्तै टिकाटिप्पणी भइरहेको सुनिन्छ।   

triton college

तर, पछिल्ला यी दुबै सिनेमा हेरेपछि मेरो मनमा उठेको एउटा गम्भीर सवाल के हो भने- के कुनै सिनेमा सामाजिक अभिव्यक्ति (सोसियल कमेन्ट्री) बोक्दैमा राम्रो बन्छ त?  जवाफ- पक्कै बन्दैन। ‘चिसो मान्छे’ सार्वजनिक भएपछि फिल्म बजारमा आएको अनुप बराल निर्देशित ‘दोख’ अर्को यस्तै उदाहरण हो। यद्यपि यो बिर्सनलायक पनि छैन। किनभने यसको सिनेमाटोग्राफी, सिनेम्याटिक कम्पोजिसन, प्रकाश र ध्वनीको प्रयोग साँच्चै स्मरणीय छन्। 

सिनेमाको मुल आत्मा भनेको कथा हो। जसरी एउटा घर बलियो बन्‍नमा जगको भूमिका हुन्छ, सिनेमामा कथाको त्यस्तै हुन्छ। तर, निर्देशक बराल जगलाई बिर्सिएर झ्याल, ढोका र कोठाको डिजाइनमै बढी रुमल्लिँदा यो फिल्म सशस्‍त्र द्वन्द्वमाथि बनेको एउटा सुन्दर फिल्म बन्‍नबाट चुकेको छ।

फिल्मको कथा सुरु हुन्छ, रोनित सर (मनिष निरौला)को यात्राबाट। जो माओवादी द्वन्द्वको समय शिक्षक बनेर दुर्गममा रहेको सल्ले गाउँमा पुग्छन्। त्यो गाउँ जसको छिमेकी भकुन्डे गाउँसँग द्वन्द्व छ। द्वन्द्वको कारणचाहीँ दुवै गाउँसँग जोडिएको चुथ्रे वन। दुवै गाउँ यो वनलाई आ-आफ्नो ठान्छन्।

यत्तिकैमा एक दिन सल्ले गाउँका केटाहरुले भकुन्डे गाउँको केटालाई जंगलमा घाँस काट्दै गरेको भेटेपछि भक्कु पिट्छन। माओवादी पकड रहेको यी दुई गाउँको विवाद मिलाउन त्यसपछि आइपुग्छन्, त्यस एरियाका माओवादी कमाण्डर संगीत (सुरज मल्ल)। विवाद मिलाउन उनी जुक्ति निकाल्छन्, दुई गाउँबीच फुटबल प्रतियोगिताको आयोजना, जसले जित्छ, वनमा हक उसैको।

Metro Mart
vianet

दर्शकलाई लाग्छ, अब फिल्मको कथा फुटबलको घोषणासँगै रोचक मोडमा पुग्छ। तर, कथा अन्तै बतासिन्छ। एउटा मोडमा पुगेपछि थाहा हुन्छ- यो गाउँमा शिक्षक बनेर आएका रोनित सरको बदलाको कथा हो। जसको बुबा माओवादीबाट मारिएका हुन्छन्। यही प्रमुख पात्रमार्फत् निर्देशकले द्वन्‍द्वको बेला एउटा दुर्गम गाउँमा माओवादीको कस्तो त्रास थियो, त्यो देखाउन खोजेका छन्।

तर, सशस्त्र द्वन्द्वप्रति फिल्म सन्तुलित देखिँदैन। जसरी निर्देशकले सल्ले गाउँको त्रास देखाउँदै गर्दा भकुन्डे गाउँलाई देखाउन आवश्यक ठानेका छैनन्, त्यसैगरी माआवोदीले दिएको दोख देखाउँदै गर्दा राज्य पक्ष (सेना)ले दिएको दोखप्रति नजरान्दाज गरेका छन्। जबकी द्वन्द्वकालमा राज्यपक्षबाट पनि गैरन्यायिक हत्या र अमानवीय व्यवहारहरु भएका थिए। गाउँहरु जति माओवादीबाट त्रसित थिए, राज्य पक्ष (सेना)बाट पनि त्यो भन्दा कम थिएनन्। द्वन्द्वको समय राज्य पक्षबाटै बलात्कृत भएका चेलीहरुको कथा पनि हामीले पढ्दै-सुन्दै आएकै हो।

फिल्मका प्रमुख पात्र राज्य पक्षका (सैनिक) छन् र कथा पनि उनकै लेन्सबाट भनेजस्तो लाग्छ। प्रमुख पात्रले नै गाउँलाई माओवादीको चंगुलबाट जोगाएको देखाइएको छ। फिल्मको अर्को मुल समस्या के हो भने प्रमुख पात्र (प्रोटागोनिस्ट) रहेका रोनित सरको लक्ष्य नै स्पष्ट छैन। सेनाको सुराकी या बदला लिन? कथा चौतर्फी अल्मलिँदा यो पनि अस्पष्ट भएको छ। 

प्रमुख पात्रले गाउँ आउनबाहेक आफ्नो लक्ष्य प्राप्तिका लागि न कुनै संघर्ष गरेको देखिन्छ, न त्यसक्रममा केही गुमाउँछन् नै। गाउँमा एक्लै बसिरहेकी महिला रुक्की (दिया मास्के)सँगको उनको सम्बन्ध पनि राम्रोसँग स्थापित छैन। बीचमा कथा यसरी बतासिन्छ कि दर्शकले वन विवाद र फुटबल प्रतियोगिताको घोषणा नै बिर्सिन्छन्। यस्तो लाग्छ, यो फिल्म भोजपुरकै दुर्गम गाउँ नपुगेर जुनसुकै गाउँमा खिचे पनि केही फरक पर्थेन। न 'क्लाइमेक्स'का निमित्त फुटबल प्रतियोगिता नै आवश्यक देखिन्छ। 


सर्वसाधारणमाथि भाटे कारबाहीको दृश्य, केटाहरुको केस काट्दिने दृश्य, रुक्कीको पसलबाट रक्सी फ्याक्दिने दृश्य, राज्य पक्षीय गाउँ अध्यक्षलाई गाउँबाट नङ्ग्याएर लखेट्ने दृश्य सबैले द्वन्द्वताका माओवादीले दिएको दोख सम्झाउँछ। तर, सेना पक्षीय प्रमुख पात्रलाई जसरी भलाद्मी, दयालु र महिलाप्रति  संवेदनशिल देखाइएको छ, त्यसले निर्देशकको द्वन्द्वप्रतिको एकपक्षीय दृष्टिकोण झल्काउँछ।

बरु प्रश्न उठ्छ- द्वन्द्वकालको समय माओवादी त्यति मुर्ख थियो कि त्यति सहजै गाउँमा फुटबल प्रतियोगिता आयोजना गर्थ्यो? अनि राज्य पक्ष यति गैरजिम्मेवार थियो कि आम फुटबल प्रतियोगिता भइरहेकै ठाउँमा अन्धाधुन्द आक्रमण गर्थ्यो? पक्कै पनि युद्धका बेला यति कमजोर रणनिती दुवै पक्षले बनाएका थिएनन्। त्यसैले पनि 'क्लाइमेक्स' स्वाभाविक लाग्दैन। न पूर्वानुमानभन्दा फरक नै हुन्छ। सिनेमाको अन्त्यमा दर्शक कथाप्रति कौतहुल हुँदैनन्। प्रमुख पात्र सुराकी हुन् भन्‍ने माओवादीले थाहा पाएपछि कथाको द्वन्द्व जुन उत्कर्षमा पुग्‍नुपर्थ्यो, त्यो पनि सहजै टरिदिँदा दर्शक फिस्स हुन्छन्। 

यद्यपि द्वन्द्वका बेला माओवादीबाट प्रताडित भएका मान्छेहरुलाई यो सिनेमाले छुन सक्छ। पाहुनालाई त्यतिबेला नयाँ ठाउँमा पुग्‍न कति सकस थियो, फिल्मले त्यो देखाएको छ। सर्वसाधारणमाथि भाटे कारबाहीको दृश्य, केटाहरुको केस काट्दिने दृश्य, रुक्कीको पसलबाट रक्सी फ्याक्दिने दृश्य, राज्य पक्षीय गाउँ अध्यक्षलाई गाउँबाट नङ्ग्याएर लखेट्ने दृश्य सबैले द्वन्द्वताका माओवादीले दिएको दोख सम्झाउँछ। तर, सेना पक्षीय प्रमुख पात्रलाई जसरी भलाद्मी, दयालु र महिलाप्रति  संवेदनशिल देखाइएको छ, त्यसले निर्देशकको द्वन्द्वप्रतिको एकपक्षीय दृष्टिकोण झल्काउँछ। 

कथामा यो स्तरको कमजोरी हुँदाहुँदै पनि यो फिल्मलाई किन बिर्सन मिल्दैन भने यो फिल्मको अभिनय र प्राविधिक पाटो स्मरणयोग्य छन्। रंगकर्मीका रुपमा परिचित अनुप बराल अभिनयका गुरु पनि हुन्। र, उनले आफ्नो यो क्षमता सिनेमामा सावित पनि गरेका छन्। सबै प्रमुख कलाकारहरुको अभिनय सिनेमामा जीवन्त छ।

पात्रे बुढाको भूमिकामा लोकमणी सापकोटा अद्भुत लाग्छन्। माओवादी कमाण्डरको भूमिका निभाएका सुरज मल्लको पात्र यति ‘ह्युमरस’ छ कि फिल्म सक्किएपछि पनि उनी दर्शकको दिमागमा बसिरहन्छन्। रहस्यमयी पात्रका रुपमा मनिष निरौला पनि गज्जब लाग्छन्। श्रीमान् परदेश हुँदा गाउँमा छोरीसहित त्रासको जीवन बाँचिरहेकी रुक्कीको भूमिकामा दिया मास्के उस्तै मौलिक लाग्छिन्। 

धेरैलाई थाहा नहुनसक्छ, निर्देशक बराल चित्र कोर्नमा खुब रुची राख्छन्। राम्रो चित्र कोर्छन्। यो सिनेमामा पनि उनको त्यो विशेषता झल्किन्छ। सिनेमाको कथाभन्दा बढी ध्यान उनले क्यामेराको कलात्मक प्रयोगमा दिएको प्रष्टै देखिन्छ। फ्रेममा उनले यति सुन्दर दृश्यहरुको सिर्जना गरेका छन् कि फिल्म हेर्दै गर्दा सुन्दर चित्रहरुको क्यानाभास जस्तो लाग्छ। कतै कतै त आर्ट ग्यालरीमै घोत्लिरहेको महसुस हुन्छ। चाहे त्यो राँके जुलुसको दृश्य होस्, अस्ताउँदो घामका बीच छायाँमा देखाइएका पात्रहरु हुन् या बर्दिधारी सेनालाई गोठबाट नियालिरहेकी बच्चाको। 

एक दृश्यमा रुक्कुको भूमिका निभाएकी दियाले ऐना हेर्दै मेकअप गरिरहेकी हुन्छिन्। आधा चर्किएको त्यो ऐनामा आधा अनुहार देखाइन्छ। यसबाट निर्देशकले जसरी उनको चर्किएको र बिथोलिएको जीवन प्रतिबिम्बित गरेका छन्, त्यो सिनेमाभरकै एउटा सानदार दृश्य लाग्छ। त्यस्तै अर्को एक दृश्यमा रुक्कु र रोनितलाई अवैध यौन सम्बन्धको आरोपमा जसरी सबै गाउँलेहरुका बीच माओवादीले भाटे कारबाही गर्छ, त्यो उस्तै कारुणिक लाग्छ। 

सिनेमामा कतिपय ठाउँ क्यामेराको लेन्स साँघुरो बनाइएको छ। द्वन्द्वकालीन समयमा त्राससहित बाँचिरहेका मान्छेहरुको आवाज कसरी आफूभित्रै साँघुरिएर दबिएको थियो, निर्देशकले त्यसलाई उनीहरुकै परिस्थिती र मनोदशाअनुसार फ्रेममा मुखरित गरेका छन्।  

फिल्ममा भोजपुरको एउटा गाँउको कथा छ। तर, तपाईंले पूरा भोजपुरको सौन्दर्यलाई ल्यान्डस्केपमा देख्‍न पाउनुहुन्‍न। यसबाट द्वन्द्वकालीन त्यो समय आफैँमा सुन्दर थिएन, मानिसहरु त्रास र छटपटीमा बाँचिरहेका थिए, निर्देशकले यही देखाउन खोजेका छन्। उनले जति वाइड सटहरु लिएका छन्, त्यो पनि पात्रहरुको आँखाबाट खिचेका छन्, पात्रहरुकै नजिक पुगेर। त्यसैले क्यामेराका लागि निर्देशकलाई सम्झिरहँदा सिनेमाटोग्राफर शैलेन्द्र डि. कार्की र हरि लामालाई बिर्सन मिल्दैन। सिनेमामा ध्वनी र प्रकाशको प्रयोग पनि पात्रको उतारचढाव र मनस्थिती अनुसार नै मुखरित छ। 

निर्देशक बरालले यो सिनेमालाई ‘फउल प्ले’ भनेका छन्। फुटबलमा खेलको नियमविपरीत खेलेपछि त्यो ‘फउल’ हुन्छ। यहाँ निर्देशकले द्वन्द्वकालमा माओवादीले क्रान्तिको नाममा जनतासँग गरेको ‘फउल’ देखाउन खोजेका छन्। तर, बिर्सेका छन्- राज्य पक्षले गरेको ‘फउल’, जुन कम दर्दनाक थिएन। 


प्रकाशित: Jul 13, 2022| 19:02 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।