काठमाडौं- हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती (एक्वायर) गर्ने भएको छ। बुधबार दुई बैंकबीच प्राप्ती सम्झौतामा हस्ताक्षर भएको छ।
मर्जर सम्झौतामा हिमालयन बैंकको तर्फबाट अध्यक्ष प्रचण्डमान श्रेष्ठ र सिभिल बैंकको तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका छन्। प्राप्तीपछि १०० कित्ता सिभिल बैंकको सेयर हुनेले ८१ कित्ता हिमालयन बैंकको सेयर पाउनेछन्।
करिब डेढ वर्षपछिको प्रयासपछि हिमालयन बैंक र सिभिल बैंकबीच प्राप्ती सम्झौता भएको हो। यसअघि दुई पटक अनौपचारिक सहमति भएपनि मर्जर सम्झौता सम्म नपुग्दै भाँडिएको थियो।
प्राप्तीपछि सिभिलका सिइओ सुनील पोखरेललाई डेपुटी सिइओ दिन हिमालयनले इन्कार गरेको थियो। तर पछि पुनः सो कुरामा हिमालयन सहमत भएको छ। मर्जरपछि बैंकको नाम हिमालयन, संचालक समिति र सिइओ पनि हिमालयन बैंककै रहनेगरी प्राप्तीको सहमति भएको हो।
हिमालयनले स्वाप रेस्यो पनि डीडीएपछि मात्रै तय गर्ने बताएपछि सिभिल बैंक पछि हटेको थियो। अहिले कर्मचारीको सम्मानजनक समायोजन र डीडीएमा पनि लिखित सम्झौता गर्न हिमालयन बैंक तयार भएपछि दुवै बैंक प्राप्तीका लागि सहमत भएका हुन्।
यसअघि हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरमा जाने प्रस्ताव साधारणसभाबाट अस्वीकार गरेको थियो।