काठमाडौं– नागरिक लगानी कोषद्वारा सञ्चालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ। साउन १ गतेदेखि लागु हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ।
यसअघि कोषले यसै कार्यक्रमका ३ लाख भन्दा बढी सहभागीहरुलाई २०७७ असारको नाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो। त्यसै गरी कोषद्वारा सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको छ। यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिनेछ । उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीहरुको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भए पछी जम्मा गरिने व्यवस्था मिलाइएको छ।
कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको शिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफल राख्ने व्यवस्था कोषले गरेको छ । यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैयाँ र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैयाँ गरी ५१ करोड १२ लाख रुपैँया प्रदान गर्नुपर्ने हुन आउँछ ।