जनकपुरधाम- संघीय समाजवादी फोरम नेपालका प्रदेश २ का सचिव शेषनारायण यादवले आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गरेका छन्। राजनीतिबाट प्रेरित भएर भ्रष्टाचार गरेको भन्दै विपक्षीहरुले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको उनको भनाइ छ।
धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा गरिबी निवारण कोष अन्तर्गत सञ्चालन भइरहेको कार्यक्रमका लागि प्राप्त अनुदानको रकम यादवले हिनामिना गरेको स्थानीयहरुले आरोप लगाएका थिए।
गत शनिबार लक्ष्मिनियाँ गाउँपालिका-३ अगिलेसबाका स्थानीयहरुले पत्रकार सम्मेलन गरेर सचिव यादवको ‘प्राडाप्स’ नामक गैरसरकारी संस्थामार्फत प्राप्त अनुदानको रकम हिनामिना भएको आरोप लगाएका थिए। उनीहरुले ‘प्राडाप्स’ का अध्यक्ष समेत रहेका सचिव यादवले १७ करोड भन्दा बढी रकम हिनामिना गरेको दाबी गरेका छन्।
तर सचिव यादवले भने आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दोहोर्याइरहेका छन्। यादवले पनि सोहि ठाउँमा आइतबार पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत भ्रष्टाचार ठहर नगरेको बताए।
सचिव यादवले गरिबी निवारण कोषबाट अनुदान स्वरुप १ करोड ५९ लाख ५० हजार १८० रुपैयाँ अनुदान रकम प्राप्त भएको र घुम्तिकोष, लगानीसहित हालसम्म २ करोड १२ लाख ७ हजार २ सय ७१ रुपैयाँमात्र आफ्नो संस्थामा रहेको जानकारी दिए।
मौज्दातभन्दा बढी रकम कसरी हिनामिना भयो उनको प्रश्न थियो । सोहि गाउँपालिकाका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवले आफूलाई बदनाम गराउन षडयन्त्र गरेको फोरम सचिव यादवको आरोप छ।
पत्रकार सम्मेलनमै पुगेका गरिबी निवारण कोषका कार्यप्रबन्धक रामआधार यादवले आफूहरुले अनुगमनगर्दा रकम हिनामिना भएको नपाइएको दाबी गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४