मंगलबार, चैत ३, २०८२

बुटवल कोरोनाको पूर्णखोप सुनिश्चित घोषणा

सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

रुपन्देही- बुटवल उपमहानगरपालिकालाई कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर घोषणा गरिएको छ। बुटवलमा सोमबार आयोजित कार्यक्रममा १२ वर्षमाथिका उमेर समूहको कोभिड–१९ विरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता घोषणा गरिएको हो। 

National life

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको बताए। उनले कोभिड–१९ महामारी नियन्त्रणमा स्थानीय सरकारको भूमिका प्रंशसनीय रहेको जनाउँदै आगामी दिनमा प्रदेश सरकारले स्वास्थ्यका अधिकांश कार्यक्रम स्थानीय सरकारसँग सहकार्यमै सञ्चालन गर्ने बताए।

कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजीत थारूले आगामी समयमा हुनसक्ने स्वास्थ्य चुनौतीको सामना गर्नका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई पूर्णखोप सुनिश्चित गर्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्णखोप सुनिश्चित घोषणा गरेको जानकारी गराए।

उनले तथ्याङ्क सङ्कलकलाई अभिमुखीकरण गरी खोप नलगाउने तथा छुट नागरिकको तथ्याङ्क सङ्कलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रचार–प्रसार, छुट नागरिकलाई खोप सेवा प्रदान, वडाबाट ‘रेण्डम’ सर्वेक्षण, सबै वडाको पूर्णखोप घोषणा गरी दिगोपना सुनिश्चित गरिएको बताए।

Laxmi sunrise bank
kumari

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले बुटवलभित्र र बुटवल बाहिरका नागरिकलाई समेत कोभिडकालमा सेवा प्रदान गरेको बताए। उनले बुटवलमा खोप सुनिश्चित भएको र खोप लगाउन बाँकी रहेकालाई खोप लिन आह्वान गरे।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले उपमहानगरपालिकालाई पूर्णखोप घोषणा गर्नका लागि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसन तथा अनुमति प्रदान गर्न पालिकाबाट सिफारिस, जिल्ला खोप समन्वय समितिबाट भेरिफिकेसन गरी पूर्णखोप गर्न अनुमति प्रदान भएको जानकारी गराएका छन्।

उनले बुटवलमा रहेका एक लाख ९५ हजार ५६५ मध्ये १२ वर्षमाथि पूर्णखोप लगाएका एक लाख ५७ हजार ३९३ जनालाई खोप लगाइएको जानकारी दिए। उनले नौ हजार ८६५ जनालाई खोजेर र नगर बाहिरका २२ हजार ६६३ जनालाई खोप लगाइएको जानकारी दिए।

कार्यक्रममा कोभिड–१९ नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकासँग सहकार्य गर्ने प्रदेशको स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय, सामाजिक तथा गैरसरकारी सङ्घसंस्था, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, उपमहानगरपालिकाका कर्मचारीलाई सम्मान गरिएको थियो। -रासस

प्रकाशित: Jul 12, 2022| 08:56 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्