सिन्धुली- सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर-१४ चन्दनपुरमा पूर्वमन्त्री कृपाशुर शेर्पासहित एमाले नेता सवार गाडी दुर्घटना भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्, जसमध्ये ३ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
काठमाडौंबाट प्रदेश १ को सुनसरीका लागि छुटेको बा २ च ९००३ नम्बरको ल्यान्ड क्रुजर मदन भण्डारी सडक खण्डमा अनियन्त्रित भइ दुर्घटना भएको हो। गाडी दुर्घटनामा घाइतेमध्ये ४ जनालाई हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टर पठाइएको सिन्धुली प्रहरीका एसपी विमलराज कँडेलले जानकारी दिएका छन्।
दुर्घटनामा एमाले पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री शेर्पा, पेम्बा गुरुङ, देवराज राई, गणेश थापा घाइते भएका छन्। घाइतेमध्ये पेम्बा गुरुङ, देवराज राई र गणेश थापाको अवस्था गम्भीर रहेको एसपी कँडेलले जनाए।
उनीहरु नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको विस्तारित बैठकमा जाने क्रममा दुर्घटना भएको हो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।