टोकियो- एक राजनीतिक अभियानलाई सम्बोधन गर्ने क्रममा गोली लागेर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको शुक्रबार निधन भएको छ। दक्षिणी सहर नारामा शुक्रबार बिहान सम्बोधन गर्ने क्रममा उनलाई दुई राउण्ड गोली हानिएको थियो।
उनलाई तत्कालै अस्पताल लगिए पनि अत्यधिक रक्तश्राव भइसकेका कारण बचाउन नसकिएको चिकित्सकले जानकारी गराएका थिए। घटनास्थलमा भएका सुरक्षाकर्मीहरुले तत्कालै गोली हान्ने ४१ वर्षीय तेत्सुया यामागामीलाई नियन्त्रणका लिएका थिए। जापानको सबैभन्दा लामो समय ९ वर्ष शासन गर्ने प्रधानमन्त्री आबेको घाँटी र गर्धनमा गोली लागेको थियो। उनको घाउ गहिरो भएका कारण अत्यधिक रक्तश्राव भएको चिकित्सकहरुले बताएका छन्।
उनको निधनप्रति दु:ख व्यक्त गर्दै जापानका प्रधानमन्त्री फुमियो किशिदाले 'लोकतन्त्रको आधारस्तम्भ' माथिको आक्रमण भएको बताएका छन्। उनले यसलाई बर्बरतापूर्ण आक्रमणको संज्ञा दिएका छन्। उनले भने, 'यो माफ गर्न नसकिने अपराध हो। यसका लागि निन्दा गर्न प्रयोग गरिने सबैभन्दा कडा शब्द प्रयोग गर्न चाहन्छु।'
यो आक्रमण जापानको राजनीतिक इतिहासमै सबैभन्दा त्रासदीपूर्ण आक्रमण भएको पनि जनाइएको छ। निकै कम हिंसात्मक घटना हुने र बन्दुकसम्बन्धी कडा कानुन भएको जापानमा पूर्वप्रधानमन्त्री माथि नै भएको गोली प्रहार गम्भीर विषय भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
को हुन् गोली हान्ने?
पूर्वप्रधानमन्त्री आबेलाई ४१ वर्षीय यामागामीले गोली प्रहार गरेका थिए। उनी पूर्व नेभी भेट्रान हुन्। घरमा नै बनाइएको बन्दुक प्रयोग गरेर गोली हानेका उनलाई घटनास्थलबाट नै पक्राउ गरिएको थियो। प्रहरीका अनुसार उनले आफ्नो अपराध स्वीकार गरिसकेका छन्। पूर्वप्रधानमन्त्री आबेसँग 'असन्तुष्ट' भएका कारण मार्न चाहेको गामागामीले बयान दिएको पनि बताइएको छ।
उनले आबेको पछाडिबाट गोली हानेर भाग्न खोजेका थिए। भाग्नेक्रममा नै सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएको हो। उनले आबेलाई १० फिटको दूरीबाट गोली प्रहार गरेको सुरक्षाकर्मीले बताएका छन्। उनलाई नारा निशी प्रहरी चौकीका राखेर थप अनुसन्धान भइरहेको छ।
आबेको अन्त्य
पूर्व विदेशमन्त्री सिन्तारो आबेका छोरा तथा पूर्वप्रधानमन्त्री नोबुसुके किसि आबेका नाति सिन्जो आबेको लिगेसी जापानमा अन्त्य भएको छ। उनी पहिलो पटक सन् १९९३ मा सांसद बनेका आबे सन् २००५ मा मन्त्री बनेका थिए। तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले उनलाई मन्त्रिमण्डलमा नियुक्त गरेका थिए।
सन् २००६ मा उनी जापानमा युद्धकालपछिको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनेका थिए। उनको सन् २००६ मा केही आलोचना भए पनि सन् २०१२ मा भने उनले राजनीतिमा आश्चर्यजनक कमब्याक गरेका थिए। उनले लिएका कैयौं नीतिका कारण उनी सन् २००६ मा आलोचित भएका थिए। उनको पार्टी सन् २००७ मा पराजित पनि भयो। तर, सन् २०१२ मा भने उनको उदयले नयाँ उर्जा सञ्चार गर्यो। सन् २०१४ देखि २०१७ सम्मका लागि उनी पुन: निर्वाचित पनि भएका थिए।
जापानको 'हकिस' विदेश नीतिबाट चर्चित भएका आबेले जापानको अर्थतन्त्रमा बृहत् परिवर्तन ल्याउने रणनीति ल्याएका थिए, जसलाई 'आबेनोमिक्स' को संज्ञा दिइएको थियो। लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व तहमा पुगेका थिए उनी।
- बीबीसीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा