जनकपुरधाम - संसद बैठक चलिरहेको अवस्थामा पोशाकधारी सुरक्षाकर्मी प्रवेश गर्दैनन्। संसद भवन भित्र सुरक्षा व्यवस्था कायम गर्न मर्यादापालक खटाइएका हुन्छन्। मर्यादापालक सुरक्षाकर्मी नै भएपनि उनीहरुको पोशाक नियमित लगाउने पोशाक भन्दा छुट्टै हुन्छ।
तर, प्रदेश २ को प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सुरक्षागार्ड पोशाकमै प्रदेशसभा बैठक भित्र प्रवेश गरेका छन्। प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गरिरहँदा नेपाली सेनाका उनका सुरक्षागार्ड रोस्टम छेउमै बसिरहे।
अन्य बैठक तथा कार्यक्रमहरुमा सरकार प्रमुखको निजी सुरक्षागार्ड प्रवेश गरेपनि संसदको बैठकमा प्रवेश गरेको अहिलेसम्म देखिएको छैन्। सुरक्षागार्ड प्रवेशसम्बन्धमा कुनै नियम कानून नभएपनि संसदीय प्रणालीमा यस्तो अभ्यास देखिएको छैन्।
संघीय संसदको बैठक हुँदासमेत सभाकक्षभित्र प्रधानमन्त्रीका निजी सुरक्षागार्ड प्रवेश गरेको पाइँदैन्। प्रदेशसभा बैठकको क्रममा निजी सुरक्षागार्ड पोशाकमै प्रवेश गर्नु संसदीय मर्यादा विपरित रहेको जानकारहरु बताउँछन्।
‘यस विषयमा नियम कानून नहुन पनि सक्दछ। संसदको धेरै कुरा मर्यादा, प्रचलन र संस्कार अनुसार चलेको हुन्छ,’ संसदीय रिर्पोटिङका जानकार एकजना पत्रकारले भने,‘बैठक चलि रहेकोबेला हतियार बोकेर वा पोशाकमा सुरक्षाकर्मी प्रवेश गर्ने प्रचलन छैन्।’ नेपालको संसदीय इतिहासमा अहिलेसम्म पोशाक लगाएरै सुरक्षागार्ड प्रवेश गरेको पहिलो घटना हुन सक्ने उनको भनाइ छ।
दुई वर्ष अघि तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले संसदमा बजेट प्रस्तुतगर्नु पूर्व प्रमुख प्रतिपक्षी दल माओवादीका सांसदहरुले विरोध गरेका थिए। र, अर्थमन्त्री पाण्डेसँग रहेको ब्रिफकेस खोस्न हंगामा नै मच्चाएका थिए । त्यसअवस्थामासमेत पोशाक लगाएका सुरक्षाकर्मीहरु संसद भवनभित्र प्रवेश गरेका थिएनन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४