जनकपुर- प्रधानमन्त्री केपी ओलीले नेपालमा लागू भएको संघीयतालार्इ नयाँ जुत्तासँग तुलना गरेका छन्। प्रदेश-२ को प्रदेशसभा बैठकलार्इ शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता नयाँ अभ्यास भएकाले केही समस्या आउन सक्ने बताए।
उनले संघीयतालार्इ नयाँ जुत्तासँग तुलना गर्दै भने, ‘नयाँ जुत्ता दामी नै भए पनि, राम्रो नै भए पनि पुरानोजस्तो खुट्टामा मिलेको हुँदैन। पहिलो दिन त दुख्छ। तर, १/२ दिन लगाएपछि मिल्छ। संघीयताले झण्झट महशुस पनि हुनसक्छ तर यसलाई समझदारीपूर्ण ढंगले टुंग्याउन सकिन्छ ।’
प्रधानमन्त्री ओलीले प्रदेश-२ मा देखाउन भ एपनि विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, 'नेपालबाट भारतको कोलकाता जाने पानीजहाज प्रदेश-२ बाट चल्छ।' प्रधानमन्त्री ओलीले नेपालका तीन नदीबाट पानीजहाज चाँडै शुरु हुने बताए।
प्रदेश-२ का जनताले भदौभित्रै जन्मसिद्ध नागरिकका आधारमा हरेक नागरिकता पाउने बताए। भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपाल डुबाउन नमिल्नेसमेत बताए। उनले आफू तरार्इ-मधेशका जनताको विकास र हकहितका लागि प्रतिबद्ध रहेकोसमेत दोहोर्याए।
राजपाका दुर्इ मन्त्री मात्र उपस्थित
प्रदेश सभामा राष्ट्रिय जनता पार्टीका दुर्इ जना मन्त्री मात्रै उपस्थित थिए। राजपाका सांसद रामेश्वर साह, मनिष सुमन, अभिराम शर्मा, सुरेश मण्डललगायत सांसद बैठकमा उपस्थित नै भएनन् भने उपेन्द्र महतो, विशेश्वरप्रसाद यादव र गौरीनारायण साहले बैठक शुरु हुनेबित्तिकै बहिस्कार गरेर प्रदेश सभाबाट बाहिरिएका थिए।
प्रधानमन्त्री ओलीले मधेश आन्दोलनका क्रममा मधेशविरोधी अभिव्यक्ति दिएको भन्दै राजपाका सांसदले बहिष्कार गरेका हुन्। यसअघि प्रधानमन्त्रीलार्इ कालो झण्डा देखाउने तयारीमा रहेका नौ युवालार्इ प्रहरीले पक्राउ गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४