जनकपुर-राजपाका महासचिव समेत रहेका प्रदेश २ का प्रदेशसभा सांसद मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रदेशसभा बैठक बहिष्कार गरेको बताएका छन् ।
नेपाल समयसँगको कुराकानीमा सुमनले प्रधानमन्त्रीले संविधान संशोधनका लागि समयसीमा नतोकेको, मधेश आन्दोलनका समयमा दिएको अभिव्यक्तिप्रति मधेशका जनतासँग माफी नमागेकाले ओलीको प्रदेशसभा सम्बोधनलाई आफुहरुले बहिष्कार गरेको बताए ।
‘प्रधानमन्त्रीले संविधान संशोधन गर्ने आश्वासन दिएपनि संशोधनको समयसीमा तोकिएको छैन् । मधेश आन्दोलनका बेला अहिलेका प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओलीले गरेको टिप्पणीलाई हामीले गम्भिर रुपमा लिएका छौं, त्यसमा उहाँले क्षमा माग्नुपर्छ,’ प्रदेशसभा सांसद सुमनले भने, ‘प्रधानमन्त्रीलाई प्रदेशसभामा सम्बोधन गर्न बोलाएर मुख्य मन्त्रीले गल्ती गर्नुभएको छ । हामी प्रधानमन्त्रीको भाषणको साक्षी बन्दैनौं ।’
उनले पार्टीले प्रदेशसभा बैठक बहिष्कार गर्ने औपचारिक निर्णय नगरेको भन्दै प्रदेशसभाका सांसदहरुले स्वतस्फूर्त रुपमा विरोध गरेको बताए । सुमनले अहिलेनै प्रदेशसभा बहिष्कार गरेको घोषणा गरेपनि अन्य केही सांसदहरुले भने प्रधानमन्त्रीको सम्बोधनका क्रममा विरोध प्रदर्शन गरेर बैठक बहिष्कार गर्ने योजना बनाएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४