आइतबार, जेठ ६, २०८१

'मर्जर किङ' बन्दै चन्द्र ढकाल

२४ वटा बैंक तथा वित्तीय संस्थालाई समाहित गरेर ग्लोबल आइएमईलाई नेपालकै सबैभन्दा ठूलो र शक्तिशाली वाणिज्य बैंक बनाउने ढकालको महत्त्वाकांक्षाले मूर्त रूप लिँदै छ।
 |  मंगलबार, असार २१, २०७९

शर्मिला ठकुरी

शर्मिला ठकुरी

मंगलबार, असार २१, २०७९

काठमाडौं– ग्लोबल आइएमई बैक र बैंक अफ काठमाण्डूबीच असार २ गते मर्जर सम्झौता भयो। लगत्तै नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइहाल्यो। यो ग्लोबल आइएमई बैंकसँग मर्ज भएको पाँचौं वाणिज्य बैंक हो। 

triton college

आइएमई फाइनान्सियल इन्स्टिच्युसनका अध्यक्ष बनेर संस्था हाँकिरहेका रेमिट कारोबारी चन्द्र ढकाललाई वाणिज्य बैंकको अध्यक्ष बन्ने भोक जाग्यो। तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था धेरै भएकाले संस्थाहरू डुब्न लागेपछि लाइसेन्स दिनै बन्द गर्यो। 

तत्कालीन समय गभर्नरका रूपमा डा. युवराज खतिवडा थिए। उनले नयाँ बैंक तथा वित्तीय संस्था खोल्न रोक मात्र लगाएनन्, धमाधम वित्तीय संस्थाहरूलाई समस्याग्रस्त घोषणै गरेर सुधार थाले। वित्तीय संस्थाहरू धेरै भएपछि अस्वस्थ प्रतिस्पर्धा भई वित्तीय अराजकता उत्पन्न भइपछि राष्ट्र बैंकले बैंकहरू स्वःस्फूर्त रूपमा मर्ज होउन् भन्ने उद्देश्यले  ‘बैंक तथा वित्तीय संस्था गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने विनियावली २०७८’, (जसलाई मर्जर नीति भन्ने बुझिन्छ) जारी गर्यो। 

त्यसपछि आइएमई फाइनान्सलाई नै वाणिज्य बैंक बनाउनेभन्दा पनि मर्जरतिर लागे, ढकाल। उनले आइएमई फाइनान्सलाई नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा खडा गर्ने महत्त्वाकांक्षा राखे र पूरा गर्नतर्फ अघि बढे। 

आइएमई फाइनान्सलाई वाणिज्य बैंकको रूपमा उभ्याउन उनले २०६९ असारमा ग्लोबल बैंकसँग मर्ज गरे। नाम पनि ग्लोबल आइएमई नै राख्न सफल भए। सामान्यतया ‘ग’ वर्गको फाइनान्स ‘क’ वर्गको वाणिज्य बैंकसँग मर्ज हुँदा फाइनान्सको नामोनिशानै मेटिन्छ तर ढकालले भने आइएमई फाइनान्सको नाम जोगाउन सफल भए। 

corrent noodles
Metro Mart

सो समय लर्ड बुद्ध फाइनान्स पनि ग्लोबल बैंकसँग मर्ज भएको थियो। ढकाल संस्थाको नाम मात्र हैन, आफू सञ्चालक समितिको अध्यक्षसमेत बने। 

‘क’ वर्गको वाणिज्य बैंक बन्ने सपना पूरा भएपछि देशकै सबैभन्दा ठूलो बैंक बनाउने महत्त्वाकांक्षा ढकालमा जाग्यो। सोही कारण उनी बैंक तथा वित्तिय संस्था मर्जर वा एक्वायर गर्नतर्फ लागे। राष्ट्र बैंकले मर्जर नीति ल्याएकाले एकातिर राज्यको मर्जर नीतिलाई पनि सपोर्ट हुने र अर्कोतिर ठूलो संस्थाको अध्यक्ष पनि बन्न पाइने भएपछि ढकालले ग्लोबल आइएमई बैंकमा बैंक तथा वित्तीय संस्थाहरू समाहित गर्न थाले। 

ग्लोबल आइएमई बैंक बनेपछि उनले २०७० असार ३० देखि एकीकृत कारोबार हुने गरी सोसल डेभलपमेन्ट बैंक र गौमुखी विकास बैंकलाई एक्वायर गरे भने २०७० चैतदेखि कारोबार हुने गरी ‘क’ वर्गको कमर्ज एन्ड ट्रस्ट बैंकसँग मर्ज गरे। 

२४ वटा बैंक तथा वित्तीय संस्थालाई समाहित गरेर ग्लोबल आइएमईलाई नेपालकै सबैभन्दा ठूलो र शक्तिशाली वाणिज्य बैंक बनाउने ढकालको महत्त्वाकांक्षाले मूर्त रूप लिँदै छ।

त्यस्तै, २०७३ फागुन १ गतेबाट एकीकृत कारोबार हुने गरी ग्लोबल आइएमई बैंकले प्यासिफिक डेभलपमेन्ट बैंकलाई मर्ज गर्यो भने २०७४ असारदेखि कारोबार हुने गरी रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गर्यो। रिलायवलमा त्यसअघि नै शुभलक्ष्मी फाइनन्स र नेपाल कन्जुमर डेभलपमेन्ट बैंक मर्ज भइसकेका थिए। उनीहरूले २०७१ वैशाखदेखि एकीकृत कारोबार गरिसकेका थिए। 

२०७६ मंसिर २० मा ‘क’ वर्गको जनता बैंकलाई ग्लोबल आइएमई बैंकले मर्ज गरेर आफूमा समाहित गर्यो। जनतामा पहिले नै त्रिवेणी विकास बैंक र सिद्धार्थ विकास बैंक मर्ज भइसकेका थिए। त्रिवेणी जनतामा मिल्नुअघि पब्लिक डेभलपमेन्ट बैंक र ब्राइट डेभलपमेन्ट बैंकलाई मर्ज गरिसकेको थियो। सिद्धार्थ विकास बैंकले नेपाल आवास कम्पनी र एकता विकास बैंकलाई आफूमा समाहित गरिसकेको थियो। 

२०७९ असार २ गते बैंक अफ काठमाण्डूसँग ग्लोबल आइएमई बैंकले मर्जरमा जाने सम्झौता गरिसकेको छ। त्यसअघि नै बैंक अफ काठमाण्डूमा २०७३ असार ३० गते लुम्बिनी बैंकसँग मर्ज भएको थियो। लुम्बिनी बैंकमा २०७१ मै नवदुर्गा फाइनान्स मर्ज भएको थियो।

हाल ग्लोबल आइएमई बैंक अझै पनि मर्जका लागि ‘क’ वर्गका वाणिज्य बैंकको खोजीमा रहेको छ। पछिल्लो समय प्राइम बैंकसँग कुरा अगाडि बढाइरहेको ग्लोबल आइएमई बैंकका एक सञ्चालकले बताए। 

उनले भने, ‘ढकालजीमा ग्लोबल आइएमईलाई नेपालकै सबैभन्दा ठूलो र शक्तिशाली वाणिज्य बैंक बनाउने महत्त्वाकांक्षा छ, जुन पूरा हुँदै गएको छ।’

ढकालले बैंक तथा वित्तीय संस्था मर्ज गरेर ग्लोबल आइएमई बैंकलाई ठूलो बनाए पनि कुशल नेतृत्व नभए समस्या थप बल्झिने र चुनौती पनि सोहीअनुसारका हुने बैंकरहरूको बुझाइ छ।

अनौपचारिक छलफलमा ढकाललाई बैंकरहरू ‘मर्जर किङ’ भन्ने गर्छन्। ‘हामीले उहाँलाई ‘मर्जर किङ’ कै उपमा दिएका छौं,’ पूर्वबैंकर भुवन दाहाल भन्छन्, ‘धेरै बैंक तथा वित्तीय संस्थाहरू आफूमा समाहित गर्दा त्यसको असर कस्तो परिरहेको छ भन्ने आफ्नो ठाउँमा होला तर अहिलेलाई ग्लोबल आइएमई बैंकले धेरैभन्दा धेरै संस्थाहरूसँग मर्ज भएर कीर्तिमान भने कायम राखेको छ।’

उनका अनुसार ग्लोबल आइएमर्ई बैंकलाई कस्तो बनाउने भन्नेबारे नेतृत्वमा भर पर्नेछ। अर्का बैंकर अनिल केशरी शाह भने संस्था ठूलो हुँदैमा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी नहुने तर्क राख्छन्। उनी भन्छन्, ‘एक–दुईटा संस्थासँग मर्ज हुँदा त समस्या उत्पन्न हुन्छ, ग्लोबल आइएमई बैंकमा झन्डै २२–२४ वटा संस्थाहरू मर्ज भएका छन्। मर्ज भनेको कागजमा, कम्पनी रजिस्ट्रारको कार्यालयमा र नेप्सेमा एकै कम्पनीको नाममा सूचीकृत हुनु मात्र होइन, सबैभन्दा ठूलो कुरा कर्मचारीको काम गर्ने तरिका, तिनको व्यवहार, रिस्क लिन सक्ने क्षमता आदिमा भर पर्दछ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका बैंकर एवं व्यवसायी चन्द्र ढकाल।
सबै कुरा नेतृत्वमा भर पर्ने बैंकरद्वय शाह र दाहाल बताउँछन्। सीईओ र व्यवस्थापन टिमले राम्रो काम गर्न नसके संस्था राम्रोसँग चल्न नसक्ने दुवैको दाबी छ। बैंकर शाह ग्लोबल आइएमई बैंकले अहिले गरेको प्रगति सर्ट टमको भएको दाबी गर्दै समस्या विस्तारै सुरु हुने बताउँछन्। 

उनले भने, ‘मर्ज भनेको विवाहजस्तै हो। विवाह भएको एक–दुई वर्ष त राम्रो हुन्छ तर जब बच्चा जन्मिन्छ, तब सुरु हुन्छ असली समस्या। सर्ट टममा सेयर मूल्य धेरै भए पनि त्यसले दिगो प्रतिफल दिन सक्दैन–यदि व्यवस्थापन राम्रो भएन भने।’

ढकालले बैंक तथा वित्तीय संस्था मर्ज गरेर ठूलो बनाए पनि कुशल नेतृत्व नभए समस्या थप बल्झिने शाहको बुझाइ छ। त्यसैले ठूलो संस्था भएपछि चुनौती पनि सोहीअनुसारका हुने उनको भनाइ छ।’

ग्लोबल आइएमईसँग हाल २४ वटा बैंक तथा वित्तीय संस्था समाहित भएका छन्। यो बैंकसँग ३ वटा वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबार सुरु भइसकेको छ भने एउटा वाणिज्य बैंक (बैंक अफ काठमाण्डू, जोसँग लुम्बिनी बैंक पनि छ) मर्जर प्रक्रियामा छ। त्यस्तै, १३ वटा विकास बैंक ६ वटा फाइनान्स कम्पनी मर्ज भएका छन्। 

ग्लोबल आइएमई बैंकसँग मर्ज भएका बैंक तथा वित्तीय संस्था

वाणिज्य बैंक (५ वटा)

ग्लोबल बैंक

कमर्ज एन्ड ट्रस्ट बैंक

लुम्बिनी बैंक

जनता बैंक 

बैंक अफ काठमाण्डू

विकास बैंक (१२ वटा)

रिलायवल डेभलपमेन्ट बैंक 

प्यासिफिक डेभलपमेन्ट बैंक

त्रिवेणी विकास बैंक 

सिद्धार्थ डेभलपमेन्ट बैंक

सोसल डेभलपमेन्ट बैंक 

गौमुखी विकास बैंक

पब्लिक डेभलपमेन्ट बैंक

ब्राइट डेभलपमेन्ट बैंक

नेपाल कन्जुमर डेभलपमेन्ट बैंक

एकता विकास बैंक 

रेसुंगा विकास बैंक 

साइन डेभलपमेन्ट बैंक 

फाइनान्स कम्पनी (६ वटा) 

आइएमई फाइनान्स 

लर्ड बुद्ध फाइनान्स

नवदुर्गा फाइनान्स

शुभलक्ष्मी फाइनान्स 

रिलायवल फाइनान्स 

हाथवे फाइनान्स 

स्रोतः नेपाल राष्ट्र बैंक

प्रकाशित: Jul 05, 2022| 12:20 मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्