अछाम- अछामको पञ्चदेवल विनायक–४ का विनोद शाहीको मृत्यु प्रकरणमा न्याय माग गर्दै भएको प्रदर्शनका कारण सदरमुकाम तनावपूर्ण बनेको छ। शाहीलाई न्यायको माग गर्दै सोमबार आफन्त तथा स्थानीय सदरमुकाम मंगलसेन पुगेका थिए।
शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै कार्यालय र जिल्ला अदालत अछाममा उनीहरूले ढुंगामुढा प्रहार गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको अछाम प्रहरीले बताएको छ। ढुंगा प्रहारबाट प्रहरी हवल्दार र केही प्रहरी जवान घाइते भएको प्रहरीको भनाइ छ। अहिले पनि घटनास्थलमा शाही पक्षधरकाे ठूलाे संङ्ख्यामा रहेका छन्। यसपछि दोहोरो भिडन्तको स्थिति पैदा भएपछिस्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुई प्रहरी निरीक्षकसहित १२ जना प्रहरीलाई चोट लागेको छ। केही प्रर्दशनकारीहरू पनि घाइते भएको बताइएको छ।
गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए। उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो।
मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन्। किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्। उक्त मुद्दामा प्रहरीले मेयर चलाउनेसहित ७ जनालाई अदालतबाट २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ। बाँकीको पनि खोजीकार्य जारी रहेको प्रहरीले जनाएकाे छ।