काठमाडौं- लेबनान, सिरिया र अमेरिकाको १६ दिन लामो भ्रमण सकेर प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। आइतबार उनी स्वदेश फर्किएका उनलाई सोमबार नेपाली सेनाको एक टुकडीले सम्मान गारत समेत अर्पण गरेको छ।
द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न र संयुक्त राष्ट्रसंघीय मिसनहरूको योजनाबारे जानकारी हासिल गर्ने उनले लेबनान र सिरियाको भ्रमण गरेको सेनाको भनाइ छ।
असार ४ गतेदेखि नेपालबाट लेबनान प्रस्थान गरेका प्रधानसेनापति शर्मा असार १९ गते नेपाल फर्किएका हुन्।उनले असार ८ गतेसम्म लेवनानस्थित संयुक्त राष्ट्रसंघीय मिसनको भ्रमण गरेका थिए। असार ९ गतेसम्म सिरियास्थित मिसनको भ्रमण गरेका उनले अमेरिका भ्रमण पनि गरेका छन्।
संयुक्त राज्य अमेरिकाको औपचारिक निम्तोमा असार १३ गतेदेखि १७ गतेसम्म अमेरिकामा सेनापति शर्माले बिताएका हुन्। अमेरिका भ्रमणपछि नेपाल फर्किएका प्रधानसेनापति शर्मालाई असार २० गते जङ्गी अड्डामा सेनाले सम्मान गरेको छ।
भ्रमणले संयुक्त राष्ट्रसंघका मिसनको भावी योजना तर्जुमा गर्न सहयोग गर्नुका साथै अमेरिका र नेपालका सेनाबीचको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ।