शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • विनोद शाही मृत्यु प्रकरण : कांग्रेसकी मेयर हिरासतमा हुँदा एमाले सडकमा, प्रहरीले भेटेन कुनै 'क्लु'

Siddartha premir insuranceSiddartha premir insurance

विनोद शाही मृत्यु प्रकरण : कांग्रेसकी मेयर हिरासतमा हुँदा एमाले सडकमा, प्रहरीले भेटेन कुनै 'क्लु'

विनोदको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमती शाही, सोही गाउँका शिक्षक तथा मेयरका नजिक मानिएका नेत्रबहादुर शाही, उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका छन्।
 |  सोमबार, असार २०, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

सोमबार, असार २०, २०७९

काठमाडौं- अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का किशोर विनोद शाहीको शव फेला परेको एक महिना भयो। तर, प्रहरी हत्याराको नजिक पुग्न सकेको छैन।

triton college

१७ वर्षीय विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए। स्थानीय तह चुनावको विषयलाई लिएर कालिकास्थानमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरूबीच भएको थियो। झडपपछि उनी बेपत्ता भएको परिवारको आरोप छ।

त्यसपछि घटनाले राजनीतिक रूप लिएको थियो। मृतक युवा एमाले निकट भएको भन्दै एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताबाट शाहीको हत्या भएको आरोप लगाएका छन्।

विनोदको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमती शाही, सोही गाउँका शिक्षक तथा मेयरका नजिक मानिएका नेत्रबहादुर शाही, उनकी श्रीमती द्रोपती शाहीविरुद्ध किटानी जाहेरी दिएका थिए।

त्यस्तै, वडा नम्बर ४ का  कर्णबहादुर शाही, उनका छोरा राम शाही र बुहारी शान्ति शाही, छोराहरू महेन्द्र शाही र वीरेन्द्र शाही, पृथ्वी शाही र उनका भाइ अक्कल शाहीसहित १३ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो। 

Metro Mart
vianet

जिल्ला प्रहरी कार्यालय अछामले अहिलेसम्म ६ जनालाई पक्राउ गरेको छ। प्रहरी अनुसन्धानलाई सघाउने भन्दै मेयर चलाउने पनि सोमबार प्रहरीकोमा पुगेकी छन्। प्रहरीले उनीसहित सात जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ।

'हामी विभिन्न ढंगले अनुसन्धान गरिरहेका छौं। निर्दोष फस्दैनन्। किटानी जाहेरी परेपछि मेयर चलाउने आफैं प्रहरीसमक्ष आउनुभएको छ। उहाँले अनुसन्धानको प्रक्रियामा सघाइरहनु भएको छ। हामी निर्दोष नफस्नेगरी अनुसन्धान गरिरहेका छौं,' अछामका प्रहरी प्रमुख नारायण डाँगीले भने। उनले केही दिनमै घटनाको वास्तविकता बाहिर आउने बताए।

विभिन्न ढंगले अनुसन्धान गरिएको भन्दै उनले हत्यारा उम्किन नपाउने बताएका छन्। यसका साथै उनले मुद्दा सरकारी वकिलको कार्यालयमा पुगिसकेको बताए। आइतबार नै अछाम प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको बताइएको छ। 

हाल प्रहरी हिरासतमा रहेकी मेयर चलाउने नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री समेत हुन्। 

यस्तो थियो घटना

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो। विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेका थिए। त्यसपछि करिब तीन घण्टा मतदान अवरुद्ध बनेको थियो। पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरे। आफूहरूमाथि कुटपिट भएको भन्दै कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो। सोही क्रममा विनोद शाही बेपत्ता भएको परिवार र एमालेको दाबी छ।

त्यसपछि २१ गते पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ३ को पञ्चदेवल क्याम्पस नजिकको खोलामा उनको शव फेला पर्‍यो। सडकदेखि करिब ५० मिटर तल शरीरमा चोटपटक लागेको अवस्थामा विनोदको शव फेला परेको थियो।

शाहीको हत्या गरिएको भन्दै दोषीलाई पक्राउ गर्न माग गर्दै परिवारले पाँच दिनसम्म घटनास्थलबाट शव नै उठाउन दिएन। प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि परिवारले शव उठायो। दोषीलाई पक्राउ नगरिएको भन्दै अछाम जिल्लामा क्रियाशील पाँच दलले यातायात सेवा बन्द गरेका थिए।

पछि प्रहरीले विनोदको हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर पनि प्रयोग गर्यो। प्रदेश प्रहरी कार्यालयले पठाएको सीआईबी टोलीले घटना अनुसन्धानमा तालिम प्राप्त कुकुरको सहायता लिएको थियो। त्यति गर्दा पनि प्रहरीले हत्याको कुनै क्लु फेला पार्न सकेन। 

एक महिना पुग्दा पनि प्रहरी अनुसन्धानकै क्रममा छ। घटनाले राजनीतिक रुप लिएकाले पनि प्रहरीलाई अनुसन्धानमा असहज भइरहेको बताइएको छ।

कांग्रेस भन्छ- हत्यालाई एमालेले राजनीतिक रंग दियो

 पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेसबाट निर्वाचित मेयर अम्बिका चलाउने।
नेपाली कांग्रेस अछामले आफ्ना कार्यकर्तालाई फसाउन घटनालाई राजनीतिक रंग दिइएको आरोप लगाएको छ। कांग्रेस अछामका सभापति पुष्पबहादुर शाहले एमालेले हत्याजस्तो जघन्य अपराधलाई राजनीतिक रंग दिएर दोषी उम्काउन खोजेको आरोप लगाए।

'यहाँ दोषी उम्काउन खोजिँदैछ। कांग्रेसमाथि पूर्वाग्रह राखेर आन्दोलनलाई अन्यत्रै मोड्न खोजिएको छ। हामी यो कार्यको घोर विरोध गर्छौं। किटानी जाहेरीपछि गिरफ्तार भएका कांग्रेस कार्यकर्ता दोषी ठहर भए उनीहरूलाई कारबाही गरियोस्। त्यसमा हाम्रो पूर्ण सहयोग रहन्छ। तर, घटनालाई तोडमोड गर्न नखोजियोस्,' उनले भने। उनले घटना घटेको दिन कैलालीमा रहेकी मेयर अम्बिका चलाउनेको नाममा किटानी जाहेरी हुनुले पनि घटनालाई राजनीतिक रंग दिन खोजिएको प्रस्ट भएको बताए।

यहीबीच कांग्रेसबाट निर्वाचित मेयर चलाउने अनुसन्धानमा सघाउनका लागि आफैं हिरासतमा गएको उनले बताए। 'शव उठाउन दिइएन। चक्काजाम गरियो। अहिले पनि सरकारी वकिलको कार्यालय बाहिर एमाले कार्यकर्ताले आन्दोलन गरिरहेका छन्। प्रहरीले अश्रुग्यास प्रहार गरिरहेको छ। यस्तो अवस्थामा प्रहरीले निष्पक्ष अनुसन्धान गर्न पनि सकिरहेको छैन,' उनले भने।

उनले जिल्लामा एउटा अपराधको आडमा अर्को अपराध गर्ने षड्यन्त्र भइरहेको बताए। उनले प्रहरीलाई निष्पक्ष रुपमा अनुसन्धान गर्ने वातावरण सिर्जना गर्नुपर्ने माग गरे।

एमाले भन्छ- सत्ताको आडमा कांग्रेसले शक्ति दुरुपयोग गर्‍यो

नेकपा एमालेले भने सत्ताको आडमा कांग्रेसले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ। नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहराले निर्वाचनको दिन भएको सामान्य झडपलाई कांग्रेसले उग्र बनाउँदै हत्याको स्थितिमा पुर्याएको आरोप लगाए। 'पुलिस प्रशासन संलग्न भएर तत्कालिन डीएसपी रविराज थपलियाको निर्देशनमा धरपकड भएको छ। १३ जनाका नाममा किटानी जाहेरी दर्ता गर्दा प्रहरीले लिन मानेन। हुलाकमार्फत पठाएर दर्ता गर्नुपर्‍यो। यसलाई फौजदारी अभियोग अन्तर्गत अनुसन्धान गरिनुपर्छ। यो घटनामा त सरकार आफ‌ैं पीडितका पक्षमा लड्नुपर्ने हो,' उनले भने।

मृतकका बुबा एमाले सम्बद्ध भएकाले विनोदको हत्या प्रकरणलाई राजनीतिक रंग दिनु गलत भएको बोहराले बताए। 'हामीले किटानी जाहेरी दिएका सबै मान्छे अपराधी हुन् भनेका छैनौं। कांग्रेसले अपराध गरेको हो पनि भनेका छैनौं। तर, आशंकामा किटानी जाहेरी भएका मानिसमाथि अनुसन्धान त हुनुपर्‍यो,' उनले भने।

अनुसन्धानका क्रममा किटानी जाहेरी गरिएका सबै निर्दोष सावित भएर एमालेकै कार्यकर्ता दोषी पाइए उनीहरूमाथि पनि कारबाही हुनुपर्ने बोहरा बताउँछन्। उनले दोषी जोसुकै भए पनि पीडितले न्याय पाउनुपर्छ भन्नेमा एमाले प्रतिवद्ध रहेको बताए। एमालेले राजनीतिक रंग दिन नखोजेको र यस विषयमा आफू जस्तोसुकै अवस्थामा पनि बहस गर्न तयार रहेको बताए। किटानी जाहेरी दिएका व्यक्तिको पक्षमा बोलेर कांग्रेसले घटनालाई झन् रहस्यमयी बनाएको उनको आरोप छ।

अदालतमै आन्दोलन, प्रहरीद्वारा अश्रुग्यास प्रहार

विनोद शाही मृत्यु प्रकरणमा न्याय माग गर्दै सोमबार अदालत पुगेका स्थानीय तथा पीडित पक्षमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। अदालतमै पुगेर दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ। 

मृतक शाहीका आफन्त तथा सरकारी वकिलले मुद्दा अदालतसम्म नपुर्‍याउन दबाब दिएको भन्दै अदालतमै पुगेका थिए। जिल्ला सरकारी वकिलको कार्यालय अछामका सरकारी वकिल, सहायक जिल्ला न्यायाधिवक्ता कौशल प्रसाद ढुंगानाले मृतकका आफन्तलाई कार्यालयमै बोलाएर मुद्दालाई अदालतसम्म नलैजान दबाब दिँदै आफ्नो रायअनुसार अघि बढ्दा हितकर हुने बताएको पीडित पक्षको भनाइ छ। तर, सरकारी वकिल ढुंगानाले भने पीडित पक्षले लगाएका आरोप अस्वीकार गरेका छन्। 

प्रकाशित: Jul 04, 2022| 15:51 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।