काठमाडौं– शनिबार राति मृत फेला परेकी केएमसी स्कुल बुद्धनगरकी कर्मचारी रमा रायमाझीको शव दुई दिनपछि उठाइएको छ।
विद्यालय प्रशासन र आफन्तबीच मृतकका परिवारलाई ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमतिपछि आइतबार राति शव उठाइएको प्रहरीले जनाएको छ।
शनिबार साँझ स्कुलकै होस्टलमा मृत फेला परेकी रायमाझीको हत्या भएको भन्दै आफन्तले शव उठाउन दिएका थिएनन्। शनिबार र आइतबार पटकपटक छलफल हुँदा पनि सहमति नजुटेपछि राष्ट्रिय मानव अधिकार आयोगका अधिकारीसहित बैठक बसेको थियो।
केएमसी स्कुलको क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका–८ मेच्छेकी २१ वर्षीया रमा रायमाझी शनिबार साँझ होस्टलमै झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। उनी उक्त स्कुलमा ५ वर्षदेखि कार्यरत थिइन्।