भैरहवा- स्थानीय सरकारको रुपमा रहेको बुटवल उपमहानगरपालिकाले करको दर अति नै बढाएको भन्दैं नेपाली कांग्रेस सडकमै उत्रिएर विरोध प्रदर्शन गरेको छ।
कांग्रेसले शुक्रबार नगरपालिकाले गरेको कर वृद्धि तत्काल फिर्ता लिन माग गर्दै नाराबाजीसहित बुटवलमा र्याली निकालेको थियो।
कांग्रेस नेताहरु युवराज गिरी, काजिमान श्रेष्ठ, खेलराज पाण्डे, ज्योति भण्डारीलगायतको नेतृत्वमा निस्केको र्यालीले नगरपरिक्रमा पश्चात नगर प्रमुख शिवराज सुवेदीलाई ज्ञापन पत्र समेत बुझाएको छ।
कांग्रेसले नगरमा विगतको करको दर भन्दा ५ सय प्रतिशतसम्म वृद्धि भएको दाबी गरेको छ। ज्ञापनपत्र बुझ्दै नगरप्रमुख सुवेदीले बाहिर हल्ला आएजस्तो करवृद्धि नगरिएको दाबि गरे। उनले सबैको सल्लाह र सुझाव सहित आफु अघि बढ्ने आश्वासन दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४