सोमबार, वैशाख २४, २०८१

फेरि बढ्दैछ कोरोना, हटेको छैन हैजा

नेपालमा कोरोना संक्रमणदर असार १ गतेसम्म ०.६४ प्रतिशतमा रहेकामा हाल ३ प्रतिशतभन्दा माथि पुगेको छ।
 |  सोमबार, असार २०, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, असार २०, २०७९

काठमाडौं- नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार असारको पहिलो सातादेखिनै कोरोना संक्रमण बढ्न थालेको हो। 

triton college

पछिल्लो समय पुष्टि भएको भेरिएन्ट ओमिक्रोन नै भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। ओमिक्रोनको नयाँ भेरिएन्टबारे भने जिन सिक्वेन्सिङ भइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

नेपालमा कोरोना संक्रमणदर असार १ गतेसम्म ०.६४ प्रतिशतमा रहेकामा हाल ३ प्रतिशतभन्दा माथि पुगेको छ। कोरोनाको ओमिक्रोन भेरिएन्टका सब भेरिएन्टका कारण भारत लगायत अन्य देशमा कोरोना संक्रमणदर बढेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ। 

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्यहाँका विज्ञहरूले कोरोनाको चौथो लहर आउनसक्ने चेतावनी दिएका छन्। नेपालमा एक प्रतिशतभन्दा तल झरेको कोरोना संक्रमण पुनः उकालो लाग्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। आइतबारमात्रै गरिएको परीक्षणमा पनि २.५ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ। 

नेपालमा कोरोना भाइरसको संक्रमणदरसँगै सक्रिय संक्रमितको संख्या पनि उकालो लाग्दै गएको तथ्यांकले देखाउँछ। सयभन्दा कम सक्रियसंक्रमितको संख्या पुगिसकेको अवस्थामा आइतबारसम्म आइपुग्दा ३३३ जना पुगेको छ। 

corrent noodles
Metro Mart

गत बैशाख २९ गते जम्मा ४ जनामा कोरोना संक्रण पुष्टि भएको थियो। त्यसयता संक्रमितको संख्या घटबढ भइरहेपनि असार पहिलो सातादेखि बढ्न थालेको हो। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासका अनुसार भारतबाट सिमानाका हुँदै नेपाल प्रवेश गर्ने मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। सिमानाकामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। 


कोरोना संक्रमणदर बढ्दै जानुमा छिमेकी मुलुक भारतमा कोरोना संक्रमणदर बढ्नु, सीमा नाकामा व्यवस्थापन नहुनु र जनस्वास्थ्यका मापदण्ड पालना नहुनु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएका छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल पछिल्लो दिन संक्रमणदर बढ्दै जानु चिन्ताजनक भएको बताउँछन्। दास भन्छन्, ‘दैनिक ५० जनाको हाराहारीमा संक्रमण देखिन थाल्नु चुनौती हुनसक्छ, अब कोरोना बढ्न सक्छ। सिमानाकाबाट भित्रिने मानिसमा पनि कोरोना संक्रमण बढ्न थालेको छ। त्यसैले हामीले अस्पताल तथा प्रयोगशालाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं।’ 

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका रिसर्च युनिटका संयोजक शेरबहादुर पुन कोरोनाविरुद्धको खोपको प्रभावकारिता ६ महिनाबाट क्रमशः घट्दै जाँदा पनि पुनः संक्रमण भएकाले संख्या बढ्न सक्ने बताउँछन्।

कोरोनाको ओमिक्रोन भेरिएन्टका सब भेरिएन्टका कारण पनि कोरोनाको संक्रमणदर बढ्न थालेको हुनसक्ने पुन बताउँछन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक दास भन्छन्, ‘अन्य मुलुकहरूमा ओमिक्रोनको सवभेरिएन्ट पुष्टि भइसकेको अवस्था छ। छिमेकी मुलुक भारतमा पनि ओमिक्रोनको सवभेरिएन्ट वीए ५ पुष्टि भएको छ। नेपालमा सीमानाकामा कडाइ नहुँदा भारतबाट भित्रिनेहरूबाट नयाँ भेरिअन्ट नेपाल भित्रिएको छ भन्ने आशंका छ। तर, नेपालमा हालसम्म पुष्टि भएको जानकारी छैन। सिक्वेन्सिङ भइरहेको छ।'

डा. पुन कुन भेरिएन्टका कारण संक्रमण बढ्यो भनेर निक्र्यौल गर्नु पर्ने बताउँछन्। उनी भन्छन्, ‘हाल विभिन्न देशमा ओमिक्रोनको सवभेरिएन्ट ‘बीए ४’ र ‘बीए ५ भेरिएन्टको प्रभाव देखिएको छ, नेपालमा पनि यसको प्रभावबारे सिक्वेन्सिङ गरिहाल्नुपर्छ।' 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सातै प्रदेशबाट नमुनाहरू संकलन गरी परीक्षण गरिरहेको बताउँछन्। ‘अहिलेसम्मको रिर्पोटमा नयाँ भेरिअन्ट पुष्टि भएको छैन, हामीले निरन्तर सिक्वेन्सिङ गरिरहेका छौं। पछिल्लो संक्रमण बढ्नुमा कुन भेरिएन्टले प्रभाव पारेको हो भन्ने एक दुई दिनमा थाहा हुन्छ। अन्य प्रयोगशालाको रिपोट हालसम्म हामीलाई प्राप्त भएको छैन,’ गुप्ता भन्छन्।

ओमिक्रोनको सब भेरिअन्ट संक्रामक भनिए पनि धेरै घातक नदेखिएको उनी बताउँछन्। तर, सब भेरिएन्टका कारण अर्को नयाँ महामारीको लहर आउँछ की भन्नेमा पनि विज्ञहरू सशङ्कित छन्। 

डा. पुन भन्छन्, ‘अझै कोरोना महामारी हटेको छैन, मानिसहरूले लापरबाही गर्न थालेका छन्, कोरोना भए पनि मानिसहरू मौसमी रुघाखोकीका कारण परीक्षणको दायरमा पनि पुगेका छैनन्। समुदायमा अझै कोरोना सङ्क्रमितहरू छन्। तर, उनीहरूले खोप लगाएका कारण पुन संक्रमित हुँदा पनि मध्यम खालको बिरामी भएकाले अस्पताल नआइपुगेको हो की भन्ने लाग्छ। 

पछिल्लो समय थपिएका संक्रमितमध्ये आधाभन्दा धेरै काठमाडौं उपत्यकामा भएको दास बताउँछन्। 

हैजा त्रास पनि उस्तै

एकातिर उपत्यकामा कोरोना संक्रमितको संख्या थपिँदै जानु अर्कोतिर हैजाका बिरामी पनि थपिँदै जानु थप चिन्ताको विषय भएको दास बताउँछन्।

हालसम्म उपत्यकामा १७ जना हैजाका बिरामी भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६ देखि २० जनासम्म संक्रमित देखिएको स्थानलाई ‘रेड जोन’मा राखेको छ।  

हैजा संक्रमित हुनेहरूमा दैनिकजसो घरबाहिरको खानेकुरा खाने, श्रमिक वर्ग, फिल्डमा खटिने व्यक्तिहरू भएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। हैजाका १७ जना बिरामी अस्पताल आइपुगे पनि धेरै बिरामी घरमा भएको उनको आशंका छ। 

काठमाडौंमा लामो समय फोहोर नउठाइएका कारण हैजा फैलाउने जीवाणु पानीमा मिसिएकाले पनि हैजा संक्रमण फैलिएको डा. पुन बताउँछन्। दूषित पानीका कारण हैजा मात्र नभई अरू संक्रामक रोगहरू पनि फैलन सक्ने उनी बताउँछन्। उपत्यकामा हैजा फैलनु र कोरोना संक्रमण पनि बढ्दै जाँदा अस्पतालको व्यवस्थापनमा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख दास कोरोना संक्रमण उपचार तथा नियन्त्रणका लागि सम्पूर्ण संयन्त्र तयारी अवस्थामा रहेको बताउँछन्। अस्पताल तथा ल्याबहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको उनी बताउँछन्। 

‘हालसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ, दुई/तीन दिन यता नयाँ हैजाका बिरामी अस्पताल भर्ना भएका छैनन्,' दास भन्छन्।

हैजा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनुगमन गरिरहेको छ। वाटर सर्भिलेन्स लगायतका कामहरू भइरहेको दास बताउँछन्। जनचेतनाका कार्यक्रम पनि सञ्चालन गरिरहेको उनको भनाइ छ। त्यसो गर्न सकेमात्रै हैजाका बिरामीलाई नियन्त्रण गर्न सकिने उनले बताए। हैजा र कोरोना दुवै बढ्न थालेमा पनि आफूहरू तयारी अवस्थामा रहेको दासले बताए।

हैजा नियन्त्रणका लागि के गरिँदैछ? 

हालसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ। हालसम्म सानेपा, टेकु, डिल्लीबजार, कपन, कागेश्वरी मनहरा बालाजु, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी, कीर्तिपुर र ग्वार्कोमा एक–एक जनामा हैजा देखिएको छ । हैजा पुष्टि भएका ठाउँलाई रेडजोनका रुपमा राखिएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक दास बताउँछन्।  असार ५ गते उपत्यकामा हैजा पुष्टि भएपछि ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्राविधिक टोलीको प्रारम्भिक अनुसन्धानले धारा तथा जारको पानी शुद्धीकरण नगरिकन प्रयोग गरिएको कारण हैजा देखिएको निष्कर्ष निकालेको थियो ।

तीन  दिनदेखि अस्पतालमा नयाँ बिरामी भर्ना भएको तथ्यांक छैन। तर बिरामीहरु घरघरमा भएको हुनसक्ने डा. दास बताउँछन्। सरकारले  ईडीसिडीको समन्वयमा सम्बन्धित अस्पताल, पालिका स्वास्थ्य कार्यालय तथा सरोकारवाला निकायहरूको आकस्मिक बैठक बसी रोग पहिचान तथा नियन्त्रण सम्बन्धमा कार्ययोजना निर्माण, विशेषज्ञ सहितको प्राविधिक टोली गठन एवं परिचालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन ईकाईबाट हैजा पत्ता लागेको सूचना प्राप्त हुने वित्तिकै इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य कार्यालय, काठमाडौं, शुक्रराज ट्रपिकल तथा सरुवा रोगअस्पतालसंग आवश्यक समन्वय गरेको छ। 

प्राविधिक टोलीको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अनुसार धारा तथा जारको पानी शुद्धीकरण नगरिकन प्रयोग गरिएको कारण हैजा देखिएको निष्कर्ष निकाल्दै ई.डी.सि.डी को समन्वयमा सरोकारवाला निकायहरू बीच दोस्रो बैठक बसी पानी शुद्धिकरण तथा खाद्य गुणस्तर सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ। त्यस्तै काठमाडौँ उपत्यकाका हब अस्पतालहरूलाई हैजा रोगको नियन्त्रण तथा उपचार व्यवस्थापन गरी नियमित रूपमा प्रतिवेदन पेश गर्न अनुरोध गरिएको दासले बताए। 

काठमाडौ महानगरपालिकाद्वारा हैजा रोग प्रतिकार्य सम्बन्धमा सबै विद्यालयहरू (सरकारी र निजी लाई औपचारिक पत्र पठाएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयका स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख समिरकुमार अधिकारी बताउँछन्। साथै  चालू गतिविधिहरू महामारी फैलिएको स्थानमा पानीको निगरानी, घर–घर पुगेर केस पत्ता लगाउने गतिविधिहरू, जनचेतनामुलक सामग्रीहरू वितरण, माइकिङ आदि मार्फत सचेतना गरिएको गरिरहेको उनको भनाई छ। 


प्रकाशित: Jul 04, 2022| 12:26 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्