काठमाडौं- स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ महिना बितिसकेको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गर्ने तयारीमा सरकार छ। तर, अधिकांश राजनीतिक दल भने आन्तरिक किचलोमा फसेका छन्। स्थानीय तह निर्वाचनको समीक्षा गरिनसक्दै दलहरूलाई नयाँ विवाद आइलागेको हो। स्थानीय निर्वाचनबाट प्राप्त परिणामको समीक्षा गर्दै आगामी निर्वाचनको तयारीमा जुट्नुपर्नेमा दलहरुमा घरझगडाले प्राथमिकता पाएको हो।
कुनै दलमा नेतृत्वले थिचोमिचो गरेको आरोपका कारण विवाद छ भने कुनै दलको विवाद विभाजनतर्फ मोडिएको छ। अधिकांश दलमा सैद्धान्तिक विषयमा भन्दा पनि नेताहरूको स्वार्थले विवाद निम्त्याएको हो। पछिल्लो समय दलमा देखिएको विवाद सिद्धान्त नमिलेका कारण सिर्जना भएको होइन, नेताहरूको व्यक्तिगत स्वार्थको हिसाबकिताब तलमाथि पर्दाको परिणाम मात्र हो। जसपा विभाजनको डिलमा पुग्नुको कारण शीर्षस्थ नेताहरूको महत्त्वांकाक्षा हो। सत्ता गठबन्धनको नेतृत्वकर्ता कांग्रेस भने पार्टीमा आफ्नो पक्षलाई सम्मानजनक भूमिका नदिएका कारण विवादमा छ। यद्यपि कांग्रेसको विवाद जसपाजस्तो विभाजन केन्द्रित छैन।
दलका नेताहरूको व्यक्तिगत महत्त्वाकांक्षा र स्वार्थ पूरा नहुँदैमा दल नै विभाजनको अभ्यास गर्नुले नेताहरू कति सिद्धान्तनिष्ठ छन् भन्ने कुरा उदांगो पारिदिएको छ। यसका साथै फरक मतलाई सम्मान गर्ने विषयमा दलहरू कति जिम्मेवार छन् भन्ने प्रश्नको उत्तर पनि प्रष्ट रूपमा दिएको छ। विवाद निस्कनेबित्तिकै समाधान खोज्नुभन्दा दललाई नै विभाजनको दिशामा धकेल्ने प्रयत्नले नेताको आन्तरिक लोकतन्त्र र संस्थागत पद्धतिप्रतिको निष्ठामाथि पनि गम्भीर प्रश्न उठाएको छ। लोकतान्त्रिक मूल्य तीखा र चर्का भाषण गरेर नथाक्ने नेताहरूले आफ्नै दलभित्रको विवाद निरुपणलाई चुस्त पार्न अभ्यास भने गरेका छन्। नेताहरूको यस्तो प्रवृत्तिबाट आजित भएकाले कार्यकर्ता पनि स्वार्थमुखी बनेका छन् भने दलले नयाँ सदस्य जन्माउन सकेका छैनन्।
'दलहरुभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा, नीतिगत/वैचारिक छलफल नहुँदार नेतृत्वले निर्णय लाद्न खोज्दा आरोपप्रत्यारोप हुँदै विभाजनसम्मको स्थिति पैदा हुन्छ,’ राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्, ‘दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुने, विधि र विवकेसम्मत निर्णय हुने हो भने विवाद विरलै हुने गर्छन्।’
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विवाद र असन्तुष्टि सामान्य देखिएका छन्। नेकपा एसको विवाद केही मथ्थर भएको छ। त्यो विवादको निरुपण कहिले र कसरी हुन्छ? त्यसको टुंगो छैन। तर, जसपाको विवादले भने विभाजनको दिशा तय गरेको छ। राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेका शब्दमा दलभित्र विवाद बढ्नुको प्रमुख कारण 'कब्जाको रणनीति' हो। पार्टी नेतृत्वमा कब्जा जमाएर सत्ताको नेतृत्वमा पुग्न खोज्ने प्रवृत्तिले दलमा विवाद सिर्जना हुने गरेको वाग्लेको विश्लेषण छ। ‘अहिले सबै पार्टीमा विवाद देखिन्छ। त्यसको प्रमुख कारण हो कब्जाको नीति। पार्टी कब्जा गरेर नेतृत्वमा पुग्ने प्रवृत्ति नेताहरुमा देखिन्छ। पार्टी नेतृत्वमा पुगेर सत्ता कब्जा गर्न खोज्ने ट्रेन्ड नेपाली राजनीतिमा छ,’ वाग्ले भन्छन्, ‘सत्ता पुग्न पार्टीको नेतृत्वमा पुग्नुपर्यो। त्यसका लागि पार्टी कब्जा गर्नुपर्यो। यो प्रवृत्ति नै विवादको कारण हो।’
दलहरुबीच आन्तरिक लोकतन्त्र कमजोर हुँदा र नीतिगत बहस नहुँदा विवाददेखि विभाजनसम्मको अवस्था निम्तने वाग्लेको तर्क छ। ‘अन्य दलहरुको विवाद उत्कर्षमा पुगेको देखिँदैन। तर, जसपा भने विभाजनको संघारमा पुगेको छ। दलहरुभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा, नीतिगत/वैचारिक छलफल नुहँदा र नेतृत्वले निर्णय लाद्न खोज्दा आरोपप्रत्यारोप हुँदै विभाजनसम्मको स्थिति पैदा हुन्छ,’ वाग्ले भन्छन्, ‘दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुने, विधि र विवकेसम्मत निर्णय हुने हो भने विवाद विरलै हुने गर्छन्।’
दलहरू आन्तरिक झगडामा रमाउन थाल्दा जनजीविकाका मुद्दा छायामा पर्छन्। जब दलहरुका लागि जनजीविविकाका मुद्दा प्राथमिक एजेन्डा बन्दैनन्, तब जनताका लागि दल असान्दर्भिक बनिदिन्छन्। त्यसले असन्तुष्टि र आक्रोश पैदा गरिदिन्छ। परिणामतः दलहरुको भागमा नोक्सान नै पर्छ। राजनीतिक दलप्रतिको निराशा, आक्रोश र असन्तुष्टिले राजनीतिक प्रणाली र व्यवस्था माथि नै प्रश्न उठ्ने उनको भनाइ छ। ‘दलहरुको यस्तो प्रवृत्तिले जनतामा निराशा बढ्दै जान्छ। असन्तुष्टि र आक्रोश बढेको देखिन्छ,’ विश्लेषक वाग्ले भन्छन्, ‘भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कतिपय पालिकामा स्वतन्त्र उम्मेदवारहरुको जित त्यसकै पुष्टाईँ हो। र दलहरु विरुद्धको मौनविद्रोह पनि।’
स्थानीय तहको निर्वाचनपछि दलहरुका लागि जे सन्देश प्राप्त भएको छ, त्यसलाई आत्मसात नगर्ने र रुपान्तरणको दिशातर्फ अघि नबढ्ने हो भने थप क्षती दलहरुलाई नै हुने तर्क वाग्लेको छ। ‘प्राप्त सन्देशलाई समयमै आत्मसात गरेर दलहरुले आफूलाई रुपान्तरण गरेनन् भने थप क्षति उनीहरुलाई नै हुन्छ। यद्यपि लोकतन्त्रमा दलको विकल्प हुँदैन,’ वाग्ले भन्छन्।
एमाले : तरवारको धारमा फरक विचार
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको आन्तरिक जीवनको पछिल्लो कालखण्डमा अध्यक्ष केपी शर्मा ओली हावी भएका मात्रै छैनन्, पार्टीमा 'देवत्वकरण'को गरिएका पनि छन्। एमाले विधि, पद्धती र विचार भन्दा ओलीप्रधान पार्टी बन्न पुगेको छ। पार्टीभित्र फरक विचार राख्नेहरु तरवारको धारमा पुग्ने गरेका छन्। नेतृत्वको आलोचना गरेकै भरमा कारबाही भोग्नुपर्ने अवस्था एमालेमा छ।