काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठनको नाममा सहमति भए पनि नेतृत्व कसले गर्ने भन्ने विवाद कायमै छ।
शुक्रबार बसेको विद्यार्थी एकता कार्यदलको बैठकले संगठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिइन्। यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नाम थिए ।
नेतृत्वमा भने अझै सहमति हुन सकेको छैन। नयाँ बन्ने संगठनको नेतृत्वका लागि अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ र अनेरास्ववियुका महासचिव ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली दाबेदार छन्।
क्रान्तिकारीका अध्यक्ष तामाङले भोलिसम्म नेतृत्व टुङ्ग्याएर नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउने बताए। केन्द्रीय कमिटीमा पनि ४९९ राख्ने सहमति भएको छ। केन्द्रीय कमिटीमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने सहमति भएको छ।
कार्यदलले विधान र राजनीतिक तथा शैक्षिक विषयमाथि थप अध्ययन गर्ने भएको छ। विधानका लागि अनेरास्ववियुका अध्यक्ष लामा र क्रान्तिकारीका तामाङ तथा राजनीतिक र शैक्षिक विषयका लागि अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल र किशोरविक्रम मल्ल तथा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई जिम्मा दिइएको छ।
नेकपाको युवा संगठनको युवा संघ नेपाल र योङ कम्युनिस्ट लिग (वार्इसीएल) एकताको खाका अझै टुंगिएको छैन। वार्इसीएलका अध्यक्ष रामप्रसाद सापकोटाले नाम, नेतृत्व र केन्द्रीय कमिटीमा रहने सदस्यको नाम अझै नटुंगिएको बताए। उनले छलफलकै क्रममा रहेकाले भोलिसम्म नाम, नेतृत्व र केन्द्रीय कमिटीको संख्यामा सहमति गरिने जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४