काठमाडौं- वरिष्ठ अधिवक्ता सुशील पन्तले एआईजी विश्व पोखरेल आईजीपी हुनलायक नरहेको भन्दै सर्वोच्चमा बहस गरेका छन्। आइतबार सर्वोच्च अदालतमा बहसका क्रममा उनले पोखरेल गैरजिम्मेवार र व्यक्तिकेन्द्रित भएकाले आईजीपी हुन योग्य नगरेको दाबी गरेका हुन्।
पोखरेल आफैँले चुनावअघि कसैलाई पनि विदा नदिने भनेर सर्कुलर गरे पनि १९ गतेदेखि आफैँ घरबिदामा बसेको उल्लेख गर्दै उनकै भनाइ आफैले पालना नगरेकोसमेत जिकिर गरेका थिए। ‘अहिले बिदा सकिएपछि पनि कार्यालय गएनन्। धिरज सिंहले चाहेको भए त्यतिबेला तत्काल बिदा खारेज गरेर कार्यालय बोलाउन सक्थे,’ पोखरेलको नियतमाथि प्रश्न उठाउँदै पन्तले थपे, ‘उनी प्रदेश समन्वयको चिफ हुन्। बिदा उनको अधिकार हो। प्रहरी संगठन र देश महत्वपूर्ण रहेछ कि आफ्नो पद महत्वपूर्ण रहेछ भन्ने यसबाट प्रस्ट हुन्छ।’
यसअघि वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि आईजीपी बढुवाको पक्षमा बहस गरेका थिए। उनले एआईजीमा सिनियर हुँदैमा आईजीपी नै हुन्छ भन्ने ग्यारेन्टी नहुनेसमेत उल्लेख गरेका थिए।