काठमाडौं- ठगीका अभियुक्त इच्छाराज तामाङ छुटाउन जिल्ला अदालत काठमाडौंका न्यायाधीशसँग घुस मोलमोलाइ गरेका वकिल रुद्र पोखरेलले म्याद बुझ्न आलटाल गर्दै आएको देखिएको छ।
इच्छाराजको मुद्दामा पुर्पक्ष आदेश गरेका न्यायाधीश राजकुमार कोइरालासँग अधिवक्ता पोखरेलले २ करोड घुस बार्गेनिङ गरेको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो।
अडिओ सार्वजनिक भएको भोलिपल्टै नेपाल बार काउन्सिलको अनुशासन समितिले उनलाई ७ दिनभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो। तर १० दिन भइसक्दा पनि पोखरेललाई म्याद तामेली गर्न नसकिएको काउन्सिलका अधिकारीले बताए।
‘हामीले निर्णय गरेकै दिन असार ८ गते म्याद तामेली गर्न पठाएका थियौं तर उहाँ (वकिल) ले म्याद बुझ्न मान्नुभएको छैन। त्यसपछि इमेल, म्यासेज गरेका छौं। त्यसको पनि कुनै जवाफ आएको छैन’, काउन्सिलका एक अधिकारीले भने।
सुरुमा स्पष्टीकरण माग्ने र चित्तबुझ्दो नभए बयान लिनेसम्मको तयारीमा काउन्सिल रहेको उनले बताए।पोखरेलको घुस प्रकरण गम्भीर विषय ुद्दा भएकाले वकिल लाइसेन्ससमेत खारेज हुन सक्ने बताइएको छ।
न्यायाधीश कोइरालालाई २ करोड घुस दिएर इच्छाराजलाई १० करोड धरौटीमा रिहा गर्न पोखरेलले गरेको अफरमा न्यायाधीश सहमत भएको अडिओमा प्रस्टै सुनिन्छ।
न्यायाधीश कोइरालाका सम्बन्धमा न्याय परिषद्ले छानबिन थालेको छ। कोइरालालाई सर्वोच्च अदालत तान्दै जिम्मेवारीविहीन बनाइएको छ। न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा गठित तीन सदस्यीय समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
सिभिल सहकारीका पूर्वअध्यक्ष तथा पूर्वसांसद तामाङ र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई गत पुस १४ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त ठगी प्रकरणमा इच्छाराजसहित १२ जनाबाट ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ९७ रुपैयाँ ८२ पैसा बिगो दाबी गरिएको छ।