कुश्माको झोलुंगे पुलमा पाइला राख्नेबित्तिकै मेरा आँखा तिरमिराए। पर्वत घुम्न पाउँदा फुरुंग बनेको मन एक्कासि डरले काप्न थाल्यो। आँखा सीधै कालीगण्डकीको खोचमा ठोक्कियो। केही मिनेट हिँडेपछि मात्र डर चट् भयो।
आजसम्म त्यति अग्लो झोलुंले पुल नचढेको हुनाले रोमाञ्चक अनुभूति भइरहेको थियो। तर पाँच मिनेट हिँडेर पुलको बीच भागमा पुगेपछि फेरि डर सुरु भयो। कारण, त्यहाँबाट सोझै काली नदीमा हाम फाल्नुपर्ने थियो । ‘द क्लिफ’का कर्मचारीले मार्करले हातमा तौल लेखिदिएका थिए। त्यही देखाउँदै बन्जी–स्वीङ गर्ने ठाउँ प्रवेश गरें।
म बन्जी गर्ने ठाउँ पुग्दा अरूहरूले बन्जी गरिरहेका थिए तर स्वीङ गरेको देखिनँ। त्यहाँ पुग्नेबित्तिकै सुरक्षाका लागि नटबोल्ट र डोरी कम्मरमा बाँधियो। हेलमेट लगाइयो।
‘तपाईं आफैं हाम फाल्ने कि हामीले छाडिदिँदा हुन्छ ?’ व्यवस्थापनमा खटिएकाले भने।
‘जे गर्दा सजिलो हुन्छ, त्यही गरिदिनू’, मैले प्रस्ट कुरा नबुझेकाले भनेँ।
यसपछि मलाई डोरीमा भ्यागुतोजसरी झुन्ड्याइयो। २२८ मिटर तलतिर बगिरहेको काली नदी हेर्न सक्ने कुरै भएन। पारिपट्टिको गाउँतिर नियाल्दै थिएँ, एक्कासी वान...टु...थ्री भन्दै मलाई झुन्ड्याइएको डोरी छाडियो।
ओ...! कहाली लागेर कराएछु।
दुई–तीन सेकेन्डसम्म मर्छुजस्तो लाग्दै थियो तर तल पुगेर डोरी अडियो। अब भने सबै डर हरायो। न कहीँ दुखेको छ, न त केही अप्ठेरो भएको छ। मजाले आरामदायी कुर्सीमा बसेजस्तै डोरीमा झुन्डिन के डर मान्नू! त्यतिबेला पो पहिले मनमा उब्जिएको डर सम्झेर लाजै लाग्यो।
फेरि डोरीले पल्लो छेउ हुइँक्यायो। यसबेला भने काली नदीतिर आँखा डुलाएँ। मनमनै कालीलाई ढोगें। अनि डोरीमा रहेको क्यामेरातिर हेर्दै श्रवण मुकारुङको शब्द र कर्णदासको स्वरमा रहेको ‘हे कालीगण्डकी! आमा गण्डकी’ बोलको गीत गुनगुनाएँ।
स्वीङ गर्दा पनि गीत र कविता नै गुनगुनाउने रहेछु। गाउँछु भनेर होइन, अनायासै मुखमा आयो। अघिल्लो दिनदेखि नै त्यही गीत गाएकाले पनि मुखमा आएको थियो, सायद। तीन–चार मिनेट झुन्डिएपछि डोरीले माथितिर तान्न थाल्यो। अब भने संसारै जितेजस्तो अनुभव भयो।
जब स्वीङ गर्ने ठाउँमा (पुलको बीच भाग) आइपुगें, तब लाग्यो– अब संसारको जस्तो कठिन काम पनि गर्न सक्छु भन्ने साहस पलायो। स्वीङ मात्र होइन, बन्जी, रक क्लाइम्बिङ वा हिमाल आरोहण नै गर्न सक्छुजस्तो लाग्यो।
स्वीङ र पिङ खेलिसक्दा मन चंगा भयो। दिमागमा वर्षौंसम्म जमेको विकार हटेजस्तो महसुस भयो। साहसले नै मानिसलाई जस्तो चुनौती पनि पार गर्ने सक्ने बनाउँदो रहेछ भन्ने बोध भयो।
डोरीमा छँदै एकपल्ट काली नदी दोहन गर्नेहरू सम्झेर रिस पनि उठ्यो। दोहनले नेपालको विशिष्ट धार्मिक एवं सांस्कृतिक महत्त्वको काली नदीको सभ्यता मासिइँदै छ। अवैध ढुंगा–बालुवा उत्खनन, शालीग्राम चोरी–पैठारी तथा स्वीकृति नलिईकन जथाभावी सञ्चालन गरिएका रिसोर्टले कालीलाई कुरुप बनाइरहेको छ।
नदीबाट डोरीमै झुन्डिएर पुलमाथि आइपुगिने रहेछ। स्वीङ गराउने मास्टरहरूलाई धन्यवाद भनेर पुलको पल्लो छेउ रहेको ‘द क्लिफ’ होटलमा गएँ। त्यहाँ अग्लो पिङ राखिएको थियो। पिङ खेलाउनेलाई सोधें, ‘स्वीङ गरिसकेकालाई त पिङ खेल्दा मज्जा आउँदैन होला हगि!’
‘कहाँ हुनु नि! स्वीङमा भन्दा पनि डर लाग्छ एकचोटि,’ पिङ खेलाउने कर्मचारीले थपे, ‘दह्रो झट्का हान्छ यसले।’
‘ल कस्तो हुँदो रहेछ खेलौं न’ भनेर पिङमा बसें। केटाकेटी छँदा दसैंमा घरकै भुइँतलामा दलिनमा डोरी झुन्ड्याएर पिङ बनाइदिन्थेँ। त्यसमै खेल्थें। अलि ठूलो भएपछि बाँसको लिंगे पिङ खेलें तर मच्चिन आजसम्म आउँदैन। अर्काले ठेलिदिए नडराई मजाले मच्चिन सक्छु।
यहाँ भने डोरी र घिर्नीको सहायताले पिङ मच्चाइने रहेछ। कम्मरमा पेटीले पिङलाई बाँधेको हुन्छ नत्र पिङ मच्चिँदा मान्छे हुत्तियो भने सीधै काली नदीमा बजारिन बेर लाग्दैन। नभन्दै एकचोटि फेरि सातो गयो। बडेमाको अग्लो भीरको पिङ खेल्दा असाध्यै रमाइलो भयो।
स्वीङ र पिङ खेलिसक्दा मन चंगा भयो। दिमागमा वर्षौंसम्म जमेको विकार हटेजस्तो महसुस भयो। साहसले नै मानिसलाई जस्तो चुनौती पनि पार गर्ने सक्ने बनाउँदो रहेछ भन्ने बोध भयो।
‘द क्लिफ’ले कुश्मामा सुविधायुक्त होटलसहित साहसिक खेलहरू सञ्चालन गरेको छ। यही झोलुंगे पुलमा बन्जी, स्वीङ, स्काई साइक्लिङ (डोरीमा साइकल चलाउने), स्काई चियर (भीरमा बसेर डोरीको सहायतामा अडिएको टेबलमा बसेर खाना खाने) खेलाउने गरेको छ।
७ हजार रुपैयाँमा स्वीङ वा बन्जी गर्न सकिने रहेछ। दुवै गर्दा सहुलियतमा १० हजार ५ सय मात्र पर्ने रहेछ। पोखराबाट जम्मा ६० किलोमिटरको दूरीमा पर्ने कुश्मा स्वीङ र बन्जीको हब बन्दै रहेछ।