मोरङ- प्रहरीले मोरङमा लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर र २ नम्बर ढाटबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
बिहीबार दिउँसो सवा १२ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले २ नम्बर ढाट छेउबाट भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ सुन्दरहरैचा नगरपालिका-४ का २६ वर्षीय पवन घिमिरे र सुन्दरहरैचा नगरपालिका-६ का २७ वर्षीय बिजय राईलाई लुपिजेसिक १२ ऐम्पुल, फेनारगन १२ ऐम्पुल, डाईजोपाम १२ ऐम्पुल, ऐभिल १२ ऐम्पुलसहित पक्राउ गरेको हो।
यसैगरी, बिहीबार दिउँसो २ बजे १ नम्बर ढाटबाट बा३५प २७१४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका सुन्दरहरैचा नगरपालिका-१२ का २० वर्षीय अभिषेक चौधरी र पछाडी सवार सोही ठाउँका १९ वर्षीय निशान गुरुङलाई निट्राभेट-१० को ३० वटा ट्याबलेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनाको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।