गलेश्वर-
लोकगायिका हरिदेवी कोइरालाले गाएको गीतका यी हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन्। आजकल असारे गीत असार महिनामा पनि विरलै सुनिन्छन्।
आज असार १५ गते राष्ट्रिय धान दिवस भएपनि धान दिवसका गतिविधि हिलोछ्याप्ने एक दुई गाभा गाड्ने फोटो खिचेर समाजिक सञ्जालमा राख्नेमा धेरैको असार १५ सीमित हुने गगेको छ। केही सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि देशका सबै स्थानमा पर्याप्त वर्षा नभएकाले न किसान रोपाइँमा व्यस्त हुन पाएका छन् न त भएका रोपाइँमा पनि असारे गीत सुनिएको छ।
नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे। खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे। तर ती दिनहरू अब इतिहास नै बनेका म्याग्दीकी पुरानो लोकगायिका धनकुमारी थापाले बताइन्।
पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारे गीत नसुनिएको लोकगायिका थापाले बताइन्। मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिलेजस्तो उल्लास आजकल पाइन छाडेको थापाको भनाइ छ। आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन्।
नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले बताए। पछिल्लो सयममा रोपाइँको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गायक नेत्रबहादुर महत उल्लेख गर्छन्। 'रोपाइँमा त सुनिन छाड्यो, छाड्यो, आजभोलि रेडियो, टिभीबाट समेत गीत सुनिँदैन,' उनले भने।