जनकपुर। नेपाली कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारबाट प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) बाहिरिएको छ। पूर्वसहमति अनुसार १५ बुँदे सम्झौता कार्यान्वयन नभएको आरोप लगाउँदै एमालेका मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई सरकारबाट समर्थन फिर्ता लिएको संयुक्त पत्र बुझाएका हुन्।
एमालेको तर्फबाट मन्त्री बनेका लखन दासका अनुसार कांग्रेस नेतृत्वको सरकारले पूर्वसहमति उल्लंघन गरेकाले सरकारमा बसिरहनुको औचित्य समाप्त भएको हो। एमालेका चारै जना मन्त्रीहरूले एकसाथ राजीनामा बुझाउँदै समर्थन फिर्ता लिएको औपचारिक घोषणा गरेका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको सहकार्यमा सञ्चालित मधेस प्रदेश सरकारबाट एमालेले एकाएक समर्थन फिर्ता लिएपछि वर्तमान सरकार अल्पमतमा परेको छ। यस राजनीतिक हेरफेरले मधेस प्रदेशको भावी सत्ता समीकरण तथा राजनीतिक स्थायित्वमा नयाँ अन्योल सिर्जना गरेको छ।