काठमाडौं- सरकराले भदौ १२ गतेभित्र काठमाडौंको सबै खाल्डाखुल्डी पुर्ने भएको छ। बिहीबार संघीय संसद, प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिहीबार संघीय संसद, प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिको वैठकमा सरकारले भदौ १२ गतेभित्र काठमाडौंको सम्पूर्ण खाल्डाखुल्डी पुर्ने घोषणा गरेका हुन्।
‘समितिमा धेरै चर्चा भयो काठमाडौंको खाल्डा खुल्डी, कलंकी र नांगढुङ्गा, जोरपाटी र साँखुसम्मको सडक सम्बन्धमा, केही समस्या रहेको ध्रुवसत्य हो,’ उनले भने ‘यसको हामीले धेरै सुधार पनि गरेका छौं। मलाई विश्वास छ । आज ३१ गते हो । १२ गतेभित्रमा पिच बनाउन सक्दैनौं । तर, १०-१२ गतेसम्ममा ग्राबलीङ, बेस-कोर्ष सब-बेसकोर्ष राखेर सडक सञ्चालन गर्छौ।’
उनको अनुसार हिजोसम्म सडकहरु पानीपोखरी भएका थिए। अब ती स्थानहरुमा पानी निकास गराउन दुईतिर ढल राख्ने काम धमाधम भइरहेको छ । कम्तिमा ६ गतेभित्र ढल राखिसक्ने विश्वास लिएका मन्त्री महासेठले बताए।
‘१२ गतेभित्रमा सडक व्यवस्थित गरिसक्नेछौं’, उनले भने ‘कात्तिकभित्र चावहिल, जोरपाटी र साँखुको सडक पिच गर्नेमा हामी विश्वस्त छौं।’ त्यस्तै नागढुङ्गा र कलंकीको सडक पनि ढिलोमा वैशाखभित्र पिच गर्ने उनको आश्वासन छ।
नयाँ सरकार बनेदेखि ५ किलोमिटर पिच भइसकेको उनले जानकारी दिए। हालसम्म खण्ड-खण्ड पिच गर्दै आएकोमा अब त्यसरी नभई सरासर पिच गरिने उनको भनाइ छ।
यद्यपि तत्काललाई मेलम्चीको पानी आउने भएकोले सोको मध्यनजर गर्दै आवश्यकताअनुसार पिच गर्ने र मेलम्चीको पानी आइसकेपछि परिक्षण गरी त्यसयता भने बाँकी रहेको काठमाडौंको सम्पूर्ण सडक चिल्लो पिच गर्ने उनले जानकारी दिए ।
उनले काठमाडौंको सडकहरु खाल्डाखुल्डी हुनुको मुख्य कारण १२० वर्षअघिको पाईप विच्छ्याउनु रहेको बताए । ‘१२० वर्ष पुरानो पाइपहरु अहिलेपनि सञ्चालनमा ल्याइरहेका छौं,’ उनले भने ‘लाजिम्पाट र पानीपोखरी क्षेत्र जति बिग्रेको छ। सबै खानेपानीको लिकेज भएको कारण हो।’ पानी लिकेज भएकोले सडक नटिकेको उनको जिकिर छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४