काठमाडौं- नेपाली कांग्रेस १४औँ महाधिवेशनले केही स्थापित नेताहरुलाई किनारामा पुर्याउँदा केही नयाँ अनुहार भने केन्द्रीय पदाधिकारीमा स्थापित भएका छन्। १३ सदस्यीय पदाधिकारीमा सभापतिसहित केही पुराना नेता दोहोरिँदा नयाँले जबर्जस्त स्थान बनाए। यसले लामो समय कांग्रेसको सक्रिय राजनीति गरेका केही नेता भने मौन बन्नुपर्ने अवस्थामा सिर्जना गर्नसमेत बल दिएको छ। पार्टीको पदाधिकारीका लागि उम्मेदवारी दिएका तर चुनावी परिणामअनुसार पदमा आसीन हुन नकसेका केही नेताहरू यतिबेला मौन छन्। यस्तै पदाधिकारीका उम्मेदवार तय गर्न निर्णायक भूमिका खेलेका केही नेताहरूसमेत पछिल्लो समय 'निष्क्रिय' बनेका दिखिएका छन्।
कांग्रेसको आन्तरिक जीवनसँग सम्बन्धित होस् वा राष्ट्रिय राजनीतिका सन्दर्भमा होस् पार्टीमा चुनाव हारेपनि केही नेताहरू भने उत्तिकै सक्रियताका साथ प्रतिक्रिया जनाइरहेका छन्। पार्टीका अभियान र गतिविधिमा सक्रिय हुन उनीहरूलाई पदले खासै अर्थ नराखेजस्तो पनि देखिएको छ। बरु पार्टीसत्तामा नहुँदा उनीहरूलाई आलोचनात्मक टिप्पणी गर्न सहज भएको छ।
नेपाली कांग्रेसले अभिव्यक्ति स्वतन्त्रलाई 'बन्देज' छैन। पार्टीको औपचारिक धारणाबाहेक पनि नेताहरुले आ–आफ्नै ढंगले विचार राख्दै आएका पनि छन्। कांग्रेस नेताहरू पार्टी नेतृत्व र निर्णयबारे सार्वजनिक रूपमा नै खुलेर आफ्नो मत/अभिमत र धारणा राख्छन्। पार्टीको नेतृत्वमा सरकार हुँदा पनि सरकार र नेताहरूको आलोचना गर्ने र सुझाव दिने कामलाई कांग्रेसका नेताहरुले निरन्तरता दिएका छन्। राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा धारणा राख्न नेताबीच होडबाजी नै चल्ने गर्छ। यसलाई कांग्रेसका नेताहरु लोकतन्त्रको सुन्दर पक्षका रूपमा व्याख्या गर्छन्। यस अर्थमा वामपन्थी दलभन्दा कांग्रेसको चरित्र फरक देखिन्छ।
राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा केही नेताहरूको चासो कम सुनिन्छ। मुलुकको आर्थिक, राजनीतिक र कुटनीतिक मुद्दाबारे चर्का विवाद र बहस भइरहँदा पनि उनीहरूको मौनता छ।
पार्टीको शीर्ष पदमा नपुगे पनि कुनै बेला पार्टीको 'बागडोर' थामेका तर पदाधिकारीमा चुनाव हारेका केही नेताहरू महाधिवेशनयता मौनप्राय: छन्। पछिल्लो समय उनीहरू छलफल, बहस, प्रश्न, आलोचनामा कमै सहभागी देखिन्छन्। राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनमा उनीहरूको चासो कम सुनिन्छ। मुलुकको आर्थिक, राजनीतिक र कुटनीतिक मुद्दाबारे चर्का विवाद र बहस भइरहँदा पनि उनीहरूको मौनता छ।
राजनीतिकर्मीहरूका लागि महत्त्वपूर्ण विषयमा आफ्ना धारणा राख्नु, त्यसमा छलफल र बहस गर्नु प्राथमिकताकै विषय पनि हुन्। गत चुनावमा सभापतिमा प्रतिस्पर्धा गरेका विमलेन्द्र निधि, उपसभापतिमा प्रतिस्पर्धा गरेका महेश आचार्य र विजयकुमार गच्छदार, सभातपिमा उम्मेदवार दिने घोषणा गरे पनि उम्मेदवारी नदिएका गोपालमान श्रेष्ठ, देउवा प्यानलबाट उम्मेदवार तय गर्नमा भूमिका खेलेका कृष्णप्रसाद सिटौला र पूर्वकोषाध्यक्ष सीतादेवी यादव कम सुनिन थालेका नेतामा पर्छन्। कांग्रेसका केही कार्यकर्ता पंक्तिले खोजिरहे पनि उनीहरू किन मौन छन् त? राजनीतिक सक्रियता कम गर्नु कमजोर मानसिकता हो कि शक्तिसञ्चय? उनीहरू मौन बसेर शक्तिसञ्चयमा लागेको भने सम्बन्धित नेता निकटका स्रोतको बलियो दाबी छैन।
विमलेन्द्र निधि
कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका प्रतिस्पर्धा गरेयता निधिको सक्रियता ओरालो यात्रामा छ। सभापति शेरबहादुर देउवाको समूहबाट विद्रोह गरेर उनैविरुद्ध लडेका पूर्वउपसभापति निधिले महाधिवेशनमा अपेक्षित नतिजा निकाल्न सकेनन्। महाधिवेशनकै क्रममा पहिलो चरणमा नतिजा नआए देउवालाई पराजित गर्न सबै मिल्ने उद्घोष निधिले गरेका थिए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन सकेनन्। कांग्रेस विधान अनुसार दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। पहिलो बनेका देउवा र दोस्रो बनेका शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धामा थिए। तेस्रो बनेका प्रकाशमान सिंह र चौथो बनेका निधि प्रतिस्पर्धाबाट बाहिरिए।