विराटनगर- मंगलबार बिहानैदेखि परेको अविरल वर्षाका कारण पूर्वी तराईका ठाउँठाउँमा डुबानको समस्या देखिएको छ। सुन्दर हरैँचा र विराटनगरका सयौँमा पानी पसेको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार विराटनगरका वडाहरू १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका १ हजार ५ सय घरपरिवार डुबानमा परेका छन्।
यस्तै सुन्दरहरैचा ६ गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुन्दरहरैचा ६ कै ५८ वर्षीय रामबहादुर विक हुन्।
मोरङका सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका कतिपय वस्तिहरु पनि बाढीका कारण कटान र डुबानको समस्यामा परेका छन्। बाढी र कटानका कारण सयौं घर परिवार विस्थापित भएका छन्। उनीहरुलाई उद्धार र राहतको काम अहिले पालिकाहरुले गरिरहेको र जिल्ला प्रशासन कार्यालयले दैवि प्रकोप उद्धार समितिको आकस्मिक बैठक बोलाएको उनले बताए।
इटहरीका वडा नम्बर ५, ३, ४, २, २०, ९ लगायत अन्य केही वडामा बाढी बस्तीमा पस्नुको साथै पानी जमेर घरभित्र प्रवेश गर्ने अवस्थामा पुगेको मेयर हेमकर्ण पौडेलले जानकारी दिएका छन्।