मंगलबार, चैत ३, २०८२

हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखालाजस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखालाजस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो।

National life

मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तर र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए। 

उनले प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धीकरण गरेर र उमालेर खान मात्र अनुरोध गरे। अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले जनाएको छ। दूषित खानेपानी कारणले हैजा देखिएको हो।

झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्ने, दिसापिसाब गरिसकेपछि साबुन–पानीले मिचीमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुन–पानीले मिचीमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउन आग्रह गरिएको छ।

यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि मन्त्रालयले सर्वसाधारणलाई सचेत गराएको छ। 

Laxmi sunrise bank
kumari

पेट दुख्ने, बान्ता हुने, असाध्यै तिर्खा लाग्ने, पातलो दिसा हुनेजस्ता लक्षण झाडापखालाको रहेको भन्दै मन्त्रालयले नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जान आग्रह गरेको छ।

यस्तै, खान, पिउनसमेत नसक्ने गरी बिरामी भए, दिसामा रगत देखा परे, बारम्बार वान्ता भइरहे, ज्वरो आए र धेरै पटक पातलो दिसा गरे पनि अस्पताल लैजान मन्त्रालयले सुझाव दिएको छ। 

घरमै उपचार गर्न सकिन्छ झाडापखाला 

झाडापखालाको उपचार घरैमा गर्न सकिने मन्त्रालयले जनाएको छ। यदि झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवन जल राखी राम्ररी घोल्ने र पटक–पटक खुवाउने, प्रशस्त मात्रामा सफा तथा झोल कुरा पटक–पटक खाने, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै–थोरै गरी पटक–पटक खुवाइरहने गर्नुपर्दछ। 

यस्तो बेला स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसार जिंक चक्कीको मात्रा नबिराईकन खुवाउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खाने गर्नुपर्दछ। 

काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीले बागबजार र डिल्लीबजारको खानेपानी प्रदूषित भएको पाइएको बताए। उनले ती ठाउँका पानीमा मानिसको दिसामा पाइने जीवाणु ‘इकोलाई’ पाइनुका साथै कोलिफर्मसमेत रहेको जानकारी दिए। हैजाको प्रकोप बढ्न थालेपछि सचेतना कार्यक्रम सञ्चालन गरिएको पनि उनको भनाइ छ।

खानेपानी अनुगमन

काठमाडौंमा हैजा रोकथाम र नियन्त्रणका लागि खानेपानीको अनुगमन गरिने भएको छ। कार्यालयका प्रमुख अधिकारीका अनुसार जार, बोतल, तथा ट्यांकर व्यवसायीले वितरण गरेको पानीको गुणस्तर अनुगमन गर्न खाद्य अनुगमन तथा गुणस्तर नियन्त्रण विभाग, जिल्ला प्रशासन तथा सुरक्षा निकायको संयुक्त टोली खटिने भएको छ। 

काठमाडौं महानगरबाट हैजा नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्न विद्यालय र वडा कार्यालयलाई पत्राचार गरिने भएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट खानेपानीको गुणस्तर सुधार गर्न हाल वितरित पानीमा क्लोरिनको मात्रा वृद्धि गर्ने, जोखिम क्षेत्रमा पानीको नमुना संकलन तथा परीक्षण गर्ने निर्णय भएको छ।

प्रकाशित: Jun 28, 2022| 15:07 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्