काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीयतहमा हुने गरेको भ्रष्टाचार, जनप्रतिनिधीले उपभोग गरेका सुविधाको बिषयमा चासो व्यक्त गरेका छन्।
गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधी मण्डलसँग बिहीबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस बिषयमा चासो व्यक्त गरेका हुन्।
स्थानीय तहमा अनियमितता भएको, जनताकाका जनप्रतिनिधीले सहज ढंगले नगरिदिएको गुनासो धेरै आएकोले त्यस बिषयमा गम्भीर हुन जनप्रतिनिधीहरुलाई प्रधानमन्त्रीले आग्रह गरेका छन्।
“कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाधक्ष्यले महंगा गाडी किनेको, कतिपय वार्ड अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरु आएका छन् ” प्रधानमन्त्री ओलीले भने, “तपाईंहरु जनप्रतिनिधी हो। त्यस कारण जनताले नरुचाउने काम नगर्नुहोस। जनताले जे रुचाउँछन् त्यस काममा केन्द्रीत हुनुहोस।”
कतिपय सुविधा कानुनले दिएको भनेर त्यसै अनुसार उपभोग नगर्न प्रधानमन्त्री ओलीले सजग गराएका हुन्। राजनीतिमा त्याग पनि महत्वपूर्ण भएको स्मरण गराउँदै त्यस्ता सुविधालाई अत्यावश्यकबाहेक अहिले त्याग गरेर जनताको मन जित्न प्रधानमन्त्रीओलीले आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले गाउँपालिकाका जनप्रतिनिधीलाई देश निर्माणको ठुलो जिम्मेवारी भएको बताएका छन्। प्रधानमन्त्री ओलीले गाउँपालिका दुर्गम ठाउँमा हुने, साधन स्रोतको कमी हुने भएकोले त्यहाँका जनप्रतिनिधीले धेरै चुनौतिमा काम गर्नु पर्ने बाध्यता रहेको बताए।
“जतिसुकै चुनौतिभएपनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो ” प्रधानमन्त्री ओलीले भने, “दुर्गमका बस्तीहरु,राज्यको सेवा सुविधा नपुगेका जनताहरुमा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो” , प्रधानमन्त्री ओलीले भने, “त्यस कारण देश निर्माणका लागि जनताले तपाईंहरुलाई ठुलो जिम्मेवारी दिएका छन् ।”
सुगम ठाउँहरु नगरपालिका र महानगरपालिका हुने भएकोले त्यहाँका जनप्रतिनिधीलाई केही सहज हुुने तर गाउँपालिकाहरुमा यस्तो स्थिती नुहने प्रधानमन्त्री ओलीको भनाइ छ। “दुर्गम भएर नै गाउँपालिका भयो” प्रधानमन्त्री ओलीले भने, “सुगम ठाउँ भएको भए नगरपालिका भइसकेका हुन्थे ।”
स्थानीय तहका जनप्रतिनिधीका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकोले आफ्नो आचरणमा बिशेष ख्याल गर्न प्रधानमन्त्रीले आग्रह गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४