बागलुङ- बागलुङ सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिका-४ लाममेलामा नेपाल टेलिकमले मोबाइल सेवा पुर्याएको छ।
छिमेकी तमान गाउँमा रहेको बीटीएस टावरबाट अप्टिकल फाइबारमार्फत् नेटवर्क पुर्याई लाममेलामा सेवा सञ्चालन गरिएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ।
यसअघि टाढाको टावरमा भर पर्दा स्थानीयवासी गुणस्तरीय मोबाइल सेवाबाट वञ्चित थिए। इन्टेरनेटका लागि डाटा सेवा पनि उपलब्ध थिएन। अप्टिलकल फाइबर विस्तारसँगै स्थानीयवासीले सहज रुपमा थ्रिजी इन्टरनेट र भ्वाइस सेवा पाएको कार्यालयका वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए।
भौगोलिक कठिनाइका कारण रेडियो लिंकमार्फत् सेवा पुर्याउन सम्भव नभएपछि अप्टिकल फाइबारबाट सेवा विस्तार गरिएको उनको भनाइ छ।
वरिष्ठ इन्जिनियर शर्माले दुर्गम भेगलाई लक्ष्य गरी सेवा विस्तार र गुणस्तर सुधारका कामलाई तीव्र गति दिइएको बताए। लाममेलाका जनप्रतिनिधि र स्थानीयवासीले टावर राखी गुणस्तरीय सेवा दिन टेलिकमसँग माग राख्दै आएका थिए।
दुई हजार ६०० मिटरको उचाइमा अस्थायी टावर निर्माण गरी सेवा विस्तार गरिएको कार्यालयले जनाएको छ। तमान–४ का वडाध्यक्ष छप्रसाद श्रीपालीले मोबाइल सेवा पाउनबाट वञ्चित भइरहेका दुर्गमका बासिन्दालाई टावर राखेपछि सहज भएको बताए।