कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिकाका २७ प्रतिशत युवा वैदेशिक रोजगारमा गएको तथ्यांक पाइएको छ। नगरपालिकाले तयार पारेको वैदेशिक रोजगारसम्बन्धी परामर्श चित्र २०७८ को तथ्यांकअनुसार नगर भित्रका तीन हजार ६५७ घरधुरीका युवा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न मुलुकमा रहेको पाइएको छ।
अहिले पनि शिवराजका एक हजार ९११ जना युवा वैदेशिक रोजगारमा कार्यरत छन् भने अन्य युवा स्वदेश फर्किसकेका छन्। ११ वटा वडा रहेको शिवराजमा वैदेशिक रोजगारको समग्र संख्यालाई तुलना गर्दा वडा नं ११ बाट सबैभन्दा बढी ३०८ जना युवाहरू वैदेशिक रोजगारमा गएका छन्।
सैगरी वडा नं २ बाट २६६ र ४ र ५ बाट क्रमशः २४५ र १४७ जना युवा विदेश गएको तथ्यांक उल्लेख गरिएको छ। त्यस्तै सबैभन्दा कम ६ बाट ८४ विदेसिएको तथ्यांकमा देखिएको छ। उक्त तथ्यांकमा आधारित रहेर हेर्दा समग्र शिवराजको जनसंख्याको चार प्रतिशत वैदेशिक रोजगारमा गएको देखिन्छ।
नगरको वैदेशिक रोजगारीसम्बन्धी पाश्र्व चित्र विमोचन कार्यक्रममा नगरप्रमुख अजय थापाले युवालाई रोजगारका लागि विदेसिने बाध्यतालाई न्यूनीकरण गर्न नगरभित्र समय अनुकूलको रोजगारको व्यवस्था गरिने बताए।
वैदेशिक रोजगारका कारण र युवाको आवश्यकतालाई पहिचान गरेर स्वदेशमै रोजगारको अवसर प्रदान गर्न सके पलायन हुनबाट रोक्न सकिने बताए। युवालाई स्वदेशमै टिकाइराख्नका लागि सीप सिक्ने अवसर दिनुपर्ने नगर उपप्रमुख शिवकुमारी थारूले बताइन्। सिकेको सीपलाई व्यावहारिक रूपमा प्रयोगमा ल्याएर मुलुकमै केही गर्नुपर्ने बताइन्।
वैदेशिक रोजगारको मुख्य गन्तव्य मुलुकका रूपमा मलेसिया सहितका खाडी मुलुक रहेको पाइएको छ। शिवराज नगर भित्रका युवा सबैभन्दा धेरै साउदी अरबमा २१ प्रतिशत रहेका छन्। -रासस