सोमबार, वैशाख २४, २०८१

उपत्यकामा हैजा 'आउटब्रेक' हुने सम्भावना, अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

काठमाडौंका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। उनीहरुमध्ये ८ जना निको भएर डिस्चार्ज भइसकेका छन् भने ४ जना उपचाररत छन्।
 |  सोमबार, असार १३, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

सोमबार, असार १३, २०७९

काठमाडौं– काठमाडौं उपत्यकामा हैजाका बिरामी पुष्टि भएको ९ दिनमा १२ जनामा संक्रमण देखिएको छ। यही असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा भर्ना भएका बागबजारका दुई जनामा ५ गते हैजा पुष्टि भएको थियो। त्यसयता काठमाडौंका विभिन्न स्थानका १२ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ। उनीहरुमध्ये ८ जना निको भएर डिस्चार्ज भइसकेका छन् भने ४ जना उपचाररत छन्। 

triton college

काठमाडौंमा हैजा देखिएपछि सरकारले नियन्त्रणका लागि तयारी अगाडि बढायो। हैजा पुष्टि भएपछि लगत्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, काठमाडौं महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बसेर हैजा प्रभावित क्षेत्रको पानीको गुणस्तरको जाँच्ने, अस्पतालहरूमा झाडापखाला तथा हैजाको परीक्षण बढाउने, हैजासम्बन्धी जनचेतना बढाउनेलगायत काम सुरु गर्यो। 

पानीको परीक्षणका क्रममा बागबजार, डिल्लीबजार सानेपा र डिल्लीबजार,कपन,थानकोट,नैकाप, बालाजु क्षेत्रको पानीमा हैजाको जिवाणु भेटिएको छ। तर विशेषगरी बागबजार, डिल्लीबजार र सानेपामा धारा, इनार, ट्यांकर, जार र बोतलको पानीको नमुना परीक्षणमा हैजाका जीवाणु भेटिएको र त्यहाँका मानिसमा हैजा पुष्टि भएको छ। 

त्यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको पानीको पनि परीक्षण गरिएको थियो। काठमाडौंमा वितरीत पानीको जारमध्ये १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको थियो। त्यस्तै बूढानीलकण्ठ नगरपालिकाले परीक्षण गरेकोमा जार, ढुंगेधारा सबैको परीक्षण गर्दा प्रदूषित पाइएको छ। त्यहाँ १५ प्रतिशत जारको पानी प्रदूषित पाइएको छ। हाल काठमाडौंमा धेरैतिर हैजा फैलिएको अनुमान गर्न सकिने दास बताउँछन्।

त्यस्तै बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको दास बताउँछन्। त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०२०मा गरेको एक अध्यायनमा पनि बागमती नदी छेउछाउका धारा, इनारको पानीमा ८५ प्रतिशत सम्म कोलिफर्मको किटाणु भेटिएको थियो भने जारको पानीमा ७६ प्रतिशतसम्म इकोलाई र ९२ प्रतिशतसम्म कोलिर्फम भेटिएको थियो। 

corrent noodles
Metro Mart

त्यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० महिनाको अवधिमा गरेको परीक्षणमा ३९ कम्पनीको जारको पानी पिउन योग्य थिएन। उक्त जारको पानीमा कोलिर्फम,इकोलाई , कलेराका किटाणुहरु भेटिएका थिए। इकोलाई र कोलिफर्म दिसामा पाइने जिवाणु हुन् जसले हैजा फैलाउँछ। 

अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन 

दैनिक हैजाका बिरामी भेटिन थालेपछि सरकराले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास भन्छन्, ‘हैजाका एक जना बिरामी पुष्टि हुनु पनि आउटब्रेक हुन सक्ने सम्भावना हुन्छ। त्यसैले हामीले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं। जहाँ जहाँ बिरामी  भएका छन् नजिकको अस्प्तालमा उपचारका गर्नुपर्ने गरी निर्देशन दिएका छौं।’ 

सरकारले हैजाको उपचारका लागि उपत्यकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललाई हब अस्पताल तोकेको छ। हब अस्पतालले स्याटलाइट अस्पताललाई उपचारमा निर्देशन दिन सक्ने गरी व्यवस्थाा मिलाइएको दासले बताए। 

काठमाडौंको बागबजारबाट सुरु भएको हैजा फैलिदै गएको भन्दै दास भन्छन्, ‘हैजाको एउटा केस भेटिनु पनि आउटब्रेक हुने सम्भावना हुनु हो, त्यसैले सरकारले बेलैमा नियन्त्रणका लागि कदम चाल्नुपर्छ। साथै हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्छ।’ 

हैजा फैलन थालेपछि सोमबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितीको बैठकमा सांसदहरुले हैजाले भयंकर रुप लिन सक्ने भन्दै सरकारी निकायलाई सचेत गराएका थिए। कांग्रेस सांसद मानबहादुर विश्वकर्माले काठमाडौंको खानेपानीमा समस्या देखिएकाले यसको समाधान गर्न ढिला गर्न नहुने बताएका थिए। उनले बेलैमा सरकारले नागरिकलाई सचेत गराउनुपर्ने बताए। खानेपानी र ढल एकै ठाउँमा हुँदा पनि समस्या भएको भन्दै जनतालाई यसबारेमा सचेत गराउनुपर्ने उनले बताएका थिए।  त्यस्तै सांसद तिलबहादुर महतले जारको पानीमा समेत समस्या देखिनु गम्भीर भएको भन्दै समस्या परेपछि दौडधुप गर्ने सरकारको प्रवृतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए। 

शुक्रराज अस्पतालका सरुवारोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन काठमाडँैंमा हैजा फैलिसकेको बताउँछन्। हैजा ‘आउटब्रेक’ हुन समय नलाग्ने उनको भनाइ छ। पुनका अनुसार हैजाका १० जना संक्रमितमध्ये एक जनालाई गम्भीर अवस्था आउन सक्छ। बिरामीले समयमै उपचार नपाए ५० प्रतिशतजतिको मृत्यु हुन सक्ने पनि उनी बताउँछन्। डा. पुनका अनुसार संक्रमण भएका मानिसमा मुख सुक्खा हुने, मुटुको धड्कन बढ्ने, रक्तचाप घट्नेलगायतका समस्या पनि देखिन्छन्। त्यसैले सरसफाइमा ध्यान दिने, स्वच्छ खाना अनि पानी खाने र हैजाको लक्षण देखिनासाथ तत्काल उपचार गरिहाल्नुपर्ने उनी बताउँछन्। 

गत असोज तेस्रो साता कपिलवस्तुको कृष्णनगरमा पनि हैजा फैलिएको थियो।

प्रकाशित: Jun 27, 2022| 18:48 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्