शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।
 |  सोमबार, असार १३, २०७९

अनिल यादव

अनिल यादव

सोमबार, असार १३, २०७९

काठमाडौं– २०७७ माघ अन्त्यतिर २७ वर्षीया एक विवाहित युवती १७ वर्षीय नाबालिगविरुद्ध जबर्जस्ती करणीको जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। जाहेरीमा उनको आरोप थियो– ती नाबालिगले मलाई सापटी दिएको रकम तिर्ने वहानामा बोलाएर फ्रुटी खुवाए, बेहोस बनाए अनि जबर्जस्ती करणी गरे। 

triton college

प्रहरीले तत्काल ती नाबालिगलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान थाल्यो। त्यसपछि फागुन १९ गते उनीविरुद्ध जिल्ला अदालत कास्कीमा जबर्जस्ती करणीको मुद्दा दर्ता भयो। पुर्पक्षका लागि थुनामा समेत पठाइए उनी। तर मुद्दा दर्ता भएको करिब ११ महिनापछि जब फैसला भयो, नाबालिगले सफाइ पाए।

हालैमात्र प्रमाणीकरण भएको फैसलाको पूर्ण पाठ हेर्दा ती नाबालिगले विवाहित महिलासँग सहमतिमै यौन सम्पर्क राखेको देखियो। यसलाई अदालतले स्पष्ट भनिदियो, ‘उमेर पुगेकी महिलाले सहमतिमै भए–गरेको करणी बलात्कारको परिभाषाभित्र पर्दैन।’

२०७८ माघ १३ गतेको यो फैसला गत जेठ २७ गते मात्रै प्रमाणीकरण भएको थियो। न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले गरेको फैसला हेर्दा यो मुद्दामा आरोपीभन्दा १० वर्ष जेठी, विवाहित बच्चाकी आमाले दिएको जाहेरीका बेहोरा अपत्यारिला छन्। 

फैसलाको मिसिल हेर्दा घटना विवरण रोचक लाग्छ। १७ वर्षीया आरोपी नाबालिगको पोखरास्थित निरन्जन चोकमा इलेक्ट्रोनिक पसल थियो। टिभी मर्मत गर्ने सिलसिलामा निर्मलपोखरीस्थित पीडित भनिएकी ती विवाहित महिलाको घरसम्म पुगेका थिए। साथी समिर नेपालीमार्फत युवतीसँग उनको चिनजान भयो। फोन नम्बर साटासाट भयो।

corrent noodles
Metro Mart

टिभी बनाएर फर्किएपछि फोनमा कुराकानी हुन थाल्यो। मायाप्रेमका गफ सुरु भए। आरोपी नाबालिगको बयान हेर्दा यतिसम्म कि फोनमै शारीरिक सम्पर्क गर्ने कुरासमेत हुन थाले। 

यत्तिकैमा २०७७ माघ १० गते ती नाबालिग युवतीलाई भेट्न उनको घरमै पुगे। उनी घरमा पुगेको उनका आफन्तले देखे। केटा बोलाएर घरमै राखेको कुरा विदेश रहेका श्रीमान्सम्मै पुग्यो। 

उमेर पुगेकी महिलाले नाबालिगसँग सहमतिमै भए–गरेको करणी बलात्कारको परिभाषाभित्र नपर्ने अदालतको फैसलामा उल्लेख छ।

त्यसपछि युवतीले ‘घरमा बस्न सक्ने अवस्था नभएको, पोखरामा कोठा खोजिदिनू, उतै दुःख गरेर खान्छु’ भन्दै ती नाबालिगलाई फोन गरिन्। लगत्तै २०७७ माघ १५ गते युवती नाबालक छोरासहित पोखरा आइन्। नाबालिगसँग भेटिन्। डेरा खोज्दै काहुँखोला नवदुर्गा टोलमा रहेको श्रीकला नेपालीको घरमा पुगे। त्यहाँ डेरा पाएपछि खाना पकाउन चाहिने सामान, कपडा सबै जोरजाम गरे। कोठा सरेपछि त्यही रात आफू र महिलाबीच सहमतिमा एक पटक करणी लेनदेन भएको ती नाबालिगले बयानमा स्वीकारेका छन्। 

त्यसको भोलिपल्ट बिहान करिब ७ बजेतिर जब ती नाबालिग घर जानै लागेका थिए, त्यही बेला खबर आयो– उनीसँगै बसेकी महिला हराएको भन्दै आफन्तहरू उनलाई खोजिरहेका छन्। खबर सुनेर दुवै अत्तालिए । युवतीले ‘म घर जान्छु’ भन्न थालिन्। त्यसपछि नाबालिगले आफ्नो मोटरसाइकलमा राखेर उनलाई पृथ्वीचोकमा छाडिदिए। 

पछि उनीहरूको सम्बन्धबारे नाबालिगकी आमाले थाहा पाइन्। उनीहरू सँगै बसेको भनेको घरबेटीलाई भेट्नसम्म पुगिन्, आरोपीकी आमा। पीडित भनिएकी महिलासँग फोनमा गफ गर्दा जवाफ आयो, ‘तपाईंको छोराले मबाट १ लाख रुपैयाँ लिएको छ। त्योसहित कोठामा सामान किन्दा खर्च भएको रकम मलाई दिनुस्।’

आरोपी र आरोपितकी आमाको बयान हेर्दा उनीहरूलाई जबर्जस्ती २ लाख १५ हजार रुपैयाँ दिनुपर्छ भनी गरिएको कागजमा सहीछाप गराइयो। यो विषयमा स्थानीय युवा नेता राजकुमार सुनारकहाँ पनि मौखिक निवेदन परेको देखिन्छ। २०७७ माघ २२ गते आफूहरूलाई एक महिलाले अन्याय गरेको, जबर्जस्ती कागज गराएको भन्दै सुनार सम्बद्ध पार्टी कार्यालयमा आरोपी पक्ष पुगेको सुनारले अदालतमा बयान दिएका छन् ।

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला। 

त्यसपछि सुनारले ती महिलालाई छलफलका लागि बोलाए तर उनी गइनन्। बरु सिधै प्रहरी कार्यालय पुगिन्, १७ वर्षीय नाबालिगविरुद्ध जबर्जस्ती करणीको जाहेरी लिएर। 

अदालतमा घरबेटी श्रीकला नेपालीले दिएको बयान हेर्दा २०७७ माघ १५ गते विवाहित युवती र नाबालिग कोठा खोज्दै त्यहाँ पुगेको देखिन्छ। ‘उनीहरू नाबालिग बच्चासहित कोठा चाहियो भन्दै आएका थिए। सम्बन्ध पति–पत्नी बताएका थिए। पानी र बत्तीसहित जोडेर मैले मासिक ३५ सयमा कोठा दिएकी थिएँ। राती नै सामान ल्याएर उनीहरू सँगै बसेका थिए। भोलिपल्ट खाना खाएको भाँडासमेत बाथरुममा छाडेर उनीहरू निस्किएका थिए,’ अदालतमा उनले दिएको बयानमा उल्लेख छ।

त्यसको पर्सिपल्ट आरोपी नाबालिगकी आमाले ‘मेरो छोराले अर्काको पत्नी भगाएर यहाँ ल्याएको रहेछ’ भन्दै आफ्नो घरमा आइपुगेको घरबेटी श्रीकलाले बयान दिएकी छन्। ‘मैले प्रतिवादी र पीडितले सँगै सुत्ने, बस्ने क्रममा निजहरू कल, झगडा गरेको तथा पीडितले हारगुहार गरेको केही सुनिनँ र थाहासमेत पाएकी थिइनँ। प्रहरी आएर सोधखोज गर्दा मात्रै जबर्जस्ती करणी गरेको भन्ने थाहा पाएकी हुँ,’ घरबेटीको बयान छ। 

यो मुद्दामा नाबालिगले अनुसन्धान अधिकारीसमक्ष दिएको बयान र अदालतमा दिएको बयान फरक छ। अदालतमा इन्कारी बयान दिए पनि अनुसन्धान अधिकारीसमक्ष सहमतिमै यौन सम्पर्क गरेको स्वीकारेका छन्। न्यायाधीशले गरेको फैसलामा पनि यसलाई ‘नोटिस’मा राखिएको छ। 

तर जबर्जस्ती करणीको भने दाबी नपुग्ने ठहर गर्यो। ‘नाबालिग कानुनको विवादमा परेका बालकको अनुसन्धानमा भएको कागज हेर्दा पीडित भनिएकी जाहेरवाला र कानुनको विवादमा परेका बालकबीच टिभी मर्मत गर्ने सिलसिलामा भेट भई, फोन नम्बर आदान–प्रदान भई, मायाप्रेमका गफ हुने क्रममा सहमतिमा जाहेरवालाको कोठामा करणी लेनदेन भएको, त्यसपछि छरछिमेक पतिले विदेशमा थाहा पाई आफूलाई समस्यामा परेको भनी श्रीकला नेपालीको घरमा पति–पत्नी भई कोठा खोजी बसेको घटनाक्रम हेर्दा कानुनको विवादमा परेको बालक र जाहेरवालीबीच सहमतिमै शारीरिक सम्पर्क भएको भन्ने अनुमान प्रमाण ऐन, २०३१ को दफा (७) ग अनुसार पनि अदालतले गर्न सक्ने भयो।

अदालतको अनुमानलाई खण्डन गर्न प्रमाण पुर्याउनुपर्ने प्रमाणको भार वादी नेपाल सरकारलाई भएकामा ऐ. दफा २९ अनुसार त्यस्तो प्रमाण पुर्याउन सकेको पनि पाइएन,’ अदालतको फैसलामा भनिएको छ।

प्रकाशित: Jun 27, 2022| 19:18 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।