आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सीएनआईले गरेको कार्यक्रमबाट सात स्टार्टअपले हात पारे लगानी

सीएनआईले गरेको कार्यक्रमबाट सात स्टार्टअपले हात पारे लगानी

नेपाल उद्योग परिसंघ (सीएनआई) युवा उद्यमी मञ्चले शनिबार आयोजना गरेको ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ मा छानिएका १० मध्ये सात वटा कम्पनीले २५ करोड बराबरको लगानी हात पारेका छन्।
 |  आइतबार, असार १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १२, २०७९

काठमाडौं- नेपाल उद्योग परिसंघ (सीएनआई) युवा उद्यमी मञ्चले शनिबार आयोजना गरेको ‘नेपाल स्टार्टअप फेस्ट २०२२’ मा छानिएका १० मध्ये सात वटा कम्पनीले २५ करोड बराबरको लगानी हात पारेका छन्।

यसअघि सीएनआईले स्टार्टअप फेस्टमा सहभागी हुन विभिन्न स्टार्टअप कम्पनीसँग परियोजनासहितको लगानी प्रस्ताव आह्वान गरेको थियो। त्यसमा आएका ३०० भन्दा बढी कम्पनीमध्येबाट १० वटा अन्तिम चरणका लागि छानिएका थिए। छानिएका स्टार्टअपमा भक्सक्रो, मोहो, स्किल सेवा, एमसीक्यू हल, डक्टर अन कल, खेती, वेदा एप, फरएभर योङ, डिजिटल एज नेपाल र डार्क म्याटर रहेका थिए।  उनीहरूलाई परियोजनासहित प्रस्तुति दिन लगाइएको थियो।

सोही प्रस्तुति र परियोजनाका आधारमा सात स्टार्टअप विभिन्न लगानीकर्ताबाट लगानी भित्र्याउन सफल भएका छन्। त्यसमध्ये वेदा एप र स्किल सेवाले समान साढे आठ करोडको लगानी पाएका छन्।

स्कुल म्यानेजमेन्ट एप वेदाले टिम भेन्चर, हिमालयन क्यापिटल र ग्लोबल इक्विटीबाट आठ करोड ५० लाख रुपैयाँ लगानी पाएका हुन्।

त्यस्तै होम इन्सपेक्सन स्किल सेवाले टिम भेन्चर, टेली भेन्चर, अध्ययन्ता र ग्लोबल इक्विटी फण्डबाट संयुक्त रूपमा साढे आठ करोड रुपैयाँ लगानी प्राप्त गरेको छ।

स्टार्टअप कम्पनीमध्ये कृषि उत्पादनलाई डिजिटलाइज गरिरहेको कम्पनी ‘खेती’ एपले ग्लोबल इक्विटी फण्ड, टिम भेन्चरबाट दुई करोड बराबरको लगानी सम्झौता गरेको छ।

कल सेन्टर व्यवस्थापनसँग सम्बन्धित काम गर्दै आएको भक्सक्रो स्टार्टअपले अध्ययन्ता भेन्चरबाट एक करोड रुपैयाँ लगानी प्राप्त गरेको छ।

स्टार्टअप फेस्टमा छानिएको अर्को कम्पनी डक्टर अन कलले टिम भेन्चर, ग्लोबल इक्विटी फण्ड र हिमालय क्यापिटलबाट दुई करोड ५० लाख बराबरको लगानी पाएको छ।

डक्टर अन कल विशेषगरी बिरामीको घरमै गएर उपचार सेवा प्रदान गर्ने स्टार्टअप हो। त्यस्तै ‘डिजिटल एज नेपाल’ नामक आईटी कम्पनीले अध्ययन्ता फण्ड र हिमालय क्यापिटलबाट संयुक्त रूपमा एक करोड रुपैयाँ लगानी पाएको छ।

यसैगरी अनलाइन गेमिङसँग सम्बन्धित स्टार्टअप कम्पनी ‘डार्क म्याटर’ ले ग्लोबल इक्विटी र अध्ययन्ता फन्डबाट एक करोड ५० लाख रुपैयाँ लगानी पाएको छ।

प्रकाशित: Jun 26, 2022| 12:46 आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्