काठमाडौं- चालु अर्थिक वर्ष ०७५/७६ मा मुलुकमा ५५ लाख टनभन्दा बढी धान उत्पादन हुने भएको छ। रोपाईं बढेको, मौसमले साथ दिएको, हालसम्म आवश्यक मलखाद्य, बिउ-बिजन उपलब्ध भएको कारणले उत्पादन बढ्ने भएको विज्ञले जनाएका छन्।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबारसम्ममा मुलुकभर ९५.४० प्रतिशत धान रोपिएको बताएको छ। १५ लाख ५२ हजार ४६९ हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य राखिएकोमा १४ लाख ८१ हजार १३ हेक्टर क्षेत्रफल धान रोपि सकिएको जानकारी दिएको हो।
कृषि विज्ञहरु भदौको पहिलो सातासम्म धान रोपिने बताउछन्। त्यसअबधिसम्ममा करिब सतप्रतिशत धान रोपिने उनीहरुको अनुमान छ।
धान विज्ञ भोलामान सिंह बस्नेतले हालसम्मको रोपाईंको नतिजा हेर्दा यो वर्ष करिब सतप्रतिशत रोपाई हुने बताए। 'लक्ष्यको ९७-९८ प्रतिशत धान रोपिने देखिन्छ,' उनले भने, 'त्यतिका रोपाई|बाट ५५ लाख टनभन्दा बढी धान उत्पादन हुनेछ। उक्त परिमाण अहिलेसम्मकै बढी हो।'
उनकाअनुसार हालसम्म सबैभन्दा बढी आव ०७३-७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो। गत आवमा अघिल्लो वर्ष जति धान फलेन। त्यसयता यस वर्ष अघिल्लो वर्षको रेकर्ड तोड्ने देखिएको हो।
यद्यपि अहिले किसानहरुले मलखाद्य अभाव भएको आवाज उठाइराखेका छन्। सरकारले त्यसलाई भने गम्भिर रुपमा लिएर समयमै हल गर्नुपर्ने हुन्छ।
लामो समय कृषि मन्त्रालयका प्रवक्ताको रुपमा रहेका डा योगेन्द्र कार्कीले चालु आवमा धानको उत्पादनले नयाँ रेकर्ड कायम गर्ने बताए। सतप्रतिशत रोपाईं हुने र करिब ६० लाख टन धान उत्पादन हुने उनको विश्लेषण छ।
मन्त्रालयका अनुसार गत वर्ष साउन ३२ सम्ममा ८९.२२ प्रतिशत मात्र धानको रोपाई भएको थियो। अहिले सोही अबधिमा ६ प्रतिशतबढी धान रोपिएको छ।
धानको उत्पादनले मुलुकको अर्थतन्त्रमा सोझै प्रभाव पर्दछ। मुलुकको कुल ग्राह्स्थ उत्पादनमा धानको मात्रै योगदान करिब ४ प्रतिशत छ। पछिल्ला वर्षहरुमा १ खर्बभन्दा बढी मूल्य बराबरको धान उत्पादन हुँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४