काठमाडौं- नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी शुक्रबार साँझ उनको करियरमा अलि फरक विषयमा विमर्श गर्न उत्सुक देखिन्थे। झम्सीखेलस्थित होटल भिभान्तामा गोधुली साँझमा चौधरीले राजनीतिक विषयमा कलम चलाउँदै आएका पत्रकारहरूलाई निम्त्याएका थिए।
अनौपचारिक छलफलको सुरुवात गर्नुपूर्व भूमिका बाँध्दै चौधरीले भनिहाले, 'मैले बाँकी जीवन राजनीतिमै बिताउनेछु। आज म तपाईंहरुका कुरा सुन्न चाहन्छु। खुलेर कुरा राख्नुस्, म पनि खुलेरै आफ्ना कुरा राख्नेछु।'
६६ वर्षीय चौधरीले आफ्नो जीवनका पछिल्ला १५ वर्ष राजनीतिमा पनि योगदान गरेका छन्। ०६४ सालमा नेकपा एमालेबाट संविधानसभा सदस्य बनेका चौधरी ०७४ सालमा नेपाली कांग्रेस प्रवेश गरेका थिए। उनलाई कांग्रेसले समानुपातिक सांसद बनाएको थिए। कांग्रेसको १४औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
चौधरीकै शब्द सापटी लिने हो भने राजनीतिक विषयका समाचार लेख्ने पत्रकारहरूसँग उनी पहिलो पटक छलफल गर्दै थिए। यसको अर्थ उनी राजनीतिक विषयमा थप कुराकानी गर्न चाहन्थे। आर्थिक विषयमा कलम चलाउने तीन पुस्ताका पत्रकार चिन्ने दाबी गरेका चौधरीले राजनीतिक विषयमा काम गर्ने पत्रकारहरूसँग आफू नयाँ भएको स्वीकार गरे। सोही क्रममा उनले भनेका थिए, ‘आज तपाईंहरुले मलाई प्रश्न गर्न सक्नुहुनेछ। केही सुझाव भए खुलेर दिन सक्नुहुनेछ।’
फ्लोर ओपन भएपछि पत्रकारले चौधरीसँग दर्जनौं प्रश्न तेर्स्याए। चौधरीले सुझाव पनि मागेका कारण फाट्टफुट्ट सुझाव दिए पनि पत्रकारहरूले प्रश्न गर्ने आफ्नो पेसागत धर्म बिर्सने कुरा थिएन।
छलफलमा पुगेका पत्रकारहरुका लागि पनि चौधरीसँगको अन्तरसंवाद नयाँ थियो। न त चौधरीले राजनीतिक विषयमा आफ्ना धारणा राजनीतिक बिटमा कलम चलाउने पत्रकारहरु मार्फत राखेका थिए। त्यसैले त हलमा पत्रकारहरुले ठट्टा गरे, ‘विनोद चौधरीका समाचार आर्थिक बिटका साथीहरुको ठेक्कामा पर्छन्।’ चौधरी पनि के कम ठट्टामै जवाफ फर्काइहाले, ‘मैले दिएका राजनीतिक स्टेटमेन्टले प्राथमिकता नपाउने र पाएपनि विजनेस पेजमा छापिने कारण त यस्तो पो रहेछ!’
छलफलमा उपस्थित पत्रकारहरुले चौधरीसामु तेर्साएका केही प्रश्न यस्ता थिएः
– राजनीतिमा तपाईंको सक्रियता किन कम?
–बाँकी जीवन राजनीतिमै बिताउँछु भन्नुभयो, तर कुन दलमा रहेर? यहाँको राजनीतिक करियरलाई विश्लेषण गर्दा तपाईं अस्थिर देखिनुहुन्छ?
– दुई पटक समानुपातिक सांसद् भइसक्नुभयो। फेरि पनि समानुपातिक नै ताक्ने कि प्रत्यक्ष चुनाव लड्ने?
–व्यावसायिक हिसाबले हेर्ने हो भने तपाईंका सफलताका थुप्रै कथा छन्। व्यवसायिक क्षेत्रमा प्राप्त गरेको सफलता राजनीतिक क्षेत्रमा उपयोग भएको देखिँदैन नि?
–पार्टीको कोषाध्यक्ष बन्न तपाईंले इच्छा देखाएको चर्चा सुनिन्छ, खास कुरा के हो?
–फरक क्षेत्रबाट राजनीतिमा आएकाहरुले सफलता प्राप्त गरेको देखिन्छ। तपाईं पनि व्यवसायिक क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएको हो। यसलाई कसरी लिनुभएको छ?
पत्रकारका अपेक्षित प्रश्न आएपछि चौधरी जवाफ दिन तम्सिए। उनले आफूले बुझेको राजनीति, मुलुकको मुहार परिवर्तनको सूत्र, आफ्नो राजनीतिक करियर, एमालेमा रहँदाको राजनीतिक यात्रा, स्थानीय सरकारहरुले गरेको कामका बारेमा केन्द्रित भएर उठेका प्रश्नको उत्तर दिए। जवाफका लागि चौधरीले लामै समय लिए। चौधरीको उत्तर उनकै शब्दमा:
नेपालमा राजनीतिलाई बुझ्ने तरिका नै गलत छ। मलाई नै भन्नुहुन्छ भने म वडाको चुनाव लडेर आएको हुँ। पार्टीको महाधिवेशनमा वडा तहको चुनाव फेस गरेरै केन्द्रीय सदस्य बनेको हो। सिरियर विजनेसम्यान वडामा चुनाव किन लड्न जान्छ र? प्रदर्शनीमार्गमा हात जोडेर भोट मागेर चुनाव जितेको होइन र? त्यसकारण म राजनीतिमा क्रियाशील छु र रहनेछु।
म राजनीति पनि बुझ्ने क्रममा छु। अहिलेको जमना सोसल मिडियाको हो। सोसल मिडियाले ठूलो परिवर्तन ल्याउँछ भनेर देखिइसकेको छ। तर, के साँचो हो भने ठूला कुरा गरेर, गफ गरेर परिवर्तन आउँदैन। परिवर्तन ल्याउन सडक र कार्यकर्ताको लेभलमै जानुपर्छ। म संविधानसभाको सदस्य थिएँ। त्यो बेला मलाई एमालेले प्रोफेसनलका रुपमा संविधानसभामा लगेको थियो। त्यो बेला मैले कहिल्यै फुलटाइम राजनीति गर्छु भनेको थिइनँ। तर, विस्तारै बुझ्दै जाँदा दर्शक बनेर मुलुक परिवर्तन हुँदैन भन्ने लाग्यो। त्यसकारण मैदानमा उत्रिएको हुँ।
०७० सालमा एमालेले मलाई शशांक कोइरालाविरुद्ध चुनाव लड्न टिकट दिएको थियो। मैले अस्वीकार गर्दै एमालेलाई धन्यवाद भनेको हुँ। त्यसपछि नै हो एमालेसँग मेरो मनमुटाव सुरु भएको। ०७४ सालको निर्वाचनअघि सभापति शेरबहादुर देउवाले मलाई पार्टीमा स्वागत गर्न सार्वजनिक आह्वान गर्नुभएकै हो नि। उहाँको आह्वान पछि नै म कांग्रेसमा आएको हुँ। यी सबै विषयलाई बुझेर मैले राजनीति छोड्दिनँ भनेको हो।